Thursday 22nd January 2026

नयाँ सोच


तीतोपाटी- युवाको जोस, जाँगर र मिहिनेतबिना कुनै क्षेत्र अघि बढ्न सक्दैन । नेपालको चिकित्सा क्षेत्रमा पनि युवाको योगदान अतुलनीय देखिन्छ । अहिले लगभग अवकाशको उमेरमा पुगेका र अवकाश लिइसकेका चिकित्सकले स्थापना गरेको जगमा गारो लगाउने काम युवा चिकित्सकले गरिरहेका छन् ।

चुनौतीकै बीच बिरामीलाई सहज र सस्तो उपचारसेवा दिएका छन् । उनीहरूले भित्र्याएका नयाँ प्रविधिले समग्र चिकित्साक्षेत्र लाभान्वित छ ।

मुटु उपचारमा नयाँ थालनी

डा. अनील भट्टराई मुटु शल्यचिकित्सक हुन् । सम्पूर्ण विशेषज्ञता र सीप विदेशमा हासिल गरेका यी युवाले केही वर्षदेखि आफ्नै देशलाई कर्मभूमि बनाइरहेका छन् ।अग्रजहरूले निकै मिहिनेतपूर्वक खडा गरेको जगमा भट्टराईले इँटा थपिरहेका छन् । रुसबाट एमबीबीएस र एमडी तथा इटालीबाट पीएचडी गरेर २०१३ मा नेपाल फर्किएका उनी हाल त्रिवि शिक्षण अस्पताल प्रांगणको मनमोहन कार्डियोथोराक्सिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन् । आफूसँग नेपाल भित्र्याएको नयाँ शल्यक्रिया पद्धतिले उनलाई यहाँ कार्यरत युवा शल्यचिकित्सकमाझ पृथक् पहिचान दिलाएको छ ।

‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी’ अर्थात् थोरै घाउ बनाएर गरिने मुटुको शल्यक्रिया नेपालमा थालनी गर्ने श्रेय भट्टराईलाई नै जान्छ । काखीमुनि प्वाल पारेर गरिने यस प्रकारको शल्यक्रियाले धेरै बिरामीलाई नयाँ जीवन दिएको छ । खास गरी मुटुमा समस्या देखिएका अविवाहित युवतीले ठूलो राहत पाएका छन् । विद्याविभूषण ‘क’ पदकले सम्मानित भट्टराईले २०११ को ‘फ्रान्सिस फोटन’ अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरेका छन् । स्वदेशमै केही गर्ने हुटहुटीले फर्किएका भट्टराईलाई आफ्नो निर्णयमा कुनै पछुतो छैन । भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा महँगो भएकोमा भने चिन्ता छ । मनमोहनमा उनले दुई सयभन्दा बढी मुटुको शल्यक्रिया र ओपन हार्ट सर्जरी गरेका छन् । विश्वमा अत्यन्तै महँगो पद्धतिलाई उनले नेपालमा सस्तोमा उपलब्ध गराइरहेका छन् । अब प्रदेशस्तरमा मुटुको उपचार हुने अस्पताल खुले सस्तो हुने र धेरैले स्वस्थ जीवन बाँच्न पाउने उनको भनाइ छ ।

बाथरोग उपचारमा सक्षम

डा. विनित वैद्य बाथरोग विशेषज्ञ हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस अध्ययन गरेका उनले भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालबाट एमडी गरेका हुन् । अमेरिकाबाट बाथरोगमा फेलोसिप पनि गरेका छन् ।

वैद्यले बाथरोग उपचारमा अवश्यक नयाँ प्रविधि र औषधि नेपाल भित्र्याउन ठूलै परिश्रम गरेका छन् । बाथरोगको राम्रोसँग पहिचान हुन नसकेको अवस्थाले नै आफूलाई यो क्षेत्रमा थप अध्ययन गर्न प्रेरणा दिएको उनी बताउँछन् ।

सीमित बाथरोग विशेषज्ञ मात्रै रहेको अवस्थामा उनको मेहनत र कार्यक्षमताले यसको उपचार नेपालमै हुन सक्छ भन्ने आशा पलाएको छ । रोग पहिचानका परीक्षण विधि र उपकरणका साथै उपचारका लागि आवश्यक औषधि नेपालमा दर्ता गराउनेसम्मको काममा उनी खटिएका छन् ।

धेरै प्रकारका बाथरोग सुरुवाती अवस्थामै पत्ता लागे पूर्ण रूपमा निको पार्न सकिने वैद्य बताउँछन् । राज्यले बाथरोग उपचारमा धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । वैद्यका अनुसार डब्लूएचओले निर्धारण गरेको मानकका आधारमा नेपालमा २० लाखभन्दा बढी बाथरोगी छन् । तिनमा २५ देखि ३० हजार मात्रै अस्पतालसम्म पुगिरहेको तथ्यांक छ ।

बाथरोगले विभिन्न अंगसाथै मृगौला र कलेजोमा धेरै असर गर्ने हुँदा बाथरोगको उपचारमा चिकित्सकको समूह नै आवश्यक पर्ने वैद्यको भनाइ छ । काठमाडौंमा नेपाल बाथरोग उपचार केन्द्र चलाइरहेका उनले विभिन्न स्थानमा सेवा विस्तार गरिरहेका छन् । सरकारले औषधि र आयात गरिने उपकरणमा कर सहुलियत दिए निजी तहबाट भइरहेका प्रयासमा सहयोग पुग्ने उनी बताउँछन् ।

नेपालमै बोनम्यारो प्रत्यारोपण

डा. विशेष पौडयाल रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ हुन् । नेपालमा पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेका उनी यहाँ सबै प्रकारका रक्तरोगको उपचार सम्भव रहेको बताउँछन् । उनका अनुसार मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा यस्तो सेवा छ । चीनबाट एमबीबीएस र रक्तरोग उपचारमा एमडी गरेका उनले भारतको भेलोरस्थित सीएमसी अस्पतालबाट बोनम्यारो प्रत्यारोपणको फेलोसिप गरेका हुन् । अमेरिकाको इलिनोय विश्वविद्यालयबाट पनि बोनम्यारो प्रत्यारोपणमा थप तालिम लिएका छन् । उनले हालसम्म ३० जनाभन्दा बढीमा बोनम्यारो प्रत्यारोपण गरिसकेका छन् ।

विश्वमा सस्तो र अमेरिकी स्तरको बोनम्यारो प्रत्यारोपण हुने निजामती अस्पतालमा रक्तरोग पहिचान र उपचारलाई आवश्यक सबै उपकरण र जनशक्ति उपलब्ध छन् । रक्त क्यान्सरका बिरामीको उपचार अन्य सरकारी तथा निजी अस्पतालमा पनि हुन्छ । तिनमा सस्तो मूल्यमा विश्वस्तरको सुविधा भने पाइँदैन ।

पौडयालले विश्वका विभिन्न जर्नलमा नेपालमा रक्तरोगका विभिन्न पक्ष र उपलब्धि तथा अध्ययनबारे लेख प्रकाशन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय स्तरका सेमिनारमा देशको प्रतिनिधित्व गरेका छन् । उनको अथक् मिहिनेत र परिश्रमकै कारण नेपाल बोनम्यारो प्रत्यारोपणमा विश्वकै अब्बल मुलुकमा चिनिन्छ ।

ईआरसीपीले नयाँ पहिचान

डा. राम गुरुङ इन्टरभेन्सनल ग्यास्ट्रो इन्टेरोलोजिस्ट हुन् । सामान्य भाषामा उनी पेटरोग विशेषज्ञ हुन् । धुलिखेल अस्पतालका मेडिसिन विभाग प्रमुख छन् । इन्डोस्कोपिक पद्धतिबाट गरिने पेटको उपचारमा विज्ञता हासिल गरेका गुरुङले धुलिखेल अस्पताललाई ईआरसीपीबाट गरिने उपचार केन्द्रकै रूपमा स्थापित गर्न ठूलो योगदान दिएका छन् । शिक्षण अस्पतालबाट एमबीबीएस गरेका उनले विशेषज्ञता भने भारत, स्विट्जरल्यान्ड र जर्मनीबाट हासिल गरेका छन् । विदेशमै काम गर्ने प्रशस्त सम्भावना भए पनि उनी पनि नेपालमै केही गर्ने ध्येयले फर्किएका थिए ।

यहाँ आएदेखि नै उनी धुलिखेल अस्पतालमै छन् । धुलिखेलको वातावरण र अस्पतालको टिमले आफूमा कहिल्यै अन्त जाने इच्छा पलाउन नदिएको गुरुङ बताउँछन् । उनको नेतृत्वको टोलीले वर्षमा एक हजारभन्दा बढी ईआरसीपी गर्ने गरेको छ । धुलिखेल अस्पताल अहिले ईआरसीपीका लागि नेपालको रेफरल सेन्टर नै बनेको छ । अस्पतालले उपचार मात्र नभई तालिम पनि दिने गरेको छ । गुरुङले काठमाडौंमा मात्रै केन्द्रित उपचार सेवा देशका अन्य भागमा पनि पुर्‍याउने उद्देश्य राखेका छन् । ईआरसीपीजस्तो अत्यावश्यक उपचार सेवा सरकारी अस्पतालले नै प्रदान गर्नुपर्ने उनको बुझाइ छ । त्यसका लागि प्रयास पनि गरिरहेका छन् ।

महँगो उपकरण र विशिष्ट तालिम आवश्यक पर्ने हुँदा यो सेवा प्रदान गर्ने चिकित्सक थोरै छन् । गुरुङले धुलिखेल अस्पतालमा रहेर दिएको सेवाले पित्तथैली, पित्तनली वा पेटका अन्य भागको इआरसीपी गर्न भारत जानुपर्ने बाध्यता हटेको छ ।

सिक्कलसेल उपचारमा तल्लीन

डा. राजन पाण्डे सिक्कलसेल एनिमियाविज्ञ हुन् । उनी भेरी प्रादेशिक अस्पतालमा ११औं तहका मेडिसिन विभाग प्रमुख छन् ।थारू समुदायमा महामारीकै रूपमा देखिएको सिक्कलसेल एनिमिया रोग पहिचान, अध्ययन र उपचार गर्नमा उनको विशेष योगदान छ । सिकलसेल परीक्षण गर्न भारत पठाउनुपर्दाका दिन सम्झिँदै उनी भन्छन्, ‘अहिले त भेरी प्रादेशिक अस्पतालमा इलेक्ट्रोफोरोसिस गर्ने अत्याधुनिक मेसिन छ ।’

आफ्नो अध्ययन र खोजकै कारण सिक्कलसेल एनिमियाका बिरामीले सरकारबाट एक लाख सहयोग प्राप्त गर्ने अवस्था आएकोमा उनी गर्व गर्छन् । पाण्डेका अनुसार बर्दिया नगरपालिकामा सिक्केलसेल एनिमियाका बिरामीको स्क्रिनिङ भइरहेको छ । त्यसले थारू समुदायमा यो रोग कति व्याप्त छ भन्ने तथ्यांक निकाल्न मद्दत गर्छ । अहिले थारू समुदायका १० प्रतिशत बिरामीमा यो रोग रहेको अनुमान छ । उनले बिरामीको उपचार मात्रै गरेनन्, तिनलाई अस्पताल ल्याउन विभिन्न कार्यक्रम पनि गरे । त्यसपछि अन्य अस्पताल र धामीझाँक्रीले पनि त्यस्ता बिरामीलाई भेरी अस्पताल पठाउन थाले । गुरुङले आफ्नो कामका लागि नेपाल सरकारबाट प्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।

गम्भीर बिरामीको उपचारमा दक्खल

डा. जेन्टल सुन्दर श्रेष्ठ एनेस्थेसिस्ट तथा क्रिटिकल केयर स्पेसलिस्ट हुन् । गम्भीर बिरामीको उपचारमा दख्खल राख्ने चिकित्सक । टोरोन्टोस्थित क्रिटिकल केयर सेन्टरमा अध्ययन तथा काम गरेका श्रेष्ठ नेपालका थोरै क्रिटिकल केयर विज्ञमध्ये पर्छन् । गम्भीर बिरामी भएकाको उपचार गरी तिनलाई दैनिक जीवनमा फर्काउनुभन्दा महान् कार्य अरू हुन नसक्ने प्रेरणाले उनी यो क्षेत्रमा अघि बढेका हुन् ।

इमरजेन्सी न्युरोलोजिकल लाइफ सपोर्ट एन्ड अक्युट केयर अल्ट्रासाउन्ड वर्कसपका कोर्स निर्देशकका रूपमा उनी स्वदेश–विदेशमा अध्यापन पनि गराउँछन् । श्रेष्ठ हाल शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छन् । त्यहाँ उनी एमडीका विद्यार्थीलाई पनि पढाउँछन् । नेपालको प्रतिनिधित्व गर्दै धेरै अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका उनले विश्वस्तरका जर्नलमा सय हाराहारी लेख प्रकाशित गराएका छन् । अहिले उनी विश्वस्तरका अनुसन्धाता मिलेर प्रकाशन गर्न लागेको पाठयपुस्तकको विकासमा काम गरिरहेका छन् । सेप्सिसको व्यवस्थापन तथा उपचारको अन्तर्राष्ट्रिय टास्क फोर्समा पनि आबद्ध छन् ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...