Monday 21st September 2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार कार्य तीव्र


रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले दोस्रो दिन पनि तीव्र रूपमा प्रयास जारी राखेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई थप तीव्र बनाइएको छ। सुरुङभित्र मानिस फसेको जानकारी प्राप्त भएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गर्दै लेदो तथा भग्नावशेष हटाएर सुरुङको मुख खोल्ने कार्य अघि बढाएको हो।

उद्धार अभियानलाई प्रभावकारी बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। टोलीले सुरुङभित्र पुग्ने मार्ग खुलाउन कठिन परिस्थितिका बीच खोजी तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।

उक्त क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। निरन्तर वर्षा र पहिरोको जोखिमका कारण सुरक्षाका उपाय अपनाउँदै उद्धार कार्य सञ्चालन भइरहेको छ।

यसैबीच, उद्धार अभियानमा सहयोग गर्न भारतबाट आएको विशेषज्ञ टोली त्रिशूली क्षेत्रमा पुगेको छ। भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई निरीक्षण (रेकी) गरेको छ। आवश्यकताअनुसार थप उद्धार तथा खोजी कार्यमा सहयोग गर्ने योजना बनाइएको जनाइएको छ।

सरकारले फसेका व्यक्तिहरूको सुरक्षित उद्धारलाई उच्च प्राथमिकतामा राख्दै सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...