Wednesday 31st December 2025

हिन्दु संस्कृतिमा तिज


मञ्जु नेपाल भण्डारी – तिज हिन्दु नारीहरुको महान चाड हो । हिन्दु धर्माबलम्बीहरुले वर्षभरि मनाउने विभिन्न पर्वहरुमध्येको एक महत्वपुर्ण चाड तिज हो । यो पर्व नेपाल र भारतको पश्चिम उत्तरी राज्यहरुमा मनाइन्छ । यो पर्वमा भगवान शिव र पार्वतीको पुजा आराधना गरिन्छ । विशेष गरी विवाहित महिलाहरुले आफ्नो श्रीमान् र छोराछोरीको दीर्घायूको कामना गर्न र अविवाहितहरुले पनि शिव जस्तै शक्तिपुरुष श्रीमान् पाउनका लागि दिनभर पानी समेत नखाइ ब्रत पुजा गर्ने चलन छ । तिजलाई शिव पार्वतीको पुजामा मात्रै सिमित राखिन्न । यो अवसरमा महिलाहरुले आफ्ना नयाँ पुराना साथी संगिहरु भेट्ने, रमाइलो गर्ने समेतलाई समेटिएको छ ।

हिन्दु संस्कृति अनुसार तिज मुख्यगरी तीन प्रकारका छन् । हरियाली तिज, काजरी तिज र हरितालिका तिज । यस बाहेक भारतमा अखा तिज, अव्रा तिज, काजल तिज, केबाडा तिज, झुलन उत्सब लगायतका तिज पनि मनाउने चलन छ । यी तिजमध्ये नेपालमा चाहिँ हरितालिका तिज मात्रै मनाउने चलन छ ।

हरियाली तिजः श्रावण महिनामा पर्ने भएकोले हरियाली तिजलाई अर्काे शब्दमा श्रावण तिज पनि भनिन्छ । यो तिजमा पनि ब्रत बस्ने र चन्द्रमाको पुजा गर्ने गरिन्छ । मनसुन वा वर्षाको मध्यमा चारैतिर हरियाली छाउदाँ मनाइने यो पर्वका दिन शिव र पार्वतीको पुनर्मिलन भएको मानिन्छ । माता पार्वतीले लामो समयसम्म गरेको ब्रत सफल भएको दिनको रुपमा यो दिनलाई लिइन्छ । हरियाली तिज खासगरी भारतको राजस्थान, पञ्जाब, हरियाणा, चण्डिगढतिर मनाइन्छ । काजरीतिजः खासगरी भारतको उत्तरप्रदेश, विहार, मध्य प्रदेश, राजस्थान लगायतका क्षेत्रमा काजरीतिज मनाइन्छ । भाद्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । राजस्थानतिर काजरीतिजलाई बढि तिज (ठुलो तिज) पनि भनिन्छ (हरियाली तिजलाई सानो तिज भनिन्छ) । यसमा पनि महिलाहरु ब्रत बसी शिव पार्वतीको पुजा सहित चन्द्रमाको पुजा गर्दछन् । विशेषगरी यो तिजमा निमको रुखमुनि पुजा गर्ने र पुजा सकिएपछि सात्तु खाएर ब्रत समापन गर्ने चलन छ ।

हरितालिका तिजः विशेषगरी नेपालमा यो चाड धुमधामसँग मनाउने गरिन्छ । यसका बारेमा हामी धेरै जानकार छौं । नेपाल लगायत भारतको विहार, उत्तरप्रदेश, झारखण्ड, राजस्थान र महाराष्ट्रमा समेत हरितालिका तिज मनाइन्छ । महाराष्ट्रमा गौरी हाब्बा पनि भनिन्छ । माता पार्वतीले आफ्नो १०८ औं जन्ममा लामो तपस्या पछि शिवलाई स्वामीको रुपमा पाएको र उनको तपस्या सफल भएको दिनको रुपमा हरितालिका तिजलाई लिइन्छ । त्यसैको सम्झनामा माता पार्वती र भगवान् शिवको पुजा आराधना गरी रातिमा चन्द्रमाको पुजा गरेपछि ब्रत सक्ने परम्परा छ । तिजका अवसरमा महिलाहरुले आफ्ना साथीसंगिहरु भेट्ने, गित गाउने, नाच्ने, रमाइलो गर्ने परम्परा छ । यद्यपी तिज मनाउने क्रममा बढ्दो आधुनिकता सँगै बढि भड्किलो हुँदै गएको, बढि खर्चिलो भएको र तिजमा नाममा विकृतिहरु फैलिएको जनगुनासो पनि त्यत्तिकै छ । खासगरी हरितालिका तिज ३ दिन मनाउने गरिन्छ ।

तिजको पहिलो दिनलाई दरखाने दिन भनिन्छ । यो दिन महिलाहरु आफ्नो दाजुभाई, बुबाआमा सहित भइ मिठा र आडिलो खानेकुरा खाने गर्दछन् । तर अचेल यो चलनलाई करिब एक महिना अघिदेखि नै साथीसंगि जम्मा हुने र दरखाने गर्न थालिएको छ । जुन कदापि ठिक होइन । यसले सामाजिक विकृति जन्माएको छ । जुन पर्व जुन उद्देश्यले मनाउने हो, जुन दिन मनाउने हो त्यो दिन मात्रै मनाउँदा उपयुक्त हुन्छ ।

हरितालिका तिजको दोश्रो दिन ब्रत बस्ने दिन हो । यो दिन दिनभर केहि नखाइ भगवान् शिवको पुजा गर्ने चलन छ । पुजाका लागि शिव मन्दिरहरुमा जाने, पुजा गर्ने र पुजा सकेपछि रमाइलो गर्ने गरिन्छ । पुजाका लागि महिलाहरुले सोह्र सिंगार, गरगहना पहिरिने हुँदा त्यसको भड्किलोपनले गर्दा शहरी समुदायमा अनेक खालका विकृतिहरु पनि भित्रिएका छन् । सामाजिक रुपमा सद्भाव बढाउने गरी मनाउनु पर्ने पर्व त्यसो हुन सकिरहेको छैन ।

तिजको तेश्रो तथा अन्तिम दिनको रुपमा ऋषि पञ्चमीलाई लिइन्छ । यो दिन नदि तलाउमा दतिवनका डाँठ, पात, रातो माटो आदि समेतले नुहाइ सप्तऋषिहरुको पुजा गरे पछि तिजको सम्पुर्ण प्रकृया सकिन्छ ।

हिन्दु संस्कारमा देवादि देव महादेवको सम्झनामा गरिने यो ब्रत मन, बचन र कर्मले पवित्र हुनुपर्छ न कि अरुको देखासिकी र भड्काउमा होइन । हुनेखाने र कमजोर वर्गले आफु आफुमा खुशी साट्न सकिने खालको हुनुपर्छ । अरुको इर्श्या, डाह र आरिषबाट प्रभावित भएर होइन । आफ्नो र आफ्ना समुदायको हैसियत अनुसार पर्व मनाउँदा अत्यन्त सकारात्मक सन्देश जान्छ र संस्कृति परम्पराको समेत जगेर्ना हुनसक्छ । खर्चिलो र भड्किलोपनले पर्वको महत्वलाई झन् ओझेलमा पार्न सक्छ । त्यसैले यस्ता चाडपर्व मनाउँदा सोचेर, विचार गरेर, सामाजिक सामुदायिक सद्भावका साथ मनाउनुपर्छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...