Thursday 25th December 2025

क्यानडाका लागि नेपालका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र


क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा बुधबार आयोजित विशेष समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिए।

उनले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि अवगत गराए।

नेपालको सामाजिक-आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए।

दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गरे।

साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताए।

त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो। रासस


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...