Friday 18th October 2024

चित्रमा पञ्चाङ्ग, भागः ११७


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

मैले टेकेँ, कुल्चेँ, उसले बेर्यो मलाई
कुल्चिएको शिरबाट हेर्यो मलाई
मेरो पनि भोक उसको पनि भोक नै
मुस्किल पर्यो तर पनि टेर्यो मलाई
तँछाडमछाड र कुस्ती केर्यो मलाई ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

जिन्दगी जिउन चाले चाल हो
जीवन जोगिने खाले चाल हो
बाँच्नलाई कस्को हुन्न रहर
शत्रुको घाँटी नै गाले चाल हो
लडी तलैतिर ढाले चाल हो ।
भगवती दवाडी

पञ्चाङ्ग ३

काललाई कालले कब्जा जमायो
नचुॅडिने जालले कब्जा जमायो
यस्तै त हो सबैको जिन्दगानी यो
अजम्बरी चालले कब्जा जमायो
मारिदिने तालले कब्जा जमायो ।।

घनश्याम पौडेल,पोखरा

पन्चाङ्ग ४

जीवन काल आउन अडेकोछ
मानव माल पाउन अडेकोछ
काल बाट सर्प चरा को उम्कला
बल र छल धाउन अडेकोछ
पर पिडा पो गाउन अडेकोछ !

कमला, देवकोटा ,पाल्पा

पञ्चाङ्ग ५

आफै मर्न लाग्दा पनि मार्ने इच्छा हाेला कस्ताे
अरूलाई सताएर खानुपर्ने झाेला कस्ताे
खिचातानी मात्र सधैँ जित हार सधैँसधैँ
लुकाएर हान्न मिल्ने दुश्मनकाे साेला कस्ताे
बगाएर पिउन मिल्ने रगतकाे खाेला कस्ताे ।

चन्द्रावती अधिकारी

पन्चाङ्ग ६

कसले बाजी हात पार्ला भन्न सकिन्न
आफ्नो काल तत्काल टार्ला भन्न सकिन्न
संघर्षको मैदानमा शक्ति हुनै पर्छ
शत्रुलाई को पाखा तार्ला भन्न सकिन्न
कसले आफूलाई निखार्ला भन्न सकिन्न ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग ७

आत्मा सबैको यौटै हो तर भिन्न भिन्नै काया हुन्छ
जति डराऊ मृत्यु त सधैं आफ्नै दायाँबायाँ हुन्छ
आखिर मृत्युको त्यो भयले लड्न थाल्छ दुई काया
वास्तवमा मृत्युको हुँदैन काया न त छाया हुन्छ
हेर त सबैलाई आफ्नै ज्यानको कति माया हुन्छ ।
-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८
जता गएपनि घुम्दै सर्छन जालमा
अर्कालाई मार्छु भन्ने पर्छन जालमा
यस्तै रहेछ सँसारको चलन यहाँ
कोही दु:खले जंघार सर्छन जालमा
आजभोलि जानीजानी मर्छन जालमा ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ९

बलियाे हुँ भन्ने बाजले पनि हार मान्ने रहेछ
खान खाेज्दा सर्पलाई सर्पले पनि हान्ने रहेछ
मर्न काेही चाँहदैन बाँच्नलाई लड्छन् सबैले
याे कुरा बाेल्न नसक्ने पशुले पनि जान्ने रहेछ
सबै कुरा बुझेर पनि बाजले के ठान्ने रहेछ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १०

पापको नराम्रो फल भएको छ
आँखाबाट आँसु भल भएको छ
बुझ्न गाह्रो भयो समय अनौठो,
जिन्दगानी माथि छल भएको छ
वेदनाको ठुलो पल भएको छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग ११

सतकर्म गर्न सधैं अघि सर्नुपर्छ
अरुकाे भलाई हुने कर्म गर्नुपर्छ
असत् कर्म कहिल्यै गर्न हुन्न हजुर
अर्कालाई मार्न खाेज्दा आफू मर्नुपर्छ
कालले नबाेलाउँदै स्वर्ग तर्नुपर्छ ।
सूर्य गिरी- पोखरा ।

पञ्चाङ्ग १२

फसेको छ चरा सर्पको जालमा यहाँ
अनौठो छ दुबै आ-आफ्नो हालमा यहाँ
थाहा छैन कस्को जित अनि हार हुन्छ
दुबै जन्तु परेका छन् है खालमा यहाँ
फस्न पुगे होलान् लोभको मालमा यहाँ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १३

आँसुको तालमा खसाएर के पायौ
सान्निध्य इज्जत हटाएर के पायौ
स्वार्थको खेल खेलेर , अनि पेलेर
अनर्गल बल लगाएर के पायौ
सुन्दर दिमाग तताएर के पायौ ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १४
अर्कोलाई मारीकन आफ्नु पेट भर्ने
अर्कोलाई खारीकन आफ्नु पेट भर्ने
जति मै हुँ भनेपनि जानुपर्छ यसैगरी
अर्कोलाई झारीकन आफ्नु पेट भर्ने
अर्कोलाई फारिकन आफ्नु पेट भर्ने ।

खोम काफ्ले,
दागाना,निचुला,भूटान

पञ्चाङ्ग १५
सजिलै आँट गरेछ दिन्न सास फेर्न भनी
सर्पले झपट्यो गरुडको पङ्ख बेर्न भनी
आहारश्रृङ्खलाको विधान अनुसार चल्दै
गरुड रिसाएर भन्यो सक्दिन टेर्न भनी
नङ्ग्रा भसायो त्यो सर्पको ताकत हेर्न भनी ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १६

सर्पले यहाँ अचम्मै गर्छ हेरन साथी हो
कालको सामू को आफैँ पर्छ हेरन साथी हो
दैवको लिला नजानी सक्नु संसारी चक्रमा
आएको काल कसरी टर्छ हेरन साथी हो
कि शत्रु मार्छ कि आफैँ मर्छ हेरन साथी हो ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १७

घाँटीकै डोरो कस्सिएर जाल बन्न सक्छ
सुखको समुद्र नि दुःखको छाल बन्न सक्छ
महोदय, पालो सबैको आउँछ निल्न नखोज्नु
सिकार पनि त सिकारीकै काल बन्न सक्छ
एउटै झिल्को संसार खाने मसाल बन्न सक्छ ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग १८

सर्पले चरालाई बेह्रेको छ
सबैतिरबाट नै घेह्रेको छ
दुवै भोकाएको औडाहामा छन्
दुवैले आपस न टेह्रेको छ
यहाँ एक अर्कामा हेह्रेको छ ।

बेदु न्यौपाने

पञ्चाङ्ग १९

बाँच्न पनि खर्नु नै पर्दछ
खान संघर्ष गर्नु नै पर्दछ
परिश्रम जीवकाे हाे गहना
इलम मुख्य भर्नु नै पर्दछ
अनन्त प्राण मर्नु नै पर्दछ ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।


सम्बन्धित शीर्षकहरु

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

वैज्ञानिक अनुसन्धानकर्ताहरूले कोरल संरक्षणमा भविष्यमा योगदान पुर्‍याउने प्रयासमा उच्च ताप सहिष्णुताको सामना गर्न कोरलहरूलाई सफलतापूर्वक प्रजनन गरेका छन्। न्यूक्यासल युनिभर्सिटीको…

भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन्। शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर पाकिस्तानको इस्लामावाद पुगेको…

प्रतिकृयाहरू
...