Tuesday 14th July 2026

अमेरिकालाई इरान युद्धमा होम्ने निर्णय ट्रम्पद्वारा अनुमोदन, कार्यान्वयन हुन भने बाँकी


एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः अमेरिकालाई इरान युद्धमा होम्ने निर्णयको अनुमोदन गरेको बीबीसीले जनाएको छ।
राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमणको योजना अनुमोदन गरेको तर आक्रमणको आदेश दिन भने बाँकी रहेको जनाइएको छ।
वाशिङ्टनमा मङ्गलबार राति उनले इरान हमलासम्बन्धी योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णयका बारेमा भने अझै द्विविधामा रहेको जनाइएको छ।

इरानले आफ्ना परमाणु कार्यक्रम त्याग्छ कि भनेर उनले पर्खिरहेको वरिष्ठ खुफिया सूत्रहरूको भनाइ उदृत गर्दै सीबीएसे जानकारी दिएको छ। इरानमाथि इजरेली हमलामा अमेरिकी संलग्नताबारे पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले खुलेर जवाफ दिएनन्।

उनले अन्योलपूर्ण जबाफ दिंदै भने, ‘मैले गर्न पनि सक्छु, नगर्न पनि सक्छु।’ यसअघि सीबीएसले इरानको फोर्दोस्थित भूमिगत युरेनिअम प्रशोधन केन्द्रमा हमला गर्नेबारे ट्रम्पले सोचविचार गरिरहेको जनाएको थियो।

बुधवार राष्ट्रपति ट्रम्पले अन्तिम घडीसम्म पर्खने अनि इरानलाई परमाणु अस्त्र विकास गर्न रोक्ने उद्देश्यले मात्र लड्ने बताएका थिए। ट्रम्पले इरानी वार्ताकारहरू ह्वाइट हाउस आउन चाहेको पनि बताएका थिए।

यसैबीच इरानका सर्वोच्च नेता अयोतुल्ला अली खामेनीले आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन्। ट्रम्पका पछिल्ला टिप्पणीको प्रतिक्रिया दिँदै न्यूयोर्कस्थित इरानको राष्ट्रसङ्घीय नियोगले समेत ‘कुनै इरानी अधिकारीले ह्वाइट हाउसको ढोकामा नगिड्गिडाउने’ घोषणा गरेको छ।

सामाजिक सञ्जाल एक्समा राखिएको टिप्पणीमा भनिएको छ, ‘उनको झुटभन्दा बढ्ता घृणित काम उनले ‘इरानका सर्वोच्च नेता’को हत्याबारे दिएका धम्की हुन्।’

ट्रम्पले इरानका सर्वोच्च नेता कहाँ छन् भनेर अमेरिकालाई थाहा भएको र ‘तत्काल’का लागि उनलाई मार्न नचाहेको बताएका थिए। इरानी नियोगको पोस्टमा इरानले दबावमा कुनै सम्झौता नगर्ने भन्दै कुनै पनि खतराको जबाफ दिने उल्लेख छ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अरागचीले उनको देश कूटनीतिमा प्रतिबद्ध भएको बताएका छन्। उनका अधिकारीहरूले अमेरिकी वार्ताकारहरूसँग सम्भावित बैठकबारे सोचिरहेको बताएका छन्।

इरानका निकट सहयोगी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सबै पक्षलाई लडाइँ रोक्ने उपाय खोज्न आह्वान गरेका छन्। साथै रुसले इरानले आफूसँग कुनैपनि प्रकारको सहयोग नमागेको समेत बताएको छ।

अमेरिकी संलग्नता सन्निकट रहँदै गर्दा बुधवार राति पनि इजरायल र इरानले एकअर्काविरुद्ध हमला जारी राखेका छन्। इजरायली सेनाले भनेको छ कि उसले तेहरान तथा अन्य इरानी क्षेत्रमा शृङ्खलाबद्ध प्रहार गरिरहेको छ।

इरानले उत्पन्न गराएको खतरा निमिट्यान्न पार्ने दिशामा लगातार प्रगति भइरहेको इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताउँदै आएका छन्। इरानको रिभोलुशनरी गार्डले इजरायलतर्फ नयाँ लहरका क्षेप्यास्त्र प्रहार गरेको बताएको छ तर त्यसबाट कुनै हताहती भएका विवरण प्राप्त भएको छैन्।


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...