Monday 21st July 2025

चाैध स्रष्टाका पञ्चाङ्गहरू


” पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”

(माघे संक्रान्ति विशेष)

————————————–
पञ्चाङ्ग ०१

मकर संक्रान्ति पर्व मनाउँनु पर्छ।
हाँसी खुशी सबैसँग रमाउँनु पर्छ।
भुल्न हुँदैन हामीले संस्कृति कहिल्यै,
यस्ता संस्कार हामीले बचाउँनु पर्छ।
कुरीति र कुसंस्कार जलाउनु पर्छ।

-सुशीला पौडेल

पञ्चाङ्ग ०२

आमाले पकाएको सेलरोटी खाउँला मिलेर
बुबाले बनाएको टिकालाई लाउँला मिलेर
जोगाई राख्नुपर्छ आफ्ना कला र संस्कृति जोगाऔं
स्नान गर्न नदीतट त्रिवेणी जाउँला मिलेर
तरुल ,खिचडी खाई माघी मनाउँला मिलेर।

-पद्मा रिजाल,बाँके

पञ्चाङ्ग ०३

हाम्रो संस्कृति परम्परा माघी मनाउँ सबैले
स्नान गरि पुजा अर्चना भक्ती जगाउँ सबैले
चिसोले गडेको भए भाग्छ चाकु,खिचडी खाए
बिधिको बिधान मिलाएर नै चलाउँ सबैले
हाम्रै सन्ततिको लागि नै पर्व बचाउँ सबैले।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ०४

——————————-
हेमन्तको सिरेटो हर्ने मकर सग्राँती,
रविको न्यानो प्रभा छर्ने मकर सग्राँती।
घिउ, चाकु लड्डु खाँदै मनाउने दिन यो,
विविधतामा ऐक्य गर्ने मकर सग्राँती।
बेँसीबाट लेकमा सर्ने मकर सग्राँती।।

-नारायणप्रसाद निरौला, काठमाडौँ।

पञ्चाङ्ग ०५

यो जाडोको सिरेटो हर्ने मकर सक्रान्ति।
न्यानोपन जनमा छर्ने मकर सक्रान्ति।
घ्यू तरुल सखरखण्ड बासि राखी खाने
खिचडी र फुरौला भर्ने मकर सक्रान्ति।
अनेकतामा एकता गर्ने मकर सक्रान्ति।

-लक्ष्मी बस्याल , बर्दिया

पञ्चाङ्ग ०६


घिउ चाकु खाई मनाउँ माघि
तरुल नि पाई मनाउँ माघि
तेल घस्ने चलन पनि त छ
मामा घर आई मनाउँ माघि
बाक्लाे नै लगाई मनाउ माघि।


माघमा तुषाराे पर्छ बेस्सरी
हात नै मुसाराे गर्छ बेस्सरी
पहिलाकाे जस्ताे जाडाे त छैन
काखिमा घुसाराे झर्छ बेस्सरी
पानी नि त साराे तर्छ बेस्सरी।

-मधुसूदन प्रसाद घिमिरे , काठमाडौं

पञ्चाङ्ग ०७

फेरि पनि शिशिर लिएर आयो मकर सङ्क्रान्ति
नेपाली जन खुशी दिएर आयो मकर सङ्क्रान्ति
घिऊ,तरुल,चाकु लड्डुको खिचडी बन्छ पर्वमा
रमाइला मानिस थिएर , आयो मकर सङ्क्रान्ति
एकताको यो माला सिएर आयो मकर सङ्क्रान्ति ।

-प्रेम थापा , बाग्लुङ

पञ्चाङ्ग ०८

माघे स्नान गर्न हामी गङ्गा जानुपर्छ
कन्दमूल पुस पाके माघ खानुपर्छ
टीका तिलक् लगाउनु पूजा पाठ गरी
हवनादि गर्नलाई चरु लानुपर्छ
गरिबलाई दान दिन मुठी मानुपर्छ ।


घिउ चाकु लड्डु खाऊँचिसाे फाल्न पर्छ
तिल सिठा जाेगाउनु आगाे बाल्न पर्छ
यस्काे छुट्टै महत्व छ बुझी हेर्याे भने
तेसै बाटाे बन्छ कहाँ पाउ चाल्न पर्छ
सबै मिली कुरीतिका खम्बा ढाल्न पर्छ।

-चन्द्रावती अधिकारी , बाँके कोहलपुर

पञ्चाङ्ग ०९

गाईको घिउ जाडो महिना घरमै बनाउँछन् गाउँमा
चाडमा माघी र नयाँ वर्ष सधैँ झैँ मनाउँछन् गाउँमा
एक्लै एक्लै उराठ लाग्दो वातवरण बसाइ हुँदैन
वर्षैभरि दुःख गरी पेट पाल्न भनी कमाउँछन् गाउँमा
चाडपर्व आफन्तजन भेटघाट, रमाउँछन् गाउँमा ।

-सविता के.सी. काठमाडौं

पञ्चाङ्ग १०

संस्कार संस्कृति मान्नु पर्छ हामीले।
चाडपर्व आफ्नै ठान्नु पर्छ हामीले।
मकर संक्रान्तिको छ शुभकामना,
कुसंस्कार त्याग्न जान्नु पर्छ हामीले ।
आफ्नो परम्परा नै छान्नु पर्छ हामीले।

-ह्यारिस ह्यारिसन ,काठमाडौं

पञ्चाङ्ग : ११

हाँस्नु छ खुसीले उमङ्ग छर्नु छ ।
मकर संक्रान्तिमा मेला भर्नु छ ।
शाकाहारी बन्न सिकायो पर्वले,
खुसीले ईश्वरको पाउ पर्नु छ ।
जिन्दगी न हो रमाइलो गर्नु छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १२

हरेराम हरेराम हरेगंगा हरे काँशी काँशी भन्दैँछु
आज जाडोमा छिटै नुहाएको बुढी बाहुनी हाँसी भन्दैछु
सबैलाई न्यानो शुभकामना माघे सक्रान्ति को टाढैबाट
सेल रोटी तरुलले कसैलाई नलागोस खाँसी भन्दैछु
म पनि अर्को साल आएर खाउँला तरुल बासी भन्दैछु।।
—————————————————–
-गुणनिधि घिमिरे , पाँचथर मोरङ हाल अमेरिका

पञ्चाङ्ग १३

आयो लौ यो पर्व माघी खिचडी चखायो फेरि
डाँडा,पाखा,पखेरा,घमाइलो बनायो फेरि
सबका घरमा बने थरि थरि परिकार
घिउ संग खिचडीले शरीर ततायो फेरि
चाकू,घिउ,तरुल देख्दा मुख रसायो फेरि।

-निर्मला सुवेदी,जैमिनी-९,बागलुङ।

पञ्चाङ्ग १४

वसमयको वदलावसँगै पर्व आउने गर्छ
मानवको बस्तीमा हर्षका गित गाउने गर्छ
पारिवार – परिवारका मन एक भएपछि
चाडवाड घरदैलोमा रमाउन पाउने गर्छ
हाम्रो संस्कृति संसारमै निश्चय छाउने गर्छ।

-सरिता काफले , बाँके कोहलपुर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका…

प्रतिकृयाहरू
...