Sunday 15th March 2026

कोरोना भाइरस आतंकःचीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह


तितोपाटी- चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्। अमेरिकालगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख व्यक्त गरे।
बेइजिङस्थित नेपाली दूतावासले ‘ग्रुप च्याट’मा नेपालीको स्वास्थ्य अवस्थाबारे डाटा संकलन गरेर नेपाल सरकारलाई बुझाउनेबाहेक अरू केही काम नगरेको उनीहरूको भनाइ छ। नेपाल सरकारले पनि ‘ब्रिफिङ क्याफे’ (जानकारी लिनेदिने) मात्रै गरिरहेको आरोप उनीहरूको छ।
नागरिकसँंगको टेलिफोन कुराकानीमा उनीहरूले नेपालले पनि कमसेकम चीन सरकारसँंग वार्ता गरी आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए। ‘हामीलाई ब्रिफिङ क्याफेको सुविधा मात्रै दिइएको छ,’ वुहानस्थित होचाङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा विद्यावारिधि गर्दै गरेका दिगम्बर खोटेजाले भने, ‘हामीलाई यस्तो सुविधा त विश्वविद्यालयले नै दिइरहेको छ।’
उनका अनुसार बेइजिङस्थित दूतावासका अधिकारीहरूले हटलाइन टेलिफोन नम्बर प्रदान गर्नेलगायत सुविधा दिइरहेका छन्। त्यहाँंका नेपाली विद्यार्थी विगत नौ दिनदेखि एक्लाएक्लै कोठामा बसी क्वारेन्टाइनमा छन्। सीमित घेरामा मात्रै बसेर सबैजना सुरक्षाका लागि सर्तक अवस्थामा छन्। बाहिर जानुपरिहाले सुरक्षाका लागि मास्क लगाएर सीमित ठाउँंमा मात्रै जाने गरिरहेका छन्।

त्यसका लागि विश्वविद्यालयले नै मास्क दिने गरेको छ। विश्वविद्यालयभित्रै खानेकुरा खरिद गर्ने प्रबन्ध मिलाइएको उनको भनाइ छ। मानिस बाहिर ननिस्केका कारण त्यहाँका सडक सुनसान छन्।
वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा इन्जिनियररिङ पढिरहेका र सोही विश्वविद्यालयमा नेपाली प्रतिनिधि रहेका सन्दीप उप्रेतीले अन्य देशहरूले चीन सरकारसँंग वार्ता गरी प्रोटोकलअनुसार प्रोसेसमा गएको मात्रै नभई आफ्नो नागरिक फिर्ता नै गराइसकेको जनाए।
अमेरिकालगायत केही देशले आफ्ना नागरिक फिर्तासमेत लगिसकेको जानकारी गराउँदै उनले चेकजाँंच गरी संक्रमित नभएको प्रमाणित भएपछि सुरक्षाका लागि आफूहरूलाई पनि नेपाल फर्कने वातावरणका लागि पहल गरिदिन सरकारसँंग माग राखे। चीनबाट संक्रमित नभएको प्रमाणित भएर स्वदेश फर्केपछि पनि दुई हप्ता क्वारेन्टाइनमा बस्न तयार रहेको उनले सुनाए।
अमेरिकाले दुई सय ४० जनालाई स्वदेश फर्काइसकेको, फ्रान्सले शुक्रबार फ्लाइट पठाउन लागेको, श्रीलंकाले आठ सय ६० विद्यार्थीलाई फिर्ता लैजान योजना अघि बढाएको, भारत र थाइल्यान्डले आफ्ना नागरिक फर्काउने प्रक्रिया थाली अनुमतिको प्रतीक्षा गरिरहेको नेसनल अथोरिटिज मिडियामा उल्लेख छ। मंगलबार मात्रै चीनबाट फर्केका नेपाली विद्यार्थीको एक समूहले काठमाडौंमा विभिन्न दलका नेताहरूलाई छुट्टाछुट्टै भेट गरी उता रहेका नेपालीलाई खतरा रहेको उल्लेख गर्दै तत्काल उद्धार गर्न लिखित रूपमै ध्यानाकर्षण गराए।
इन्जिनियर कृष्णभक्त दुवाल, डम्बरबहादुर सुनार, जगदीश्वर श्रेष्ठ, सुन्दरकुमार ओलीलगायत विद्यार्थीको टोलीले पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँंड, स्वास्थ्यमन्त्री भानुभक्त आचार्य लगायतलाई भेट गरेका थिए। अनुरोधपत्रमा चीनमा रहेका नेपालीको जनजीवन भयावह र कष्टकर रहेको जनाइएको छ।
त्यहाँंको यातायात, सवारी आवागमनलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीसमेत आपूर्ति हुन नसकिरहेको उनीहरूको मागपत्रमा उल्लेख छ। कोरोना भाइरसको संक्रमणबाट हालसम्म एक सय ३२ जनाको मृत्यु भइसकेको जनाइएको छ। पाँंच हजार नौ सय ९७ जना चीनमा र ६५ जना चीनबाहेकका देशमा संक्रमित रहेको बताइएको छ। साभार नागरिकन्युज


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...