तितोपाटी – यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा ‘कतार गए, साउदी गए, गए लाहुर भोट, कहीँ पनि भेटिएन धन फल्ने बोट, ए आमा मिठो खाने राम्रो लाउने आशले…’ बोलको गीतले रामेछापका गाउँबस्ती तताउन थालेको छ । अहिले रामेछापका गाउँबस्तीमा याे गीत गुञ्जिरहेकाे छ ।
‘द भ्वाईस अफ नेपाल’का स्टार तथा सारंगी वादक तेजिन्द्र गन्धर्व र उनका भाइ हिमाल सागर गन्धर्वले रामेछाप जिल्लाको उत्तरीे गाउँपालिका उमाकुण्ड १, गुम्देलबाट गीति कार्यक्रमको थालनी गरेका छन् । गीति कार्यक्रमले समुदायमा राम्रो प्रभाव पार्ने भएकाले वडाबाट समेत बजेट बिनियोजन गरी कार्यक्रम गरिने भएका छन् । रामेछाप जिल्लामा चालू आ.व २०७५/०७६ मा सामी/हेल्भेटासको प्राविधिक सहयोग तथा मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिाकाको ६/६ लाख रुपैयाँको आर्थिक साझेदारीतामा चारघरे सेवा समितिले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गीति कार्यक्रममा नबुझी विदेश जानु हुँदैन, विदेश जाँदा तयार गरिएको कागजपत्रको प्रतिलिपि घरपरिवारमा छोडेर जानुपर्ने कुरालाई जोड दिने गरिएको छ । त्यस्तै विदेशमा धन फल्ने बोट नहुने हुँदा स्वदेशमा नै रोजगारी गर्नको लागि प्रोत्साहित गर्नको लागि पनि सो कार्यक्रम गरेको बुझिएको छ ।
विद्यार्थीहरुलाई अभिमुखीकरण
गीति कार्यक्रमँंगै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पनि विद्यालय अअभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा ८ को पेशा व्यवसाय र कक्षा १० को सामाजिक किताबमा समावेश गरिएको वैदेशिक रोजगारी भन्ने पाठ अनुसार पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।
उमाकुण्ड गाउँपालिका १, गुम्देलको महालंगुर मा.वि.को कक्षा ८, ९ र १० मा अध्ययन गर्ने ६२ जना छात्र छात्रालाई अभिमुखीकरण गरिएको छ । अभिमुखीकरण कार्यक्रममा आप्रवासी स्रोत केन्द्र मार्फत दिइने सेवा, निःशुल्क सिप तालिम जस्ता विषय समावेश गरिएको छ । विद्यालय अभिमुखिकरण कार्यक्रम उमाकुण्ड गाउँपालिकाको महालंगुर, सिद्धेश्वर मा.वि बाम्ती, गोकुलगंगा गाउँपालिकाको शारदा मा.वि र गोकुलगंगा मा.वि मा सञ्चालन गरिने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिनु भएको छ ।
-उज्यालोअनलाइनबाट