सुनसरीकी पवित्रा खड्का र मोहनकुमार चौधरीबीच पशुपतिनाथ मन्दिरमा भएको विवाहलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको छ।
सर्वोच्चले विवाह मान्य हुन भव्य उत्सव, समारोह वा परम्परागत विधि अनिवार्य नपर्ने व्याख्या गरेको छ। कुनै पुरुष र महिलाले एकअर्कालाई पति-पत्नीका रूपमा स्वीकार गरी सँगै जीवनयापन गरेमा पनि विवाह भएको मान्न सकिने अदालतको ठहर छ।
सुनसरीकी पवित्रा खड्का र मोहनकुमार चौधरीबीच २०७३ साउन ७ मा पशुपतिनाथ परिसरमा विवाह भएर सँगै बसेपनि समय क्रममा मोहनले पवित्रालाई श्रीमतीका रूपमा अस्वीकार गरेपछि पवित्राले नाता कायमको माग गर्दै अदालतमा दायर मुद्दाको विषयमा सर्वोच्चले उक्त निर्णय दिएको हो । उक्त मुद्दामा जिल्ला अदालतले दाबी अस्वीकार गरे पनि उच्च अदालतले उनको पक्षमा फैसला गरेको थियो। सोही फैसला सर्वोच्चले पनि सदर गरेको हो।
अदालतले पशुपतिनाथमा भएको टीकाटालो, साक्षीको बयान, सँगै बसेको तथ्य तथा अन्य परिस्थितिजन्य प्रमाणलाई आधार मानेर विवाह भएको निष्कर्ष निकालेको छ।
सर्वोच्चले ‘‘मुलुकी देवानी संहिता २०७४ को दफा ६७ मा कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा कानुनी रूपमा विवाह भएको मानिनेछ भन्ने कानुनी व्यवस्था गरेको देखिन्छ,’’ भन्दै विवाहको व्याख्या गर्दै सर्वोच्चले भनेको छ, ‘‘यस कानुनी व्यवस्थामा विवाह भएको मानिनका लागि कुनै उत्सव, समारोह, औपचारिक समारोह वा कार्यक्रम गर्न वा परम्परागत रूपमा गरिने स्वरूपको विवाह हुन अनिवार्य देखिँदैन ।’’