Friday 12th June 2026

ओमिक्रोन भेरियन्टको त्रास : ९ देशका नागरिकलाई नेपालमा प्रतिबन्ध


तितोपाटी- कोभिड–१९ को ओमिक्रोन नामक नयाँ भेरियन्टको त्रास बढ्दै गएपछि सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई आज राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

राससका अनुसार केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो ।

जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ । सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अरु मुलुकको हकमा ती मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउनेछ । अध्यागमन विभागले सोही आधारमा यात्रा सुझाव जारी गर्नेछ ।

सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले केन्द्रकै संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या, गृह मन्त्रालय र सुरक्षा निकायको प्रतिनिधित्व हुने गरी एक कार्य टोली बनाउने छ । उक्त टोलीले होटल क्वारेन्टिनको व्यवस्था गर्ने र सोको अनुगमन गर्नेछ ।

क्वारेन्टिन अवधिमा लक्षण देखिएमा तत्कालै र अन्य अवस्थामा सातौँ दिनमा आरटी, पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेछ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएको आइसोलेशन केन्द्र वा अस्पतालमा पठाइनेछ । नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्ने अन्य मुलुकका विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी प्रचलित कानूनबमोजिम अध्यागमन विन्दुमा प्रवेशाज्ञा दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

२०२६ फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुने अपेक्षा गरिएको छ…

अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार आक्रमण र प्रतिआक्रमण जारी रहँदा अप्रिलमा भएको कमजोर युद्धविराम झन् अस्थिर बनेको छ भने अमेरिकाले…

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

प्रतिकृयाहरू
...