Friday 10th July 2026

भारतमा किसान आन्दोलन चर्किदो, देशब्यापी बन्दको घोषणा


तीतोपाटी – भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् ।

किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरि बन्द गराइने उनले बताए ।

कृषिसम्बन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरू देशव्यापी रूपमा आन्दोलित छन् । किसान नेता हर्भिन्डर सिंह लख्वाले भने, ‘हाम्रो बैठकले आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ ।’

हालै ल्याइएका कृषिसम्बन्धी कानुन रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकमा अवरोध गरिने उनले बताए ।

सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरू थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरूको छ ।

केही महिनाअगाडि नै पारित भएको कानुनप्रति किसानहरूले त्यतिवेलादेखि नै असन्तुष्टि जनाउँदै आए पनि आन्दोलन भने केही समयअगाडिदेखि मात्रै सुरु भएको हो ।

अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरूसँग पटक–पटक वार्ता पनि गरेको छ । तर, वार्ता परिणाममुखी हुन सकेको छैन ।
-रासस


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...