Thursday 2nd May 2024

संघर्षले खारिएका नवराज


भनिन्छ जीवन संघर्ष हो । सबैको जीवन कुनै न कुनै संघर्ष गरेरै गुज्रिएको हुन्छ तर फरक प्रकारको संघर्षको आभाष भेटिन्छ, नवराज मैनालीसँग । केहि दुःख पाएकै भरमा मान्छेहरु जीवनदेखि आत्तिने गरेको पनि पाइन्छ तर नवराज मैनाली यस्ता व्यत्तित्व हुन्, जसले खुसीको अनुभुति त गरे होलान् तर सुःखको अनुभुति गर्न पाएका छैनन् । उनको जीवन कथा सरसर्ती हेर्दा लाग्छ दुःखको अर्को नाम सायद नवराज मैनाली नै हो ।

२०३७ सालमा मोरङ्ग जिल्लाको पथरी शनिश्चरेमा जन्मेकाका मैनालीले २ बर्षको हुँदै गर्दा बुवा छाड्नु परेको थियो भने आमाले एक जना दिदि र दाजुलाई मुलघरमै छाडेर अर्को विवाह गरेकी थिइन । नवराज भने सानै भएको हुँदा उनि आमासँगै अर्को घरमा अर्कैलाई बुवा बनाएर आएका थिए सुनसरीको तरहरामा ।

स्वभाविकै आफ्नै बुबाको माया नपाँउदा आमाको सिमित मायामा हुर्किए नबराज । खान लाउन दुःखले पाएका थिए तर सरकारी विद्यालयमै पढ्नको लागि पनि निकै संघर्ष गर्नुपर्यो नवराजलाई । अर्को बुबाले माया त निकै गर्छन नवराजलाई तर अत्ति नै गरिव भएका कारण पढाउन भने निकै गाह्रो भएको थियो । निकै उर्जाशिल समय थियो संघर्षमा बित्दै गयो । समयमा सरकारी विद्यालय पनि पढ्न बन्चित भएका मैनालीको जीवनसँग निकै ठुलो गुनासो छ ।

जतिवेला देशमा माओवादी र सरकारबिच द्धन्द्ध हुँदै थियो त्यतिवेला नवराज आफ्नो मात्र नभई सम्पुर्ण सर्वहाराको मुक्तिको लागि भन्दै लड्दै थिए प्रतिगमनका विरुद्धमा । हो, २०५४ साल साउन २५ गते नेकपा माओवादीमा प्रवेश गरेका मैनाली अवको क्रान्ति बन्दुकबाटै सम्भव छ भन्ने धारणा बोकेर माओवादी जनयुद्धमा होमिएका थिए ।

उनि जनयुद्धमा होमिँदै गर्दा योद्धाहरुमा एक प्रकारको छुट्टै जोश थियो । अव देशमा कसैले कसैलाई जातभातको आधारमा, धनी गरिवकै आधारमा भेदभाव गर्ने छैन भन्ने हुन्थ्यो तर भनेजस्तो र सोचेजस्तो अझै नभएको नवराजको स्वीकारोत्ति छ ।

मैनालीलाई २०५८ पौष १ गते इटहरीको हाँसपोसामा रहेको जनसहयोग उच्चमाविबाट ७ लाख नगद, कटुवा पेस्तोल सहितका हात हतियार सहित तत्कालिन दुश्मन अर्थात सुरक्षाकर्मी इलाका प्रहरी कार्यलय इटहरी, सेना र शसस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

विद्यालयबाटै पक्राउ परेका उनलाई कहिले सैनिक हिरासत त कहिले इलाका प्रहरीको हिरासत गरी १५ महिना इटहरीमा राखिएको थियो । आफु ६ महिना सैनिक हिरासत र ९ महिना इलाका प्रहरीको हिरासतमा आतंककारीको रुपमा बसेको नवराज बताउँछन् ।

हिरासतमा राखेकै बेला निकै साह्रो बिरामी भएपछि उनलाई केही दिन छाडिएको रहेछ तर पछि अलिक बिशेक हुँदै गएपछि २०६० असोज ३ गते सुतेकै ठाउँबाट रातको ११ बजे घरबाटै पक्राउ गरियो ।

त्यतिवेला प्रहरीले आफुलाई पुर्वकै खतरनाक आतंककारी भन्ने गरेको मैनालीको स्मरण छ । हिरासतमा उनले पाउनु यातना पाएका थिए । नेपालका मानवअधिकारीवदी संस्थाहरुले मानवअधिकारको संरक्षण गर्ने नाममा आफुहरुबाट सुचना लिने र सेनालाई दिने गरेको मैनालीले सुनाए । नेपालको मानवअधिकारमा सुक्ष्म चासो राख्ने अन्तराष्ट्रिय रेडक्रस आईसी आरसीले आफुलाई जोगाएको उनले बताए । जेल जिवन भोग्ने क्रममा मैनालीलाई विराटनगर कारागारमा पनि ३ महिना राखिएको थियो ।

पछि मैलानी जेलबाट छुटे त्यसैक्रममा २०६२ कार्तीक ११ गते मोटरसाईकल दुर्घटना भयो । मैनालीले चलाएको सवारीले एक जनाको ज्यान गयो प्रहरीले दुर्घटनामा सावरी ऐन अन्तर्गत मुद्धा हाल्नु पर्नेमा आतंककारी नै भनेर मुद्धा दर्ता गर्यो । त्यसले उनलाई ठुलो कारबाही भयो । जेलमा हंगामा गर्छ यो ठुलो अपराधी हो भन्ने हिसावले मैनालीलाई विरगन्ज पुुर्याइएको थियो ।

पहिलो,दोस्रो र तेस्रो चरणमा गरेर नवराजले ४४ महिनाको जेल जिवन बिताएका छन् । जिवन र भोगाईलाई सिर्जनाका माध्यमबाट व्यक्त गर्ने मैलानी रचनात्मक हिसावबाट पनि समाज परिवर्तन सम्भव छ भन्ने विचार राख्छन् । कवितामा उनको पुरानो लगाव छ । कविता लेखेरै उनले २०५७ सालमा गोरखापत्रबाट प्रदान गरिने राष्ट्रिय कविता पुरस्कार पाएका थिए ।

जेल जिवनमा पनि उनले कविता लेख्न छोडेनन् । विराटनगर कारागारमा हुँदा पनि कविता लेखे र त्यहाँ भएको एउटा प्रतियोगितामा पनि प्रथम भएका थिए मैनाली । वीरगंज कारागारमा हुँदा कविता लेख्थे अनि चिट्ठिका माध्यमबाट मनु मञ्जिललाई पास गर्थेँ । कति पटक त टेलिफोनबाट टिपाउँथे । ती कविताहरु कतै कार्यक्रमहरुमा बाचन हुन्थे त कसै पत्रपत्रिकामा प्रकाशित हुन्थे ।

२०६४ सालमा संविधानसभाको चुनाव भयो त्यतिवेला सिमा नाका मिचिएको विरुद्धमा आवाज बुलन्द गर्नेहरुको लहरमा नवराज मैनाली पनि थिए । पार्टी एकातिर थियो । जीवन अर्कोतिर थियो । आफ्नै बुवाको ममता नपाएको पिडा बोक्दै मैनालीले जिन्दगीका आरोह अवरोहहरु छिचोल्दै गए । माओवादी शान्ति प्रक्रियामा आएपछि मैनाली पार्टीको जिल्ला सदस्य पनि भएका थिए । रचनात्मक काम गर्ने र समाज परिवर्तनलाई मुल एजेन्डा बनाउने अभियानमा हिडेका उनको जिन्दगी चल्दैथियो जसो तसो ।

घरको समस्या एकातिर थियो पार्टीले पनि विदेश बिभागमा काम गर्न भनेपछि मैनाली २०७१ सालमा कतार गएका थिए तर घरमा गडबड भएपछि साँढे ४ महिनामै उनि फर्किए । माओवादीमा लागेको मान्छे कठोर हुन्छ भन्ने थियो तर उसलाई पनि डिप्रेसन भएपछि साथीहरुले मैनालीलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार गराए । पछि उनि विस्तारै सामान्य जिवनमा फर्किए ।

कुनै बेला भारतले नेपाली सिमाना मिचेको बिरुद्धमा भारतको जोगवनीमा गएर नेपाली झण्डा उठाउने मैनाली त्यतिवेला आफुलाई सहयोग गर्ने तत्कालिन मन्त्री हिक्मत कार्कीलाई अझै सम्झिन्छन् ।

जोगवनी किमाथाँका सडक ठुलो बनाउनु पर्छ भन्ने मैनालीको आवज थियो । त्यहि आवाज निकाल्दा इटहरीको गोर्खा डिपार्टमेन्ट तोडफोड गर्न खोज्यो भनेर ७ घण्टा पुनः हिरासतमा राखिएको थियो नवराजलाई ।

कुनै कुरा गलत हो भनेर औल्याउने मात्र नभई त्यसको समाधान पनि निकाल्ने कसरतमा मैनाली लाग्ने गरेका छन् । नेपाली साहित्यमा जिवनलाई लगाएका मैनालीले २०७५ सालमा नयाँ युगको खोजी नामक कविता संग्रह समेत प्रकासनमा ल्याएका छन् । संग्रह प्रकासनका लागि साथ सहयोग गर्ने कवि देवान किराँती, बद्रि भिखारी, बिराट अनुपम, जिवि गजल, गायत्री लम्साललाई अहिले पनि सम्झिरहन्छन् उनी । मैनाली इटहरीको प्रहरी हिरासतमा हुँदा प्रगतीशिल कितावहरु ल्याइदिने गायत्री लम्साललाई हाम्रो कुराकानीका समयमा पनि मैनालीले निकै पटक सम्झिए । हाँस्य कलाकार मनोज गजुरेल र गायत्री लम्सालले मैनालीलाई उर्जा हौसला र साथ दिएका रहेछन् ।

जनयुद्धको घाईते समेत रहेका मैनाली नेकपा मोओवादी केन्द्र इटहरी उपमहानगरपालिका वडा न २० अध्यक्ष समेत हुन् । जनयुद्धमा खट्नेहरुलाई पार्टीले जति मुल्याँकन गर्नुपर्ने हो त्यो नभएको भनाई राख्ने नवराज आफ्नै तरिकाले सामान्य जिवनयापान गरिरहेका छन् । पछिल्लो समय पुर्वेली न्युजको व्यानरमा सञ्चालन हुने कार्यक्रम “ वास्तविकतासँग हामी” भन्ने कार्यक्रममा सामाजिक र जन सरोकरका बिषयलाई समेट्न थालेका छन् ।

साभार – प्रदेश पोर्टल
लेखक – प्रकाश बन्जारा


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...