Saturday 5th October 2024

सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्युु


तितोपाटी – सवारी दुर्घटनामा एकै दिनमा ६ जनाको मृत्यु भएको छ । सर्लाही, रुपन्देही, धनुषा, बाँके, मकवानपुर र झापा लगायतका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका-४ बिश्वकर्मा चोकस्थित सडकमा ज.त २६६६ नम्बरको ट्याक्टरले बिआर ३० आर ४९४१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही चक्रघट्टा गाउँपालिका-९ बस्ने २७ वर्षीया संगिता देवीको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देहीको सियारी गाउँपालिका-७ भर्तापुरस्थित सडकमा लु.२ ख १७२८ नम्बरको टिपर सोमबार राति दुर्घटना हुँदा टिपर चालक रुपन्देही शुद्धोधन गाउँपालिका-३ बतेनी बस्ने ३० वर्षीय राज कुमार यादवको घट्नास्थलमै मृत्यु भएको छ ।

यस्तै धनुषा, नगराईन नगरपालिका-२ स्थित सडकमा ज.२ त ३११ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटो छेउमा रहेको पोखरीमा पल्टिएर सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय ललन सदालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकमा  पनि भे.७ प २१५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका-५ रझेना बस्ने २३ वर्षीय सुभाष कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयास्थित सडकमा ना.४ ख ७४३७ नम्बरको ट्रकले ना.५१ प २१८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मकवानपुर हटौंडा उपमहानगरपालिका-१ बस्ने ३५ वर्षीय सुरेन्द्र आले मगरको चुरेहिल अस्पताल हुँदै मेडिकल कलेज चितवनमा थप उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-५ दरदरा बस्ने २५ वर्षीय सुरेश स्याङतानको मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको  कन्काई नगरपालिका-४ कोटीहोमस्थित सडकमा ना.५ ख ७६६० नम्बरको ट्रकमा मंगलबार बिहान को.३९ प ७५४ नम्बरको मोटरसाइकल ठोक्किएर मे.१ च ४२८१ नम्बरको कारमा समेत ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ अमरदह नगरपालिका-२ बस्ने २३ वर्षीय किशन साहको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै ना.५ ख ७६६० नम्बरको ट्रकमा मे.७ प ४६७१ नम्बरको मोटरसाइकल ठोक्किदा घाइते भएका मोटरसाइकल चालक झापा कमल गाउँपालिका-७ बस्ने २१ वर्षीय गौरब मिश्रको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।
रातोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

वासिङ्टन – राष्ट्रपति जो बाइडेनले इरानी तेल प्रशोधन केन्द्रमा इजरायली आक्रमणको सम्भावनाबारे छलफल गरिरहेको बताएका छन् । हिजो बाईडेनलाई पत्रकारहरुले…

दशैको माहोल नजिकिँदै गर्दा 'आयो है दशैं आयो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रभात सुवेदी तथा…

सर्वोच्च अदालतले तमिलनाडु प्रहरीलाई इशा सेन्टरविरुद्धको कारबाही रोक्न आदेश दिएको छ । बिहीबार भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडसहितको तीन सदस्यीय इजलासले…

प्रतिकृयाहरू
...