बन्दना घिमिरे – लघुकथाकार उमेश कुमार कार्कीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ”खोज” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार उमेश कुमार कार्कीसँग सात्क्षातकार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।
जुन २७, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर कथा प्रेषित गर्नुहुने लघुकथाकार उमेश कुमार कार्कीको जन्म २०३६/०८/०५ मा पिता गोविन्द राज कार्की र माता डम्वर कुमारी कार्कीका सुपुत्रको रुपमा खाँदबारी नगरपालिका -७, संखुवासभामा भएको हो । बरुण बहुमुखी क्याम्पस, खाँदबारीबाट प्रविणता प्रमाणपत्र तह सम्म अध्ययन गर्नुभएका लघुकथाकार हाल बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा हुनुहुन्छ । अ.ने.म. मलेसियासँग आबध्द हुनुभएका लघुकथाकारको पहिलो लघुकथा”बुवा”
हो ।
प्रस्तुत कथा ”खोज”मा मुख्य पात्र महेश र रमिला वर्तमान पतिपत्नी हुन् भने गौण पात्र मन्दिरा महेशकी पहिली पत्नी
हुन् । कथा यसरी शुरु भएको छ । महेश र रमिलाको बिवाह भएको वर्षदिन टेक्दै थियो। श्रीमान- श्रीमती दुबै आ-आफ्नो भुमिका प्रति अनुशासित र प्रतिबद्ध थिए । एकाबिहान रमिला सदा झैं उठेर आफ्नो नित्यकर्ममा लागिन् ,ऊ बिस्तारामै थियो।झ्यालको पर्दा छलेर पसेको कलिलो सूर्यको कोमल किरणको मिठो स्पर्शले बिउँझियो। उठेर झ्याल खोल्यो।रमिला पारिजातको बोटमुनि फूल भेला गर्दै थिइन् ।छिनमै कोठाभरि पारिजातको सुगन्ध भरियो। किन यति धेरै उन्मत्त भयो यो बिहानी ? दृश्य उहि दृष्टि उहि।आँखामा सुन्दरता भरिएर हो कि किन हो अरु बेला भन्दा खुब राम्री लागिरहेको थियो रमिला। यहि आँगन ,यहि फूलको बोट । यसै गरि फूल भेला पार्थिन् मन्दिराले केहिवर्ष अघिसम्म।तर…। एकाएक जेठी श्रीमतीको यादले भावुक बनायो उसलाई । कतिखेर रमिला भित्र आइन् होसै भएन।
“वैवाहिक वर्षगाँठको शुभकामना हजुर !”अञ्जुलीभरि पारिजातको फूल दिदै मधुर मुस्कान सहित रमिला बोलिन् ।परलोक भएकी श्रीमतीको मायाले महेशलाई छाड्न सकेकै थिएन। सँहालिएर जवाफ फर्कायो- “शुभकामना पृयतमा।” एक अञ्जुलीबाट अर्को अञ्जुलीमा सुगन्धित सुनौला केस्राहरु खस्दै थिए। उहि मधुर मुस्कानसहित आँखामा आँखा मिलाएर रमिला बोल्न थालिन् – “वर्षदिन देखि हजुर मसँगै हुनुहुन्छ,म हजुरसँगै।तर हजुरलाई कहिल्यै पाउन सकिन, जति कोशिस गरेपनि। मलाई हजुरलाई खोज्न दुख होइन तर डर लाग्छ कहिल्यै पाउँदिन कि !”अटुट माया र बिश्वाससहित पारिजातले भरिई सकेको अञ्जुलीलाई जोडेर नमस्कार गर्दै ऊ बोल्यो- “मलाई माफ गर पृयतमा! अब मलाई म भित्र खोज्नु पर्दैन।म तिम्रै हुँ,तिम्रै रहनेछु।कतै हराउने छैन।” रमिलाले आज पारिजातको फूलमा सुगन्ध पाएको महसुस गरिन् । यसरी कथा समापन गरिएको छ ।
परलोक भईसकेकी श्रीमतीको यादमा तडपिएको श्रीमान् को मनोभावना उजागर भएको कथामा दोस्रो पटक बिवाह गरेकी श्रीमती प्रति पतिपात्रको व्यवहार सहज हुन सकेको छैन । बिवाहको बर्षदिन हुन लाग्दा बल्ल उसले दोस्री श्रीमतीमा पहिलीकीको छवि देखेको छ । कथाले पुरुष मनोविज्ञान उजागर गरेको छ । समयले सबै घाउ पुर्छ भन्ने सत्य उदघाटन गरेको छ कथाले । बिहे गरेको एक बर्षसम्म श्रीमान् को खोजीमा लागेकी छन् श्रीमती । कथा उठानको विपरीत भावमा समापन भएको र कौतुहलपुर्ण छ । समापनमा ” मलाई माफ गर प्रियतमा म तिम्रै हुँ , तिम्रै रहनेछु ”भन्दै समापन भएकोले श्रीमतीले गरेको श्रीमान् को खोजी सार्थक भएकोले शिर्षक सार्थक छ । लघुकथा सलल बगेको र सरल छ ।
लघुकथाको मानकमा थप्पक्क बसेको कथा भएपनि कथ्य केही बिस्तार भएको छ । रमिलाले पारिजातको फूलमा सुगन्ध पाएको महसुस गरेकी छन् भन्ने अन्तिम लाईन भन्दा अगाडि नै कथा समापन गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।
अन्त्यमा, विदेशी भुमीमा रहेर पनि नेपाली साहित्यलाई अगाध माया गर्दै साहित्यमा रमाउनुहुने साहित्यकार उमेश कुमार कार्कीको साहित्यिक यात्रा अझ उच्च हुदै जाओस । लघुकथा संग्रह शिघ्र प्रकाशित होस् भन्दै आयु, आरोग्य र ऐश्वर्यताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर
लघुकथा: खोज
महेश र रमिलाको बिवाहा भएको वर्षदिन टेक्दै थियो।
कर्तव्य भुलेका थिएनन् ।श्रीमान- श्रीमती दुबै आ-आफ्नो भुमिका प्रति अनुशासित र प्रतिबद्ध थिए।
एकाबिहान रमिला सदा झैं उठेर आफ्नो नित्यकर्ममा लागिन् ,ऊ बिस्तारामै थियो।झ्यालको पर्दा छलेर पसेको कलिलो सूर्यको कोमल किरणको मिठो स्पर्शले बिउँझियो। उठेर झ्याल खोल्यो।रमिला पारिजातको बोटमुनि फूल भेला गर्दै थिइन् ।छिनमै कोठाभरि पारिजातको सुगन्ध भरियो।
किन यति धेरै उन्मत्त भयो यो बिहानी ?दृश्य उहि दृष्टि उहि।आँखामा सुन्दरता भरिएर हो कि किन हो अरु बेला भन्दा खुब राम्री लागिरहेको थियो रमिला।
यहि आँगन ,यहि फूलको बोट । यसै गरि फूल भेला पार्थिन् मन्दिराले केहिवर्ष अघिसम्म।तर…। एकाएक जेठी श्रीमतीको यादले भावुक बनायो उसलाई । कतिखेर रमिला भित्र आइन् होसै भएन।
“वैवाहिक वर्षगाँठको शुभकामना हजुर !”अञ्जुलीभरि पारिजातको फूल दिदै मधुर मुस्कान सहित रमिला बोलिन् ।परलोक भएकी श्रीमतीको मायाले महेशलाई छाड्न सकेकै थिएन। सँहालिएर जवाफ फर्कायो- “शुभकामना पृयतमा।”
एक अञ्जुलीबाट अर्को अञ्जुलीमा सुगन्धित सुनौला केस्राहरु खस्दै थिए। उहि मधुर मुस्कानसहित आँखामा आँखा मिलाएर रमिला बोल्न थालिन् – “वर्षदिन देखि हजुर मसँगै हुनुहुन्छ,म हजुरसँगै।तर हजुरलाई कहिल्यै पाउन सकिन, जति कोशिस गरेपनि। मलाई हजुरलाई खोज्न दुख होइन तर डर लाग्छ कहिल्यै पाउँदिन कि !”
अटुट माया र बिश्वाससहित पारिजातले भरिई सकेको अञ्जुलीलाई जोडेर नमस्कार गर्दै ऊ बोल्यो- “मलाई माफ गर पृयतमा! अब मलाई म भित्र खोज्नु पर्दैन।म तिम्रै हुँ,तिम्रै रहनेछु।कतै हराउने छैन।”
रमिलाले आज पारिजातको फूलमा सुगन्ध पाएको महसुस गरिन् ।
समाप्त
उमेश कार्की ।
खाँदबारी ७, सङ्खुवासभा।
२०७९/०१/१२