तोयानाथ उपेक्षित, अब कोरोना संक्रमितको संख्या गन्न छाडियो । कोरोना बढेको बढयै छ , कहाँ छैन कोरोना ? कसलाई सुनाउने ? कसलाई देखाउने ? तर मनको भय भने घटेको जस्तो छ । डराएर कति बाँचिन्छ ? पलपल मर्दै बाँच्दै गर्नु भन्दा त छाती खोलेर कोरोनालाई च्यालेन्ज गर्नु नै उत्तम उपाय हो । डरको अन्तिम सिमा मृत्यु हो त्यो भन्दा पहिले को उपाय भनेको डु एण्ड डाई नै हो अर्थात अन्तिम सँघर्ष ।
डर लुकाउने ठाउँ बन्द हुदै गए पछि बाकी रहने एउटै ठाउँ हुन्छ भिडन्त गर्नु । कुनै बलियो शत्रुले लखेटे त्यति बेला सम्म भागिन्छ जब सम्म अगाडी को भाग खुल्ला हुन्छ । सुरुङ्घ सिद्धिए पछि कहाँ जाने ? शरिरको ईनर्जी सिद्धिए पछि के गर्ने ? जाईलाग्नुको विकल्प रहन्न । अब कोरोनासँग जाई लाग्ने भन्दा अरु उपाय छैन । कोरोना विरुद्धको लडाई मानब मात्रको लागि महाभारत को मैदान उत्रिएको योद्धाको कथा जस्तै भएको छ । यो संकल्प नै कोरनासँग लडन काम लाग्छ । यसो भनेकै कोरनाबाट लडनु हो उसँग बचेर उसलाई झिल खुवाउनु हो । हामीले त उसलाई देख्दैनौ तर उसले हामीलाई देख्छ । मानबताका विरुद्ध कोरोनाले गोरिल्ला युद्ध छेडेको छ । हाम्रो ज्ञानविज्ञान लाई चुनौती दिएको छ । यस्तो युद्ध लड्न सजिलो पक्कै हुन्न तर होसियारी अपनाउन भने जरुरी छ । उसलाई हराउने त्यही मात्र उत्तम उपाय हो ।
अब त घरपरिवारको चिन्ता पनि घट्दै गए जस्तो छ । उनीहरुले प्रवासको अत्यास र विपत का कुरा पत्याउन छाडे जस्तो लाग्छ । खोई कसरी बुझदैछन कोन्नी कोरोना बेतुकको हल्ला पो होकी भन्ने एकथरीलाई लागेको पनि हुन सक्छ । यो पनि हुनसक्छ कोरोनाको भयलाई पचाउने रसायन मानिसको मस्तिस्कमा पैदा भईसक्यो वा सवैको विश्वास बलियो हुदै गयो । जे होस यति चाही पक्का हो कोरोना खाडीमा पस्दाको जस्तो चिन्ता यसको निरन्तरको फैलावटमा पनि तुलनात्मक रुपमा पातलिएको छ । गन्जागोल, महलहरु, सडकमा सललल बग्ने चिल्ला लाखौ कारहरु सवै दुला पसेका छन । फाईभस्टार होटलहरुमा मेनेजर आफै तन्ना मिलाउदैछन , चेफहरु भडा माज्दैछन, जति कर्मचारी कटौती गरे पनि होटल र रेष्टुरेन्टहरु को हालत विजोग भईसकेको छ । साँच्चै भन्न पर्दा यो पुस्ताले यस्तो सट डाउन कहिले देखेकै थिएन ।
जब सम्म आफैलाई दुःख आई पर्दैन तब सम्म सवै कुरा सहज मान्ने त मानविय स्वभाव नै हो । यसको अर्को मनोबैज्ञानिक पाटो चाही के पनि हो भने यदि एउटा सदस्य महिनौ रोगिएर, थलिएर वा बुढिएर वा अरु कुनै कारणले लामो समयसम्म थला पर्दछ र त्यसपछि अन्तिम विदा हुन्छ त्यहाँ अपनत्व वा ममत्वको घातको मात्रा कम अवश्य नै हुन्छ । सवै भन्दा नजिकको माया गर्ने को मायाको मात्र पनि घटेकै हुन्छ । यो प्रकृतिको नियती पनि हो । त्यो घडीलाई सहज रुपमा परिवारले सहन गर्दछन तर अकालमा, उमेर छदै, अचानक रुपमा हुने मृत्यु भयंकर र घातक हुन्छ । अझ परिवारको आशा भरोसा रहेको उत्पादनशिल उर्जाको अन्त्य जब हुन्छ त्यसलाई सहजरुपमा लिन निक्कै गाहो हुन्छ । कोरोना कहर अहिले खाडीका तिनै उर्जाहरुमा ग्रहण बनेर छाएको छ । यसले भेट्यो भने लगेरै छाड्छ भन्ने बुझाई र छाड्न पनि सक्छ भन्ने बुझाईले मानिसका मनमा तरह तरहका कुरा खेलेका छन । मलाई नभेट्ला भन्ने एउटा विश्वास र आशा अर्को तिर भेटिहाले पनि अझै जवान छु मर्दिन होला भन्ने जीजिविशा बोकेर युवाहरुको मनोविज्ञान अतालिएको अवस्थामा छ ।
कोरोनाको रुप अझै कस्तो हुने हो दुनिया अनभिज्ञ छ । कसलाई के थाहा भोली को दिनमा मानिस को रहने यस धर्तिमा अनि विदा हुने । कसैले अहिले नै यसै भन्न सक्ने अवस्था छैन तर प्रकोप बढे पनि मनको भय भने घटनुको पछाडीको एउटै मात्र कारण यो हो की अब नाई नाई भन्दा भन्दै सामन्नेमा आईपुग्यो कोरोना । पर हुदा जति डर हुन्छ सामुन्नेको सच्चाई अर्कै हुन्छ । अब गति छाडेर बाघको सामु घोडा सुते झै सुत्ने र उसैलाई जीबन सुम्पने की अन्तिम लडाईका लागि हिम्मत ले काम लिने भन्ने मा मानसिकता तयार भए जस्तो मनोविज्ञानले काम गरे जस्तो लाग्दछ । कोरोना सँग लडने अस्त्र भनेको अहिले हिम्मत र होसियारी मात्र हामीसँग बाकी छ । हिम्मत ले रोग प्रतिरक्षा शक्तिलाई बढाउछ , डरले आफैलाई सिद्धयाउछ ।
अलिकति नढाटी मनका कुरा गरौ । यस्तो लाग्छ बाटोमा हिड्दा लिने स्वास अर्थात हावा सँग पनि शंका लाग्छ । गाडीमा चढदा ढोका खोल्न डर लाग्छ । गाडीको सिट, बेल्ट लगायत सीसाका झ्याल मा समेत कोरोनाको बसे जस्तो भान हुन्छ । अफिस वा कोठा मा आउदा जादा खोल्ने ढोका का हण्डल समात्न नपरे हुन्थ्यो, बाथरुमको फ्ल्यासमा पनि कोरोना छ छैन ? हुदाहुदा कोरोना फोविया यति बढिसकेको छ की लाग्छ आफैले लगाएको कपडामा कोरोना, सुत्ने ओछयान र सिरानीमा कोरोना त छैन ? कोठा र भान्सामा देखिएका साँङ्गला र झिंगा र मच्छडमा कोराना को कस्तो सम्बन्ध होला ? यति धेरै आशंका की बास्तवमा डर कहाँ लुकाउने होला ?
कोरोनाको डरले हात मिलाउने आदत त करिब करिब छुट्नै लाग्यो तर नमस्कार गर्ने आदत बसाउन पनि समय लाग्ने भयो । हामी त हामी भयौ अरबीहरुलाई नमस्कार गर्न पनि सकिएको छैन । न हात न नमस्कार ? कस्तो शुन्य शिष्टता को अवस्था छ । अब त रुममा आउने साथीसँग नै शंका लाग्न थाल्ने अवस्था आईसक्यो । नलागोस पनि कसरी ? कोरना ले साईरन बजाएर नआउदो रहेछ । उ कहाँ काम गरेर आउछ आफू कहाँ ? साँच्चै भन्न पर्दा अघिपछि हतियारधारी सुरक्षाकर्मीको घेरामा बस्ने र हिड्ने मन्त्री र सेनापति लाई त कोरोनाले छाडेको छैन भने हामी बबुरोलाई चाहे जति बेला पनि जहाँ पनि घाटी अठ्याउन के बेर ?
सानिटाईजर ले मिच्दा मिच्दै हातको छाला बुढयौली हुन लाग्यो । धारामा साबुले घोट्दा घोटदै हत्केला पातलिन लाग्यो । नाक मिच्ने हातहरु देखि यहाँ सम्म रिस उठेको छ , हुने भए लोहराले कल्चनु जस्तो । दाँत कोट्याउने रेष्टुरेन्ट का सिंका छुन पनि डर लाग्छ भन्या । कान कोट्याउने र सुर्ति चेप्ने आदत हटाउन नसकेको पिरले झन आफैलाई धिक्कार्नु जस्तो । नाक छोप्ने मुखारी नलाए पनि नहुने, लाए पनि सासै थुने जस्तो सकस हुने । यो कहिले सम्म ? कति किन्ने हो ? पैसा भएर पनि किन्न नपाउनेको गुनासो उस्तै सुनिन्छ ।
अहिले बल्ल थाहा भो कोरोनासँग लड्ने अस्त्रहरु सवै कमजोर र बेकम्मा रहेछन । हामी आफै यति कमजोर रहेछौ कोरोनालाई बोक्ने भरर्याङ बर्षौको अभ्यासले निर्माण गरिएको रहेछ । अहिले डब्लुएचओ ले दुई चार दिन पढाएर कस्ले सिक्ने ?
जे होस कोरोनाको कहर सहन सर्तकताको शास्त्र को विकल्प छैन । पैसा कमाउन विदेशीएका लाखौ युवा अहिले रोजगार र सुरक्षाको संकटकालमा फसेका छन । केही पैसा आज भोलीका दिनमा हात परे पनि कोरोना पैसाबाट पनि सर्छ भने पछि अब कसो पो गर्ने होला ?