Sunday 22nd March 2026

हैट ! देख्दै रिङटा लाग्ने भिरबाट भारी बोकेर कसरी हिँड्छन् मान्छे ?


एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे अपहरण गरी नाउरा भीर फोड्न श्रम शिविरमा राखे । र, धौलागिरि पदयात्रामा आएका पर्यटकबाट लाखौं चन्दा असुले ।


०६२/०६३ को जनआन्दोलनपछि साविक जिविसले केही विस्फोटन गरी डोरो निकालेपछि डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था अन्त्य भएको हो । तर, अझै गोरेटो साँघुरो र डिलमा बार नहुँदा जोखिम उस्तै छ ।


स्थानीय, स्वदेशी र विदेशी गरी धेरै पदयात्रीले ज्यान गुमाए नाउरा भीरमा । ज्यानमारा नाउरा भीरमा धेरै राजनीति गरिएको र बजेट खर्च भएको छ । धौलागिरि गाउँपालिका-४ मुदीको मुख्य बस्ती मुदीसमेत नेरवाङ, खिवाङ, बगरा सबै बस्तीमा पुग्न भीरको बाटो हिँड्नै पर्छ । मुदीवासीको यो अनिवार्य बाध्यता । म्याग्दी खोलाको सिरान र धौलागिरि हिमालको फेदीमा पर्ने नाउरा भीरको बाटो भएर धौलागिरि आरोहण गर्न र फन्को लगाउन विदेशी पर्यटक आउने गरेका छन् ।

‘दैलोबाट खेतमा पुग्न पनि भीर उक्लनु पर्छ । हामी दु:खी छौं । धेरै हाम्रा आफन्त यिनै भीरबाट लडेर मृत्यु भए, हामी पालो पर्खेका छौं’ धौलागिरि गापा-४ मुदी बगरा घर भई धौलागिरि आधार शिविरमा होटल सञ्चालन गर्ने हरिबहादुर तिलिजाले भने, ‘नाउरा भीरको कथा भनेर धेरै नेता माथि पुगे तर हाम्रो कथा-व्यथा उस्तै छ ।’

नाउरा भीरपछि सबैभन्दा बढी अप्ठ्यारो र राजनीति भएको बाटो हो, दग्नाम–दर्मिजाको अजिङ्गर भीर । रघुगंगा गाउँपालिका-४ मा पर्ने अजिङ्गर भीरको नाम नै डरलाग्दो बाटो झन् डरलाग्दो । दुई दर्जन बढी यात्रुको मृत्यु भइसकेको ज्यानमारा अजिङ्गर भीरमा पनि अहिलेसम्म अर्ब बढी रकम खर्च भइसकेको छ । तर, अवस्था उस्तै छ । दर्मिजा, चिम्खोला, मंगले, ध्याँसीखर्कवासी हिँड्ने एक मात्र बाध्यता हो । अजिङ्गर भीर देखाएर पञ्चायतकालदेखि नै गोरेटो, घोडेटोको सपना पूरा नहुँदै हिजोआज नेताहरु मोटर बाटोको सपना बनाउँदै भोट माग्ने गरेका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...