Saturday 31st October 2026

महिला फुटबलकी स्ट्राइकर सावित्रालाई एक वर्ष आराम गर्न डाक्टरको सुझाव


एपिएफ र नेपाली राष्ट्रिय फुटबल महिला टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आगामी एक वर्ष मैदानबाहिर रहने भएकी छिन् । उनी महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको क्रममा सोमबार चोटग्रस्त बनेकी हुन् । खेलको ७९औँ मिनेटमा पुलिसको डी बक्सभित्र हेडिङ गर्ने प्रयासमा उफ्रिएकी उनी ‘ल्यान्डिङ’ नमिल्दा चोटग्रस्त बनेकी थिइन् । मैदानमै सामान्य उपचार गरेपछि बाहिर निकालिएकी उनलाई थप उपचारका लागि सातदोबाटोस्थित बिएन्डबी अस्पताल पुर्‍याइएको थियो । थप परीक्षणपश्चात् डाक्टरले उनलाई आगामी एक वर्ष आराम गर्न सुझाब दिएका हुन् ।

घुँडाको एसियल टियर भएकाले उनको शल्यक्रिया पनि गर्नुपर्नेछ । शल्यक्रिया जति चाँडो भयो, उनी त्यति नै छिटो मैदानमा फर्कने सम्भावना छ । ‘डाक्टरले एक वर्षसम्म मैदानबाहिर रहनुपर्ने जनाएको छ । उनको शल्यक्रिया पनि गर्नुपर्नेछ’, एपिएफकी प्रशिक्षक भगवती थापाले भनिन्, ‘उनको उपचार प्रक्रिया सुरु त भएको छ । तर, समय लाग्न सक्छ । उनीजस्तो खेलाडी चोटग्रस्त हुनु देशकै लागि ठूलो दुर्भाग्य हो ।’

जारी लिगमा सावित्राको ४३ गोल

जारी लिगमा सावित्रा एक्लैले ४३ गोल गरेकी छिन् । अग्रपंक्तिमा उनको सशक्त प्रदर्शनले एपिएफले १० खेलसम्म निरन्तर जितको नतिजा आत्मसात् गरेको छ । सर्वाधिक ३० अंक जोडेको एपिएफ उपाधिको निकै नजिक पनि पुगेको छ ।
एपिएफले प्रतियोगितामा बाँकी रहेको आफ्नो दुईमध्ये एकमा मात्रै जित हात पारे पनि उपाधि जित्ने छ । पाँच अंकले पछि रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब उसको दुईमध्ये एक खेलमा बराबरीमै रोकिएको अवस्थामा समेत एपिएफले प्रतियोगिता जित्नेछ ।

यद्यपि, सावित्रा चोटग्रस्त बन्दा एपिएफको उपाधि यात्रा सोचेजस्तो सहज भने पक्कै हुनेछैन । ‘उनी नहुँदाको अवस्थाका लागि पनि हामीसँग योजना त छ । प्रतिस्पर्धामा सहभागी भएपछि जितको तयारी त जसरी पनि गर्नु नै पर्छ’, भगवती भन्छिन्, ‘यद्यपि मैदानमा उनको अभाव खड्किनेछ । प्रतियोगितामा हाम्रा लागि आधाभन्दा बढी गोल उनैले गरेकी छिन् ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...