Thursday 29th October 2026

भारतमा किसान आन्दोलन चर्किदो, देशब्यापी बन्दको घोषणा


तीतोपाटी – भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् ।

किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरि बन्द गराइने उनले बताए ।

कृषिसम्बन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरू देशव्यापी रूपमा आन्दोलित छन् । किसान नेता हर्भिन्डर सिंह लख्वाले भने, ‘हाम्रो बैठकले आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ ।’

हालै ल्याइएका कृषिसम्बन्धी कानुन रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकमा अवरोध गरिने उनले बताए ।

सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरू थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरूको छ ।

केही महिनाअगाडि नै पारित भएको कानुनप्रति किसानहरूले त्यतिवेलादेखि नै असन्तुष्टि जनाउँदै आए पनि आन्दोलन भने केही समयअगाडिदेखि मात्रै सुरु भएको हो ।

अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरूसँग पटक–पटक वार्ता पनि गरेको छ । तर, वार्ता परिणाममुखी हुन सकेको छैन ।
-रासस


सम्बन्धित शीर्षकहरु

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

नेपाल रेडक्रस सोसाइटी (Nepal Red Cross Society) ले देशभर रगत तथा रगतका प्रमुख अवयवहरूको मौज्दात सकिँदै गएपछि सर्वसाधारणलाई तत्काल रक्तदान…

प्रतिकृयाहरू
...