Tuesday 28th July 2026

दोहाको टिकट काटेका यात्रु जब सुन्धारा पुगे…


नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन् ।

एकजना यात्रु लक्ष्मीप्रसाद दाहालले भने, ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको दाहाल बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा लगेर राखेको छ ।

उनका अनुसार गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटलमा लगेको दाहालले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै उनले विरोध जनाए । लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटलबाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले केही दिन अगाडिको ठूलो जहाजमा भएका यात्रुहरुलाई प्राविधिक कारणले सानो जहाजमा सार्नु परेकाले यात्रुहरुको व्यवस्थापन गर्दा केही यात्रुहरुलाई गएराति उडाउन नसकिएको बताइन् । ‘त्यो दिन करिब १०० जना यात्रुहरुलाई पठाउन सकेनौं, सबै यात्रुहरुको व्यवस्थापन गर्दै गइरहेका छौं । हिजोको कुरा त्यही हो,’ खड्काले भनिन्, ‘हामी कसैलाई पनि अलपत्र पार्दैनौं, अर्को फ्लाइटमा पठाउँछौं ।’

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...