Tuesday 10th March 2026

काठमाडौँ आइपुगे कतारका अमिर शेख थानी


राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् ।

थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । उनको सम्मानमा नेपाल सरकारले आज नेपालभर सार्वजनिक बिदा समेत दिएको छ ।

कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने छन् ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...