अमोद सरकारी जागीरे थियो भने अञ्जली राजनैतिक कार्यकर्ता थिइन् । छोरीको बिवाह भइसकेको थियो भने छोरोले इन्जिनियरिङ पढदै थियो।उनीहरूबिच सहयात्राको तीन दशक बितिसकेको थियो । घरमा जेष्ठ माता पिता मात्रै थिए । ब्यस्तताको कारणले गर्दा घरायसी काम गर्न र माता पिताको सेवा गर्न उनीहरूले सकिराखेका थिएनन् ।
दुवैले सल्लाहमा घरमा एकजना काम गर्ने केटीलाई ल्याएर राखे । केटी राम्री,सुशील,मेहनती र फरासिली थिई । उसले घरका सबै परिवारलाई रिझाउदै गई । अमोद काम गर्ने केटीसंग बोल्दा र कुरा गर्दा अञ्जलीको मन चसक्क हुन्थ्यो।
“मेरो अनुपस्थितिमा यो केटी र अमोदबिच जे पनि हुन सक्छ” भन्ने शंकामा अञ्जलीले चुपचाप काम गर्ने केटीलाई निकालीदिई ।
घरमा काम गर्ने मान्छेको खाँचो पर्यो । दुबैले फेरि सल्लाहमा एउटा काम गर्ने केटोलाई ल्याएर राखे । केटो सुन्दर,सुशील,मेहनती र इमान्दार थियो । उसले घरका सबै परिवारलाई रिझाउदै गयो । अञ्जली केटोसंग बोल्दा, कुरा गर्दा र काममा लगाउँदा अमोदको मन चसक्क हुन्थ्यो ।
“मेरो अनुपस्थितिमा यो केटो र अञ्जलीबिच जे पनि हुन सक्छ” भन्ने शंकामा अमोदले पनि चुपचाप काम गर्ने केटोलाई निकालीदियो ।
श्रीनगर तानसेन