Friday 4th September 2026

आज नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा मनाइँदै


नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। काठमाडौंमा कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ ।कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।

यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो। यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...