Wednesday 29th July 2026

वैदेशिक रोजगारीका नाममा ७ महिनामा २८ करोड ठगी


तितोपाटी- वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।

व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो।

1
विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए। संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। संस्थागततर्फ माघसम्म २ सय ५८ उजुरी परेका छन्। ८ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले ६ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ।

कोरोनाका कारण वैदेशिक रोजगार ठप्प भएको समय (साउन, भदौ र असोज) मा मात्र २ करोड १५ लाख ७७ हजार रुपैयाँ बराबरको ठगी भएको उजुरी परेको थियो। कोरोना भाइरसको समयमा ठगी हुने क्रम बढेको देखिएको छ। निर्देशक नेउपानेका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटे पनि तुलनात्मक रूपमा ठगीको उजुरी बढेको छ।

म्यानपावरविरुद्ध परेको उजुरीमा दोषी देखिए विभागले जरिवानासमेत तिराउने गरेको छ। पीडितलाई पैसा फिर्ता दिलाउनुका साथै म्यानपावरलाई जरिवाना भराउने गरिएको निर्देशक नेउपानेले बताए। विभागले जरिवानाबापत माघसम्म म्यानपावरबाट ५० लाख रकम असुलेको छ। त्यसैगरी, गत आर्थिक वर्ष पुससम्म विभागले ५१ लाख ५० हजार जरिवाना असुलेको थियो।

पैसा लिएर विदेश नपठाउने, तोकिएभन्दा बढी शुल्क लिने, सम्झौताभन्दा अर्को काम र कम पारिश्रमिक दिने लगायत उजुरी विभागमा पर्छन्। सम्झौता अनुसार काम नपाएर ठगीमा परेको भन्दै गन्तव्य मुलुकमा केही समय बसेर उजुरी गर्ने क्रम बढ्दो रहेको जानकार बताउँछन्। त्यस्तै, विदेश जान नपाई ठगीमा पर्ने क्रम पनि रोकिएको छैन।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले वैदेशिक रोजगार ऐन २०६४ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आकस्मिक अनुगमनलाई प्राथमिकता दिइएको बताए। अनधिकृत रूपमा काम गर्ने जो–कोहीलाई कारबाही गर्न पछि नपर्ने महानिर्देशक दाहालले बताए । ‘जस्तोसुकै अवरोध आए पनि एक्लो वृहस्पति भएर कामदारका पक्षमा डटेर सामना गर्दै आएको छु’, दाहालले भने। उनले आकस्मिक अनुगमन टोली खटाएर काठमाडौंका विभिन्न म्यानपावरका साथै इटहरीमा रहेका शाखामा समेत अनुगमन गरेका थिए।

बिनास्वीकृति अन्तर्वार्ता लिने दर्जनौं म्यानपावर विभागको कारबाहीमा परेका छन् । त्यस्तै, भिजिट भिसामा पठाउन तल्लीन म्यानपावरलाई पनि कारबाही गरिएको दाहालले बताए। १८ म्यानपावरलाई आंशिक तथा पूर्ण कारोबार रोक्काको कारबाही गरिएको विभागले जनाएको छ।अन्नपूर्णबाट


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...