Sunday 24th May 2026

कविताः बन्न थाल्दै छ द्यौता, मन्दाक्रान्ता छन्द -अविचल आस्था मणि


को होला त्यो किरण रथमा झल्मलाई रहेको
बाधा कुल्ची सब किसिमका मुस्कुराई रहेको
आभा शोभा मुखरित महिमा सोचमा भव्यतामा
देखेँ मैले कुसुम करुणा सर्वथा रम्यतामा
।।१।।
पीडा कुल्ची रसिक मनले पूर्ण ऊर्जा बनायो
गोता खायो अगम जलमा सौम्य आराम पायो
प्रेमी आत्मा झलमल हुने चाल नौलो बसायो
स्वेच्छाचारी मगज मनले देह आत्मा रसायो
।।२।।
साझा पार्ने सुख र सुविधा वाञ्छनामा पवित्र
हाँसो ल्यायो अधर सुषमा दीप्तिमा पूर्ण चित्र
मान्ने सारा दुख र सुखका चाल जो इष्टमित्र
प्रज्ञा पायो अचमित खुला खोज्छ सन्तोष भित्र
।।३।।
फाँड्यो सारा छलकपटका दम्भ दुर्भाव चित्र
नासो राख्यो प्रमुदित कला चाहना सौमनस्य
आफ्नै इच्छा मजबुत गरी फैलियो वाञ्छनामा
आँखा जुध्ने रण कुशलता ल्याइयो कामनामा
।।४।।
ज्योत्स्ना जागा भर भर सफा आँतमा चन्द्रसूर्य
खोज्दा पायो प्रमुदित कला, वेदना पार्छ चूर्ण
आफै जागा मुकुलित कथा, पाल्छ आशा अनौठा
मान्छे आफ्नै लय रसिकमा बन्न थाल्दैछ द्यौता
।।५।।

-अविचल आस्था मणि
म्याग्दे, तनहुँ, गण्डकी, नेपाल ।
२०७८।०४।१२, बिहान ।


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...