Wednesday 15th January 2025

रबी लाई जेल हाल्ने गगन का प्रमाणहरु खोई ?


रास्वपा जसरी एकाएक नेपाल को राजनितीमा चौथो शक्ति को रुपमा उदायो त्यसलाई आश्चर्य घटनाको रुपमा लिने मुख्य दलहरु थिए । अझ चितवन र तनहुँ को उपनिर्वाचनको परिणाम ले त उनीहरुलाई तिलमिलाई दियो । कांग्रेस महामन्त्री गगन र अन्य नेताहरुले रबि लाई चटके भने । यसको मतलब रास्वपा लामो समय टिक्दैन जसरी चटकहरु, जादुहरु क्षणीक मनोरन्जन का लागि हुन्छन ।

अप्रत्याशित रुपमा उदाएको हुनाले अरुले चटक देख्नु कुनै नौलो कुरा होईन । तर यो जनमत बास्तवमा चटक नभएर जनताको असन्तुष्टिको बाढ थियो । अब आउने चुनावमा रास्वपा को जनमत घटेमा भने चटक रहेछ भन्न पर्ने हुन्छ । के रास्वपाको जनमत घटदै गएको हो त ? ईलामको उप निर्वाचनको परिणाम पछि एक प्रकारको निराशा रास्वपाका कार्यकर्ता र उनका समर्थकमा अवश्य छ तर त्यसो हुनमा रास्वपा ले उमेद्धार छनौटमा गरेको गल्ती मुख्य कुरा थियो । जसलाई ईलाम मा उमेद्धार बनाएको थियो ती उमेद्धार रास्वपाका थिएनन । उनले शुरुमा नै रास्वपासँग सहमती भएर उमेद्धारी घोषणा गरेको भए परिस्थिती अर्कै हुन सक्ने थियो । ईलाम उपनिर्वाचनमा रास्वपाले गरेको गल्तीले उ सँग उमेद्धारका लागि लायक पात्र को अभाव छ भन्ने गलत संदेश पनि गयो ।

रास्वपा ले सरकारमा जान हतार गर्न हुदैनथ्यो भन्ने एकथरी को तर्क छ । पहिलो पटक एक महिना गृहमन्त्री बनेका रास्वपा सभापती लाई संवैधानिक कु गरेर गृहमन्त्रीबाट झारे पछि दोश्रो पटक उनी वा उनको दल पुन सत्तामा जान हुने थिएन भन्नेहरु ले यो प्रश्नको जवाफ खोज्न पर्दछ की रास्वपा सत्तामा गएर के विगार गरर्यो ? अरु दलको गृहमन्त्री त्यहाँ बसेका भए के बदमास मिडिया प्रमुख लाई जेल हाल्न सक्थे , के सुनतस्करी काण्डको फायल खोल्न सक्ने थिए । के चौधरी ग्रुप ले हडपेको जमिन फिर्ता ल्याउन सक्ने थिए । बालमन्दिर र को जग्गा लगायतका अन्य धेरै काण्डहरु का फायल अघि बढ्ने थिए ? के पूर्व उपराष्ट्रपति र पूर्व गृहमन्त्रीका छोराहरु पक्राउ पर्ने थिए ? के बेचन झा हरु पक्राउ पर्ने थिए ? के काठमाण्डौ लाई रात्रिकालिन व्यपारका लागि खुल्ला गर्ने हिम्मत गर्थे । प्रहरी बढुवा र सरुवामा विना पैसा को खेल हुन सम्भव थियो ? यस्ता धेरै प्रश्नहरु छन जसले केही गर्न खोज्दै थिए भनेर देखाउछ । गठबन्धनको सरकार मा गर्न सक्ने कामहरु सिमित हुन्छन । प्रधानमन्त्री धेरै कुरामा बाधक हुने गर्दछन । उनले सत्ता सहयात्री एमाले र माओवादीका भ्रष्ट नेताहरुमाथि हात हाल्न सकेनन । यो स्वभाविक हो । उनी आफ्नै दलको बहुमत को सरकारका गृहमन्त्री थिएनन । उनले २० सिट लिएर सत्तामा जादाका बाध्यताहरुलाई बुझ्नेले बुझेका छन नबुझने वा बुझ पचाउनेले नचाहिदो कु प्रचार गरेका छन ।

परम्परागत पुराना दलहरुका ३० बर्ष लाई तुलना गरेर हेरर्यो भने रबि ले ४ महिनामा जे गरे त्यो अतुलनिय छ । ईमान्दार प्रयास र भावनात्मक दृढता को यहाँ कुनै मुल्य नभएर सतहमा उनको विरोध व्याप्त भएको हो । असचेत जनता र झोले कार्यकर्ता ले मुलुक नजकडिएको भए आज रास्वपाको विरोध गर्ने कुनै कारण छैन । राजनितीमा ४ महिनाको हिसाव गर्न नजानेर वा बुझ पचाएर जे मिडियाबाजी भईरहेको छ त्यो मुलुक प्रति ईमान्दार मिडिया भए त्यस्तो हुने थिएन । उनले ४ महिनामा आफ्नो २० सिटको शक्ति अनुसार को काम ईमान्दार भएर गरेका छन । रबि लाई सक्न पाईयो भने रास्वपाको भविश्य सकिन्छ भन्ने विरोधीलाई लागेर यहाँ यसरी प्रचार हुने गरेको छ मानौ देशका तमाम बेतिथी र भ्रष्टचारको जड रबि हो ।

रास्वपाको राजनैतिक भविश्य लाई माटोमा मिलाउने षडयन्त्र को रुपमा उनको पहिलो पटक को सत्ताच्युत ले उस्तै नेता हुदो हो त सधै लाई समाप्त पारिसकेको हुने थियो तर रबी अरु जस्तो होईनन । भन्ने देखिन्छ । उसलाई दबाउन त्यति सहज छैन जुन कुरा प्रमाणीत भएको छ । यसबाट बुझन पर्दछ की उनी गुमाउन पर्ने नेता रहेनन । जोगाउन पर्ने युवा नेता हुन ।

रास्वपा को निर्माण आफैमा जटिल मानिसहरुबाट भएको हो । मुकुल ढकाल विवेकशिल सिद्धयाएर रास्वपामा आएका मानिस थिए अहिले उनलाई अरु ले प्रयोग गरिरहेका छन । रास्वपा जन्मदै ढाका प्रसाद जस्ता लोभीपापीहरु देखा परेका थिए । बुझ्न पर्ने कुरा के हो भने ढाका र मुकुल जस्ता अरु पनि धेरै नेता कार्यकर्ता रास्वपामा अझै छन । तिनीहरुको पहिचान अवश्य जरुरी छ । विना लगानी नेता हुन पाउदा रमेश खरेल ले त्यसको महत्व वा उचाई नै बुझेनन । गुमनाम हुने डरले चर्चामा आउन कै लागि अहिले उनी कुलमान को पछाडी हात धोएर लागेका छन ।

रास्वपा सभापति रबि लामिछाने लाई केही गर्दा नसके पछि अहिले उनका सहयोगीहरुलाई खुईल्याउन षडयन्त्र भईरहेको छ । भारतीय दुतावास सँग जोडेर अनेक कुरा बाहिर आएका छन । यस्ता मिथ्या कुराहरुको मिडियाबाजी ले जनता भडकाउन सकिन्छ की भन्ने उनीहरुको बुझाई हुन सक्छ । के रास्वपाले भारत, चिन वा अन्य कुनै देशका कुटनैतिक नियोगहरु र तिनका पदाधिकारीहरुसँग भलाकुशारी गर्न हुदैन ? अरुले विमारीको बहानामा थाईल्याण्ड सिंगापुर, दिल्ली पुगेर त्यहाँ का खुफिया एजेन्सी मार्फत आफ्नो दल लाई सत्तामा पुरयाई दिन परर्यो भनेर जे गरे पनि हुन्छ त्यो समाचार बन्दैन । उद्योग धन्दा बेचेर खादा पनि केही हुदैन, नदीनाला सुम्पदा पनि राष्ट्रबादी नै भईरहन्छन के अचम्म हो यो देशमा ? सरकारी प्रोटोकल मिचेर जहाँ लम्पसार हुदा पनि उनीहरु नालायक नेता हुदैनन । तर रास्वपा ले विदेशीहरुसँग मिल्नै हुन्न , भेटनै हुन्न त्यहाँबाट नयाँ नयाँ कथाहरु सृजना भई दिन्छन किन ?

रबि तथा रास्वपा कमसेकम निश्कलंकित पार्टी हो । यसले विगतमा सत्ता नपाएर भन्नुस वा भ्रष्टचार नगरेर अक्षुत जस्तो भएको छ । पुराना दल वा नेताहरु भन्दा भिन्न पार्टी हो । रास्वपालाई शक्तिमा पुरयाउने हो भने कुनै भ्रष्ट नेता वा पूर्वमन्त्री र पदाधिकारीको विरुद्धमा कारबाही गर्न रास्वपालाई केही ले रोक्न सक्दैन । आफू चोखो भएका ले मात्र त्यसो गर्न सक्छन । अन्य पुराना दल जो आए पनि त्यसो गर्न सक्दैनन । किनभने एकले गरे अर्काले पनि त्यसै गर्दछ भन्ने डर छ । उनीहरुसँग एक अर्काका विरुद्ध कारबाही गर्ने प्रसस्तै मुद्धा र प्रमाणहरु लिएर बसेका छन । नेपालका सवै पुराना शक्तिहरु रहे सम्म देशको राजनिती वा प्रशासन शुद्ध हुन सक्दैन भन्नुको पछाडीको तर्क पनि यहि हो । उनीहरुबाट बर्षौ सम्म थुपारेको फोहर सफा गर्न अर्को कोही आउन पर्दछ त्यो अहिले को अवस्थामा रास्वपा मात्र हो । यति आशा र विश्वास त कमसेकम रास्वपा ले मर्न दिएको छैन । उसले बहुमत पाउने हो भने कुनै भ्रष्टहरु ले उन्मुक्ति पाउने छैनन भन्नेमा जनताको विश्वास अझै जीवितै छ । त्यसैले रास्वपा सक्छु भनेर जति हात उफ्रे पनि जस्तासुकै कुप्रचार गरे पनि जनताले पत्याउनेवाला छैनन ।

गगन थापाहरुले (conflict of interest) स्वार्थको द्वन्द्व का कुरा उचालेर त्यसलाई एक विशाल अपराध गरे जस्तो गरी अदालत समेत लाई प्रभाव र दवाव दिदै रबि को गृहमन्त्रीको पद खाई दिएका थिए । उनीहरुले दोश्रो पटक सहकारी ठग को आरोप लगाएर महिनौ दिनसम्म संसद अवरोध गरे । संसद भित्र मा हातमा कागजात हल्लाउदै आफूहरुसँग कयौ प्रमाण भएको भन्दै उफ्रिएर भ्रम छरे तर आज रबि गृहमन्त्री छैनन तब उनीहरुका प्रमाण कहाँ हराए ? त्यो सत्ताका लागि हतासा र कुण्ठा थियो होईनर ? उनीहरुसँग सहकारी ठगी गरेको प्रमाण भई दिएको भए अहिले सम्म रबि लाई जेल मा कोच्न के ले रोक्यो ? अहिले त कांग्रेस का गृहमन्त्री छन । यसबाट प्रष्ट हुन्छ की कांग्रेस का युवा भनिएका नेताहरु मा कुनै राजनैतिक स्तर पनि छैन र सँस्कार पनि छैन । जनताले बुझ्न जरुरी छ की संसदको महिनौ लामो अवरोध के का लागि थियो ? संसदमा कुटाकुट को स्थिती के का लागि भएको थियो ? फगत सत्ताका लागि ? यति तल गिर्न सक्ने कांग्रेस लाई अब आउने चुनाव मा मत दिनु पर्छ भन्ने कसैसँग केही तर्क भए आउनुहोस बहस गरौ ।

नेपाली लाई भूटानी बनाउने काण्डको आरोप लागेकी कांग्रेस नेतृ हाल परराष्ट्र मन्त्री छिन । आरोप नै आरोप लागेका कयौ मानिस ओली सरकारमा सामेल छन । के अब रास्वपा ले पनि आरोप लागेको मानिस को राजीनामा माग्दै संसद अवरोध गर्न पाउछ कि नाई ? त्यसका लागि पनि छानविन समिती बन्न पर्दछ की पर्दैन ? रबी लाई जेल हाल्ने गगन का प्रमाणहरु खोई ? खोज्न पाईन्छ की पाईन्दैन ?
– तोयानाथ उपेक्षित


सम्बन्धित शीर्षकहरु

नासाले भनेको छ कि धूमकेतुको भविष्यको चमक भविष्यवाणी गर्न "कुख्यात रूपमा गाह्रो" छ, तर धूमकेतु C/2024 G3 (एटलस) नाङ्गो आँखाले…

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने…

हजारौं यहूदीहरूले महादेश त्यागेकाले युरोपले यहूदी विरोधी भावनासँग लड्नुपर्ने शीर्ष यहूदी नेताले बताए। मार्गोलिनले भने कि २०२५ युरोपेली यहूदीहरूका लागि…

प्रतिकृयाहरू
...