Saturday 6th June 2026

चन्द्रयानको सफलतापछि भारतले साैर्ययान प्रक्षेपण गर्यो


भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नाम दिइएको उक्त रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो । भारतले भरखरै चन्द्रयान-३ को सफल अवतरण गरे पश्चात आदित्य एल–१ लाइ प्रक्षेपण गरेको हो ।

आदित्य एल–१ ले साैर्य वायुहरूको अध्ययन गर्ने बताइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार सूर्यको व्यवस्थित अध्ययनका लागि रकेटले सातवटा ‘साइन्टिफिक पेलोड’हरू बोकेर त्यसतर्फ जाँदै गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आदित्य एल–१ लाई चार महिनामा १५ लाख किमि अर्थात् ९ लाख ३० हजार माइल यात्रा गर्न सक्ने गरी डिजाइन गरिएको छ । यो दूरी पृथ्वी र चन्द्रमाबीचको दूरीको चार गुणा बढी हो, जबकि सूर्य र पृथ्वीबीचको दूरीको केवल १ प्रतिशत मात्र हुन आउँछ । पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किमि छ ।

मिसनअन्तर्गत एल–१ नामको प्वाइन्टमा रहेर यानले अध्ययन सुरु गर्नेछ । उक्त प्वाइन्टलाई अन्तर्राष्ट्रिय रूपमा ‘ल्यागरेन्ज’ भनिन्छ । यो स्थानको नाम फ्रान्सेली गणितज्ञ लुइस ल्यागरेन्जको नाममा राखिएको हो, जसले १८ औं शताब्दीमा यो बिन्दुको खोजी गरेका थिए । यो अन्तरिक्षको एक यस्तो स्थान हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुन्छ । यो एक प्रकारको न्यूट्रल प्वाइन्ट पनि हो, जहाँ अन्तरिक्ष यानको इन्धन सबैभन्दा कम खपत हुन्छ । भारतको यो पहिलो सूर्य मिसन हो । यसअघि नासा र युरोपेयिन स्पेस एजेन्सी (ईएसए) ले पनि सूर्यको अध्ययन गर्न रकेट प्रक्षेपण गरेका थिए । भारतको रकेटले अन्तरिक्षको मौसम र त्यहाँको हलचलका बारेमा पनि अध्ययन गर्नेछ । ‘यसबाट सूर्यको विकिरणको पनि अध्ययन हुनेछ, जुन पृथ्वीमा आउने क्रममा यहाँको वातावरणका कारण फिल्टर हुने गरेको छ,’ इसरोले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...