नारायण कोइराला – सधै जसो आजपनि कामबाट लखतरान शरीर लिएर कोठामा पसे । कम्पनीको कपडा खोली बाल्टीमा राखी पानीले भिजाएँ । साबुन पानीले शरीर धोएपछि शरीर आराम खोज्दै थियो । म सँग भने थुप्रै काम थियो। किचनमा पसें । तातोपानी पिउने विचार गरेर पानी तताउन बसाले । किचन मलाई हेर्दै जिस्काए जस्तो लाग्थ्यो । भाँडाकुँडा यत्रतत्र छरिएका थिए । हुनपनि एकलकाँटे जीवनमा कसैले किन यस्तो गरिस् भन्ने कुरो पनि भएन ।
आधा लिटर पानी गिलासमा लिएर मोबाइल खोलें । आजपनि सधै जस्तो उस्तै समाचार थियो ।फेसबुकमा सयौ नोटिफिकेसन आएका थिए ।सबै हेर्न फुर्सत म सँग थिएन् ।सरसर्ती हेरें । होम पेजमा आएका समाचार हेर्न थालें।उही हार्दिक श्रद्धाञ्जली । उफ!कस्तो अवस्था दैनिक रूपमा हेर्नु पर्ने यी समाचार । हेर्दै जान्छु । मन रून्छ, फेरि सम्हाल्छु। पानी पिउँछु । मन शान्त हुन्न। होस् पनि कसरी। एकैदिनमा यतिधेरै मानिसको मृत्यु भएको खबर आएको छ।
सोच्छु फेरि,यस्ता पोस्टहरु नगर्दा पनि के फरक पर्छ। मैले सोच्दैमा अरुले राख्न छोड्ने कुरो पनि त भएन। पोस्ट देखेपछी हार्दिक श्रद्धाञ्जली त लेख्न नैं पर्यो । अन्तिमपल्ट पोस्ट भएको देख्न पाएको छु । मृत्यु पछि फेरि कसैले सम्झन्छ,सम्झन्न के थाहा? हार्दिक श्रद्धाञ्जली त अहिलेको अवस्थामा सामान्य कुरो जस्तो भएको छ । कहिले सम्म चल्ने हो थाहा छैन ।
अर्को तर्फ आजभोलि सामाजिक सञ्जालमा प्रशंसापत्रको पनि भाइरल भएको देखिन्छ । हुन त जताततै बन्द छ । सामाजिक सञ्जालमा मानिसहरू सक्रिय हुनु सामान्य कुरा हो । टाइम पास पनि गर्नु पर्यो । यहाँ सम्म त ठीक हो, राम्रो हो । साथीभाइ आपसमा भलाकुसारी पनि हुने भयो तर आजभोलि प्रसंशा पत्रको लहर नै चलेको देखिन्छ । टक्क फोटो,रंगिन अक्षर, ठूलो अक्षरमा प्रसंशा पत्र । यसो हेर्दा समय सापेक्ष नभएको जस्तो लाग्ने । एकातिर मृत्युका तस्बीर अर्को तिर रंगिन प्रशंसापत्र । प्रशंसापत्र पनि रातदिन काम गर्ने डाक्टर,नर्स,प्रहरी आदिलाई दिएको भए त चित्तपनि बुझ्ने थियो । ग्रुप, ग्रुपमा साथीभाइलाई प्रशंसापत्रको आदानप्रदान। हुन् त सबैका आफ्नो विचार हुन्छ । विचार राख्न पाउँनु पर्छ । प्रसंशा गर्नुपनि पर्छ । समय परिस्थिती पनि हेर्नु पर्ने हो कि?भन्ने मेरो विचार । विचार त मैले पनि राख्न पाउने भए । कुरो यति मात्रको हार्दिक श्रद्धाञ्जली र प्रशंसापत्रको एकैपल्ट एकै समयमा पोस्ट हुनु हामी आफ्नो समाज प्रति कतिको संवेदनशील छौ।
यिनै विचारको लडाइँ सँग मेरो आधा लिटर पानी पनि सकिएछ । अब फेसबुकको भाइरल पोस्ट तिर लागि रहयो भने पेट भोकै हुन्छ । मलाई जिस्क्यइरहेका भाँडाकुँडा पनि ठीक गर्नु छ। म किचन तिर लगे । मोबाइल चार्जर तिर ।
नारायण कोइराला
तानसेन पाल्पा
हाल,यूएई।