Saturday 18th May 2024

पश्चिमबाट घाम उदाउने अनाैठो ग्रह “शुक्र”


तितोपाटी – शुक्र ग्रह, हाम्रो सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रह । यो ग्रहको धेरै विशेषताहरु छन् । यसको सबैभन्दा प्रमुख विषेशता भनेको त यो ग्रह उल्टो घुम्ने गर्छ । शुक्र ग्रहलाई अंग्रेजीमा भेनस (Venus) भनिन्छ । यसको यो नामाकरण रोमनहरुले गरेका हुन् ।

पश्चिमबाट घाम उदाउने ग्रह

हामीकहाँ कुनै उदेकलाग्दो कुरा भयो भने पश्चिमबाट घाम उदायो भन्ने चलन छ । तर शुक्र ग्रहमा भने कुनै उदेक नै नभइकनै पश्चिमबाट घाम उदाउने गर्छ । यसो हुनुको कारण चाहिँ शुक्र ग्रह आफ्नो धूरी (Axis) मा उल्टो घुम्ने गर्छ । पृथ्वी लगायतका ग्रहहरु पूर्वबाट पश्चिमको दिशामा घुम्ने गर्छ भने शुक्र चाहिँ पश्चिमबाट पूर्वको दिशातिर घुम्ने गर्छ । यही कारण नै त्यहाँ पृथ्वीमा जस्तो सूर्य पूर्वबाट हैन, पश्चिमबाट उदाएको देखिन्छ ।

शुक्र ग्रहको घुम्ने गति पनि अति सुस्त छ । हाम्रो सौर्यमण्डलमा सबैभन्दा सुस्त घुम्ने ग्रह पनि शुक्र नै हो । पृथ्वीले करीब २४ घण्टा (२३.९४३ घण्टा) मा आफ्नो अक्षमा एक फन्को मारिसक्छ । तर शुक्र ग्रहले एक फन्को मार्नको लागि ५८३२ घण्टा (२४३ दिन) बराबरको समय लगाउँछ । त्यसैले शुक्र ग्रहको एक दिन बराबर पृथ्वीको २४३ दिन हुन आउँछ । अचम्म लाग्दो कुरा त के छ भने शुक्र ग्रहको एक वर्ष भने पृथ्वीको एक वर्षभन्दा छोटो हुन्छ किनभने शुक्रले सूर्यलाई कक्षमा घुमेर एक चक्कर लगाउनको लागि २२४.७ दिन मात्र लगाउने गर्छ । यसरी शुक्र ग्रहमा वर्षभन्दा पनि दिन लामो हुने गर्छ । शुक्रग्रहले सूर्यलाई प्रतिघण्टा १२६,०७७ किलोमिटरको गतिले परिक्रमा गर्ने गर्छ ।

कति पुरानो ग्रह हो शुक्र ?

हाम्रो सौर्यमण्डलका सबै ग्रह, उपग्रह तथा अन्य पिण्डहरु एकै समयमा निर्माण भएका हुन् । वैज्ञानिकहरुको मतमा एउटा ग्याँस र धुलोको घुमिरहेको विशाल डल्लोबाट सौर्यमण्डलको निर्माण भएको हो । उनीहरुको गणनाअनुसार आजभन्दा ४.६ विलियन वर्षअगाडि त्यो निर्माण भएको हो ।

कत्रो छ शुक्र ?

सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रहको स्थान राख्ने शुक्र आकारमा चाहिँ सौर्यमण्डलको छैठौं ग्रह हो । शुक्रको व्यास १२,१०३.६ किलोमिटर छ । यो भनेको पृथ्वीभन्दा केही कम मात्रै हो । पृथ्वीको व्यास १२,७५६.२ किलोमिटर रहेको छ । त्यसै गरी शुक्रको पिण्ड ४.८६७३२ x १०२४ छ । शुक्रको तुलनामा पृथ्वीको पिण्ड ५.९७२१९ x १०२४ किलोग्राम रहेको छ ।

शुक्रको गुरुत्वाकर्षण

शुक्र र पृथ्वीको आकार र पिण्ड (Mass) झण्डै उस्तै छ । त्यसैले यी दुई ग्रहको गुरुत्वाकर्षण बल पनि झण्डै उस्तैउस्तै छ । शुक्र ग्रहको सतहको गुरुत्वाकर्षण बल पृथ्वीको तुलनामा ९ प्रतिशत मात्रै कम अर्थात् ९१ प्रतिशत छ । यसलाई अझ सजिलो गरेर बुझ्नु पर्दा पृथ्वीमा १०० किलो तौल हुने वस्तु शुक्रमा तौलने हो भने ९१ किलो हुन आउँछ ।

शुक्रको वायुमण्डल र रंग

कुनै पनि ग्रहको रंग कस्तो देखिन्छ भन्ने कुरा त्यो ग्रह केले बनेको छ तथा त्यसको सतह र वायुमण्डलले सूर्यको प्रकाशलाई कसरी सोस्छ र फर्काउँछ भन्ने कुरामा निर्भर गर्दछ ।

शुक्रको वायुमण्डल पृथ्वीको तुलनामा ९० प्रतिशत बाक्लो छ । त्यहाँको वायुमण्डलमा ९६ प्रतिशत त कार्बनडाइअक्साइड नै छ भने ३ प्रतिशत नाइट्रोजन । त्यहाँ अति कम मात्रामा (०.००३ प्रतिशत) पानीको वाफ छ । साथै, त्यहाँ सल्फ्युरिक एसिडको बाक्लो बादल पनि छ । यही कारण नै पृथ्वीबाट हेर्दा त्यस ग्रहको रंग पनि हल्का पहेलो रंगको देखिन्छ ।

रोचक कुरा के छ भने, शुक्रमा वायुमण्डल अति तीब्र गतिमा चलिरहेको हुन्छ । त्यहाँ प्रतिघण्टा ३५० किलोमिटरको गतिसम्म वायुमण्डल चलिरहेको हुन्छ । यो भनेको विशाल आँधीको गति जस्तै हो ।

सबैभन्दा चम्किलो ग्रह

आकाशमा देखिने ग्रहहरुमध्ये सबैभन्दा चम्किलो ग्रह नै शुक्र हो । यो दुरबीनको मद्दतविना नांगो आँखाले पनि देख्न सकिन्छ । यो सबैभन्दा चम्किलो हुनुको कारण चाहिँ यसको बाक्लो वायुमण्डलले सूर्यको धेरै प्रकाश परावर्तन गर्नु (फर्काउनु) नै हो । वैज्ञानिकहरुका अनुसार, शुक्रको वायुमण्डलमा ठोक्किएर ३० प्रतिशत प्रकाशमात्र छिर्छ बाँकी ७० प्रतिशत प्रकाश फर्कन्छ ।

शुक्र ग्रहलाई सूर्यास्तको केही घण्टापछि र सूर्योदयको केहीघण्टा अघि आकाशमा राम्ररी देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...