Monday 8th June 2026

ए कोरोना! तिमी आफ्नै जन्मथलो जाऊ -सरिता कोइराला


कस्तो दिन आयो बरै !
मान्छे बाट मान्छे डराउनु पर्ने
घरभित्र भित्रै मात्र रमाऊ भन्नु पर्ने
न बोल्ने कोही छन्, न बोलेको सुन्ने कोही नै
कोठा भित्रका सामानले
मेरो आवाज सुनेर प्रतिक्रिया दिदै नदिने
ए कोरोना ! अब तिमी आफ्नै जन्मथलो जाऊ
तिमी र तिमीले दिएको त्रासदीले
मेरो आवाज आउँदै आउन्न ।

न लेख्ने भाव आउँछ, न गम्ने हृदय खुल्छ
सबै शून्य शून्य पारेर तिमीले
किन मलाई दुःख दिने ?
बा आमा एकातिर, म छु अर्को तिर
पिर नमान्नु भन्दा नि रुन्छन् मैलाई सम्झिएर
भोकै हो कि केही खाईस् भन्ने तिनै छन्
दुःख बिमार नपरेस् भनी रुने तिनै छन् ।

त्यसैले कोरोना,
अब अति नगर, रमाउन देऊ
त्यो न्यानो काखमा बन्धक नबनाई
स्वतन्त्रताका साथ रम्न देउ है आफ्नै संसारमा
अनि कोरोना तिमी पापी भयौ
पलाउदै गरेको मेरो माया छुट्ने बनायाै
भौगोलिक दूरी मात्र होइन
मनको दुरी पनि टाढा बनायौ
जुनसुकै बेला मेरो बोली सुन्न चाहने ऊ
“परिवारको माझ छु
बोल्न मिल्दैन फोन नगर” भन्ने भो
पटक पटक नम्बर थिच्छु,
अनि फेरि बन्द गर्छु
मेरै कारण तिम्रो परिवारमा बेमेल नहोस्
र त आज मन त्यसै त्यसै भारी बनाई हिडेको छु ।

त्यसैले कोरोना
मेरो परिवार, मेरो माया भन्दा आफूलाई ठूलो नदेखाउ भो,
तिम्रो त्रासदीले पिल्सिएको,
अस्पतालको बेडमा छट्पटाईरहेको,
मृत्युसँग लडिरहेको हेर्नू छैन
अनि
मृत्यु र संङ्क्रमणको संख्या
यति र उति पनि सुन्नु छैन ।
तिमी रोग बनेर आयौ र लाखौंलाई भोकै मर्न बाध्य बनायौ
गाँस, बास र कपासको जोहो गर्न नसक्ने बनायौ
चाड-पर्वले छपक्क छोपी सक्यो,
रमाइलो त दूरको कुरा
भेटघाट पनि मुस्किल बनायौ ।

अब तिमी जाऊ !
मलाई निस्फिक्री उड्न देऊ
किन कि म तिम्रै कारण मर्न चाहन्न।
तिम्रै सङ्क्रमणले कसैको ज्यान गएको देख्न चाहन्न
अरु संक्रमित र मृतकको संख्या गणना गर्न चाहन्न ।

-सरिता कोईराला
पाँचखाल-२, अनैकोट

हाल:- बानेश्वर, काठमाण्डाै ।


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...