Thursday 2nd May 2024

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३४


स्रस्टा परिचय

डा. विदुर चालिसे
बुबा हेमनाथ चालिसे र आमा ओमकुमारी चालिसेका पाँच सन्तान मध्ये चौथो सन्तान हुन।माहिलो सुपुत्रको रूपमा वि.स. २०१६ कार्तिक २३ गते ( नागरिकता अनुसार कार्तिक १५ गते ) गोकर्णेश्वर नगरपालिका-९, आरूबारी, काठमाडौंमा जन्मनुभएका डा. विदुर चालिसे सोही स्थानमै स्थायी बसोबास गर्दैआउनु भएको छ । तीन छोराछोरीहरू- विनय, माला र विशालका पिता डा. चालिसेले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका उहाँ पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा प्राध्यापन गर्नु हुन्छ ।

उहाँले २०३२ सालदेखि साहित्य लेख्न शुरू गरे पनि पहिलाे रचना २०३५ सालमा स्वदेश त्रैमासिकमा “आमा” शीर्षककाे कविता प्रकाशित गर्नुभएकाे हाे । वि.सं. २०४० सालमा “याे गीत त मान्छेले गाउनुपर्छ” भन्ने कथा “शान्ति” भन्ने जनकपुरबाट निस्कने पत्रिकामा पहिलाे कथा प्रकाशित गर्नुभएको उहाँले वि.सं. २०४५ मा चाहिँ “रवि” शीर्षकको उहाँको लघुकथा, मिर्मिरे पत्रिकामा पहिलाे पटक प्रकाशित भएको हाे । नेपाली भाषाका उहाँका प्रकाशित लघुकथा सङ्ग्रहहरू “रातो चामल-२०४६” , “जलान-२०७७” र “लघुकथालय-२०७९” रहेका छन् भने अंग्रेजीमा अनुवादसहित नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित “HOLOCAUST-2022”, “PSEUDO-2022”, KUTHUNGRI- 2022” र “CONFLICT-2022”
“लघुकथालय (चिन्तन, मजन र लेदन) लघुकथा सङ्ग्रहहरू पनि प्रकाशित भइसकेका छन् ।

त्यस्तै “युगबोल्छ–२०४७”, “सिसिफसको श्रापित मांसपिण्ड–२०५१” “सेनेगल–२०७४”, ‘स्मृतिका पहाड–२०७५”, “कोशीका उडान–२०७५” र “चियाङमाईको डबली–२०७५” कवितासङ्ग्रहहरू उहाँका प्रकाशित रहेका छन् भने अंग्रेजीमा अनुवादसहित नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित “KHALIKHALCHA-2022” र “HONEYMOON OF GHAZALISTS-2022” समेत गरी जम्मा आठवटा कविता सङ्ग्रहहरू प्रकाशित रहेका छन् ।
यसै गरी भाषा अनुसन्धान र समालोचनाका “अभिलेखीय नेपाली क्रिया–२०७०”, “ऐतिहासिक नेपाली अव्यव–२०७०”,“अभिलेखीय नेपाली व्याकरणको इतिहास–२०७४”, “अभिलेखीय नेपाली नामधातु–२०७४” र “नियात्रामा नौलो आयाम–२०७७” गरी ५ वटा पुस्तकहरू प्रकाशित छन् ।

दुई दर्जनभन्दा बढी पत्रपत्रिकाको सम्पादन/ प्रकाशन तथा भाषा साहित्यसम्बन्धी सयौं अनुसन्धानमूलक लेखहरू समेत प्रकाशित छन् ।

घुकथा : उन्मत्त ज्ञान
~डा. विदुर चालिसे

याेजनाकाे उत्कर्ष बैठकमा प्रधानमन्त्री, मन्त्री, सांसद, शासक प्रशाशक, याेजनाविद्, अर्थशास्त्री, चिकित्सक, वकिल, प्राज्ञ, प्राध्यापक एवं विशिष्ट समाजसेवीहरूकाे एक गर्मागर्मी बहस चलिरहेकाे थियाे । उनीहरू आराेप प्रत्याराेप गरिरहेका थिए । बैठककाे उठान आराेपकाे थियाे । बैठक निष्कर्ष हिन रूपले गलफत्तीमा गएर टुङ्गिदै थियाे । बेयराले सबैकाे नजिक आएर भन्याे ।
–“हजुर अब के ल्याउँ ?”
रेड लेबल, ब्ल्याक लेवल, यार्सागुम्बा वाइन, भाेड्का र वियर आदि नाम लिंदै सहभागी महाेदयले बैठक अन्त्य गरे । सबैकाे हातमा गिलास थियाे । ओठमा चुस्की, मुखमा तरलता, बाेली सरल र छलफलमा किनबेचकाे मनाेयाेग चैतन्य चल्दैथियाे । विद्वानहरूकाे भव्यबैठकमा एक्कासी एकजना लेखक आफ्नै प्रकाशित पुस्तक लिएर भित्र पसे । विद्वत समूहलाई अनुराेध गर्दै भने ।
–“हजुरहरूलाई देश बनाउन कामलाग्ने पुस्तक, किन्दिनु न ।” लेखक आफ्नाे कथा भन्न थाले । ज्ञानकाे महिमा गाउन थाले । विकास सूत्रकाे सिध्दान्त कहन थाले । इतिहास, दर्शन, ज्ञान र विकासकाे उन्मत्त वेदान्त विस्तार गर्नलागे । यसैबीच यार्साकाे तमक जाेडमा एक सहभागीले भने ।
–“अन इमाेशनल स्पीच !”
–“या, साइकाे स्यान्टिष्ट !”
–“पागल मान्छे ।”
यत्तिकैमा लेखककाे हातकाे किताब लाजले हाे या धर्मले हाे । प्रधानमन्त्रीले यसाे हातमा लिए। मन्त्रीले प्रधानमन्त्रीका हातमा पल्टिएकाे किताब उन्मत्त साँढेले झैं नाक सुँसुँ गरेर माथितिर हेर्दै भने ।
–“फन्टुस बुक !”
सांसद, शासक, प्रशासक र प्राज्ञले प्रधननमन्त्रीतर्फ तन्किएर पुस्तककाे पाना गन्दै ठाडाे मुन्टाे लगाएर रेडलेवल र व्ल्याक लेवलकाे गन्ध हावामा छाेड्दै अर्काेतिर फर्केर भने ।
–“काम छैन, बाैलाहाकाे डायरी !”
अर्थशास्त्री, प्राध्यापक, वकिल, चिकित्सक, समाजसेवीहरूले प्रधानमन्त्रीकाे हातकाे किताबकाे गातामाथि हेरिरहे । तिनले गातामा लागेकाे रङलाई देखाएर भने ।
–“याे किताब झूर रैछ, हजुर !”
पुस्तकमा के ज्ञान थियाे ? उनीहरूले बनाउने देशका लागि के ज्ञान चाहिन्थ्याे ? यस प्रश्नकाे जवाफ खाेज्दै लेखक पुस्तक बेचिरहेका थिए ।
–“उन्मत्त ज्ञान !”
बैठकका सहभागीहरूले घर फर्केपछि श्रीमतीहरूलाई खुसी पार्दै गफ छाेडे ।
–“बुझ्याै ! देशकाे याेजना त खतरा बनाइयाे नि !”


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...