Friday 15th May 2026

मनाङको ङावलमा पहिरोले थुनियो मर्स्याङ्दी नदी, चामे र तालगाउँमा झन् जोखिम


पानी परिरहेकाले स्थानीयको उद्धार गर्न जान सकेन सेनाको हेलिकप्टर
तीतोपाटी डटकम-मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए।

‘थुनिएको नदी एकै पटक फुट्यो भने उपल्लो मनाङ जोड्ने चामेको पुल बगाउँछ’, उनले भने, ‘चामे बजार र ताल बजारलाई झन् ठूलो क्षति पुर्‍याउने खतरा छ।’केही दिनयता निरन्तर परेको पानीले चामे बजारको घट्टेखोला र च्याट्टेखोलामा आएको बाढीले बजारका ६ घर बगाएको थियो। चामेका अन्य घर समेत डुबानमा परेपछि झण्डै ३ सय जना जिल्ला कारागारको नवनिर्मित भवनमा गएर आश्रय लिएका छन्। पानी परिरहेकाले अहिले पनि अवस्था उत्तिकै खतरापूर्ण रहेको सिडिओ लामिछानेले बताए।

‘पानी परिरहेको छ, अवस्था अहिले पनि सुधार भएको छैन’, उनले भने, ‘बाढी र पहिरोले चामे बजार भित्रै पनि कतै जान सक्ने अवस्था छैन।’बाढी र पहिरोले चामेबाट कहीं जान नसक्ने गरी बाटो बन्द भएको सिडिओ लामिछानेले बताए।चामे र तालगाउँका बाढी पहिरो पीडितलाई राहत र उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर ल्याउन तयारी अवस्थामा रहे पनि मौसम खराब भएकाल आउन नसकेको उनले बताए।

‘तत्काल राहतका लागि आर्मी हेलिकप्टर तयारी अवस्था छ, मौसममा सुधार नभएकाले हेलिकप्टर आउन सकेको छैन’, सिडिओ लामिछानेले सेतोपाटीलाई भने, ‘अरू त उपाय नै केही छैन।’चामेका करिब ६० घर बाढी र डुबानको समस्यामा परेको उनले बताए। मर्स्याङ्दी नदी उर्लिँदा डुबानमा परेको मनाङको प्रवेशद्वार तालगाउँ अहिले पनि जोखिममै रहेको छ। मंगलबार बिहानैदेखि डुबानमा परेको उक्त गाउँ सञ्चारविहीन बन्न पुगेको सिडिओ लामिछानेले बताए। तालगाउँमा रहेका ४८ घरधुरी सबै डुबानमा परेका छन्।

तालमा उद्धारका लागि चामेबाट नेपाली सेना, प्रहरी लगायतका टोली जान सक्ने अवस्था नरहेको उनले बताए। चामेबाट ताल गाउँ जाने बाटोका पुलहरू बगेका छन् भने पहिरोले बाटो अवरूद्ध छ। मौसममा सुधार नआउँदा ताल गाउँमा हेलिकप्ट समेत जान नसक्ने अवस्था रहेको उनले बताए।मनाङमा निरन्तर परेको पानीका कारण राष्ट्रिय प्रसारण लाइनका पोलहरू ढलेका छन् भने चामे र तिमाङको लघु जलविद्युत आयोजना समेत बगाइदिएको छ। बिजुली नहुँदा सञ्चारमा समेत बाधा पुगेको सिडिओ लामिछानेले बताए।

यस्तै, तिमाङमा मोटर पुल बगाइदिएको छ। मनाङ जोड्ने एकमात्र सडक बेसीशहर-चामे सडक पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढी र पहिरो बस्तीमा समस्या भएपनि अहिलेसम्म मानवीय क्षेती भने नभएको सिडिओ लामिछानेले बताए।

साभार-सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...