Wednesday 14th May 2025

डा. गोविन्द के.सि. १६ औं पटक अनसनमा बस्दै


तितोपाटी – चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले आफ्ना मागविपरीत चिकित्सा शिक्षा ऐनको विधेयक समितिमा पठाएपछि केसी सत्याग्रहको निर्णयमा पुगेका हुन्। ‘विधेयकमाथि समितिले बुधबार आफूसँगको सहमतिविपरीत निर्णय गरे अपराह्न ५ बजे १६औं सत्याग्रह सुरु गर्नुपर्ने हुनसक्छ,’ डा.केसीले भने, ‘अबको लडाइँ माफितायन्त्र, घुसखोरी र दण्डहीनताविरुद्ध पनि हुनेछ।’

सत्याग्रहका लागि डा.केसी मंगलबार नै सदरमुकाम आएका छन्। उनले संसद्को समिति सरकार प्रमुखकै निर्णयमा चल्ने भन्दै आफ्ना माग पूरा हुने–नहुने प्रधानमन्त्रीमा भर पर्ने बताए। ‘ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले भरे ५ बजेसम्ममा माग पूरा गरेनन् भने सत्याग्रहको विकल्प छैन,’ उनले भने, ‘विद्यार्थीमुखी र जनमुखी ऐन ल्याउनुपर्छ भन्ने मेरो माग हो।’

साउन १० को सहमतिपछि विज्ञप्ति निकालेर डा.केसीले ऐन ल्याउन पुस १७ सम्मको अल्टिमेटम दिएका थिए। त्यसपछि संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले केही समय मागेपछि उनले थप २ दिन समय दिए। गत १७ गते सत्याग्रहका लागि इलाम आइपुगेका डा.केसीले समितिले पुनः केही दिन ‘पर्खिदिन’ भनेपछि बुधबारसम्मलाई सत्याग्रह सारेका थिए।

जुम्लामा २७ दिन आमरण सत्याग्रहमा बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका छन्। उनले राजधानीबाहिरका यी जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नो चौथौ सत्याग्रहदेखिकै माग रहेको बताए।

गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो। उनले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिनुपर्ने मागसमेत राखेका छन्।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...