Saturday 4th January 2025

चित्रमा पञ्चाङ्ग, भाग – १२२


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी

चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल

समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

जे गर्छ जमानाले गर्छ साथी
अब जसले मन भर्छ साथी
तिमीले गरेछौ विकास देखौँ
प्रविधि विना सबै मर्छ साथी
पाकेर फल यतै झर्छ साथी ।

सविता के.सी.

पञ्चाङ्ग २

जे गर्छ अहिले समयले गर्छ अब
प्रविधिसँग रम्न जँघार तर्छ अब
बाँचौ मात्रै यहाँ देखिन्छ दृश्य अनेकौं
कसको भागमा के के पर्छ अब
हातमा मोबाइल नभए मर्छ अब ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ३

पशुले मानिसलाई ढलाउन थाले
बुद्धिविवेकले सबै गलाउन थाले
जमाना पनि अचम्मका आए हजुर
अचेल स्यालका सिङ पलाउन थाले
कुकुरले मोबाइल चलाउन थाले ।

श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

पञ्चाङ्ग ४

देख्दा सौम्य गाउँ सहर विचित्र
मनभित्र सारा कहर विचित्र
बाहिर र भित्र संसार अनौठो
आँसु मात्र बग्ने नहर विचित्र
सबै सजीवको रहर विचित्र ।

– आर्त अकुलीन

पञ्चाङ्ग ५

भनेको किन नमान्ने होला
आफैले अझ नजान्ने होला
धेरै खाए चिनी तीतो हुन्छ,
भोगिन्छ भन्ने नठान्ने होला
यसरी दिन नधान्ने होला ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ६

मानवभन्दा पत्यारिलो भार भएको जन्तु
विश्वासमा अडिग बन्ने सार भएको जन्तु
यमको पहरी तिहारमा पुजक कुकर
तिष्ण बुद्धि क्षमताले पार भएको जन्तु
सुँघेर छुट्याउने खुट्टा चार भएको जन्तु ।

✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”।

पञ्चाङ्ग ७

कुकुर आफूलाई मन परेको सिको गर्छ
बेनियमको सञ्जालमा सरेको सिको गर्छ
मोबाइल हेरेको अचम्म मानौं या नमानौं
खडेरी साेच्दैन त्यो पात झरेको सिको गर्छ
कुकुरले पनि मान्छेले गरेको सिको गर्छ ।

✍️प्रेम थापा “मन”बागलुङ

पन्चाङ्ग ८

जीवन सबैले जीउन पाउनुपर्छ भन्छु
खुसी सबैले पिउन धाउनुपर्छ कहन्छु
यो शताब्दीले ल्याएको प्रबिधिको प्रयोगले
सोझाले तालिम लिउन गाउनुपर्छ गन्छु
सब्ले राम्रो सोंच लिउन लाउनुपर्छ भन्छु ।

कमला देवकोटा,पाल्पा

पञ्चाङ्ग ९

मान्छेभन्दा पशु जान्ने छन्
भनेको हामीले मान्ने छन्
मान्छेलाई कसले सक्ने
हातखुट्टा आफ्नै तान्ने छन्
ढुङ्गाले कुकुर हान्ने छन् ।

• देवी पन्थी

पञ्चाङ्ग १०

प्रविधिले पनि संसारमा गर्नु गरेकाे छ
सबैकाे दिमागमा केही न केही भरेकाे छ
मान्छे हाेस् वा पशु कसैलाई नछाेड्ने यसले
सबैमा माेबाइलकाे खुब लत परेकाे छ
यसले दुनियाँमा सबैकाे निद्रा हरेकाे छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ११

आँखामा कालो चस्मा चट्ट परेछ
हातमा मोबाइल झट्ट परेछ
मान्छे भन्दा बिस्वासिलो कुकुर छ
म‍ोबाइलमा डगी लट्ट परेछ
शोफामा बसी खाने भट्ट परेछ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १२

जनावरले पनि मोबाइल पायो साथी
सञ्जालले पनि मोहनी लायो साथी
भोक तिर्खा सबै सबै बिर्सिएर आज
मोबाइल मात्र हेरेर बस्ने बनायो साथी
यस्ले त हेर्दाहेर्दै विश्व नै खायो साथी ।

कला ढकाल झापा

पञ्चाङ्ग १३

वैज्ञानिक युगमा सबै सुखभोगी भए
कोही पार्खि भए भने कोही ढोंगि भए
कसोगरी धान्ने जीविका मार महंगिको
पसु पंक्षि पनि मोबाइलको रोगि भए
साँचैभन्दा मानिस यो लतमा जोगि भए ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १४

भएको कुरा भन्दा अलिकति फरक पर्दैन
कुनै काम कुरासँगको गति फरक पर्दैन
जे सिकायो एकदम राम्रोसँग सिक्छ कुकुरले
त्यसैले त जनाउदा सहमति फरक पर्दैन
कहिलेकाहीँ हुँदामा पनि खती फरक पर्दैन ।

#पृथक प्रकृति, झापा

पञ्चाङ्ग १५

प्रविधिको हाँगा पलाउन थाले
पानी माथि आगाे बलाउन थाले
अचम्म लाग्नथाल्यो सञ्जाल देख्दा
जब नयाँ यन्त्र चलाउन थाले
कुकुर पनि कहलाउन थाले ।

सूर्य गिरी पोखरा ।

पञ्चाङ्ग १६

रुखको पातमा मोबाईल छ
हरेक जातमा मोबाईल छ
छ विश्वले निकै फड्को मारेको
दिनमा रातमा मोबाईल छ
पशुको हातमा मोबाईल छ |

सरिता सेढाई धादिङ

पञ्चाङ्ग १७

सञ्जालले पनि लत लगायो ओहो
रातिको बाह्र बजे नि जगायो ओहो
निस्कन मुस्किल छ यो खाडलबाट
खै कस्तो यो दुनियाँमा भगायो ओहो
सञ्जालकै लागि फोन मगायो ओहो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १८

जन्मेपछि जीव मर्नु पर्छ
राेपकाे बिरुवा सर्नु पर्छ
यत्नविना प्रिया केही हुन्न
समस्या हामीले हर्नु पर्छ
मान्छेले सत्कर्म गर्नु पर्छ ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १९

गजवकाे समय आयाे अहिले
कुकुर्ले माेवाइल पायाे अहिले
प्रविधिले माथि उठायाे समय
चेतनाले चस्मा पाे लायाे अहिले
मन खुशी पारि रमायाे अहिले ।

मधुसूदनप्रसाद घिमिरे

पञ्चाङ्ग २०

सबै आ आफैँ जान्ने छन्
अरुभन्दा मै ठान्ने छन्
गाली नराम्रो तँलाई
भने कुकुर मान्ने छन्
अनि लात्तीले हान्ने छन् ।

भगवती दवाडी

पञ्चाङ्ग २१

बाँच्दैखेरि नै हो सबै थोक गर्नु छ
बैज्ञानिक आविष्कारतिर सर्नु छ
शिक्षा दिदा पशुले पनि सिक्न सक्छन् ,
यसैगरी जीवन खुशीले भर्नु छ
बिश्व सामु ईमानदारमा पर्नु छ ।

दुर्गा भट्टराई
मोरङ

👉पञ्चाङ्ग🇧🇹 २२
हेर्दा हेर्दै कुकुर पनि फोन चलाउन सक्ने भयो
जानेर होकी नजानी हातले समाउन सक्ने भयो
मान्छे भन्दा पशुले धेरै प्रगति गर्ने जस्तै रितले
ठक्क मिलाएर आँखामा चस्मा लगाउन सक्ने भयो
प्रविधिसँगै रमाइ बेसरी सजाउन सक्ने भयो।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

पञ्चाङ्ग २३
नचिनेको मान्छेहरु संजालमा जोडियो आज
चिनेका मान्छे पो बरु कतातिर छोडियो आज
प्रविधि त आयो नि विधि हराउँदै जादाखेरि
सप्पैभन्दा नजिकको सम्बन्ध पो तोडियो आज
समाजका मार्ग दर्शन खै कता मोडियो आज ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग २४

कस्तो शीत आयो हेर अनेक देख्न पाइने
कस्तो मीत लायो हेर अनेक देख्न पाइने
मोबाइल खेल्न हिजोआज पशुले नि थाले
कस्तो गीत गायो हेर अनेक देख्न पाइने
कस्तो जीत पायो हेर अनेक देख्न पाइने ।

खोम काफ्ले,✍️
दागाना,निचुला,भूटान,🇧🇹

पञ्चाङ्ग २५

जनावरलाई पनि मोबाइल हेर्न मन लाग्दो रहेछ
संसार भ्रमण गर्दा सोँच्दैन कि यती धन लाग्दो रहेछ
जनावर पनि विवेकशील तथा ज्ञानी भएको देखियो
मालिकलाई उस्ले जनाउदैनयती जन लाग्दो रहेछ
विश्वासका साथमा साहस देखाउने तन लाग्दो रहेछ ।

चन्द्रवती शर्मा।
भूटान


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क: डोनाल्ड ट्रम्पलाई एक आपराधिक मुद्दामा जनवरी 10 मा सजाय सुनाइनुपर्छ जसमा उनी एक पोर्न स्टारलाई भुक्तान गरिएको पैसा समावेश…

हमासले गाजा युद्धविराममा अप्रत्यक्ष वार्ताको नयाँ चरण शुक्रबार कतारको दोहामा पुनः सुरु भएको बताएको छ, जसमा जतिसक्दो चाँडो सम्झौतामा पुग्ने…

कोलम्बो: श्रीलंकाको नयाँ सरकारले यसलाई एसियाको सबैभन्दा स्वच्छ देश बनाउने र वातावरणीय न्यायका सिद्धान्तहरू लागू गर्ने उद्देश्यले राष्ट्रव्यापी परियोजना सुरु…

प्रतिकृयाहरू
...