Monday 29th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय त्याइसौँ भाग (१२३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१२/१२
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

हुल बाँधेर आउन सालीहरू र पो होली
बोकी हातमा रङ्गका थालीहरू र पो होली
नाई नाई हुन्न हुन्न भने जस्तो गर्ने अनि,
आँखाले इसारा गरुन् तालीहरू र पो होली
चाख्न पाइयोस् वैँशका बालीहरू र पो होली ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग २
रङ्गको होलिमा ज्ञानको रङ्ग घुलाएर आऊ
अहमको घात पन्छाई मन खुलाएर आऊ
बर पिपलुको चौतारीमा एउटै छाया बनी
त्यो मन भित्र यो मन पाउन धुलाएर आऊ
यो मन मिसाउनलाई पिर भुलाएर आऊ ।

तिमैसँगै भयौ भने संसारै चुम्छु म
तिमी नै भैनौ भने ढुङ्गा माटो हुन्छु म
हाम्रो पाईला गराऔँ प्यारा बाटो एउटै
तिमी छैनौ भने निसास्सिएर रुन्छु म
तिमी भयौ भने मैले चन्द्र नी छुन्छु म ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग ३

घरीघरी उठाए पछि औंला भाँच्न मन लाग्छ
कसैलाई किन होला त्यसरी बाँच्न मन लाग्छ
अरुलाई मानसिक यातना दिने कस्तो सोच
बेवास्ता गर्दै केही गर्न आशा साँच्न मन लाग्छ
प्रिय यो जीवन खुलेर हाँस्न, नाँच्न मन लाग्छ ।
#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग ४

होलीको नाममा दिन रातमा बहार
बृद्धा देखि बालक मातमा बहार
पुर्खा देखि चलिआएको पर्व हो नि
संस्कृति जोगाउने बातमा बहार
बशन्तमा हरियो पातमा बहार ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

देसभरि रङ्ग उड्यो धेरै रकम व्यर्थ नजानु थियो गयो
देसभरिका गरिबलाई वर्षदिनको खानु थियो गयो
चोकहरू रङ्गीए जीवन रङ्गीएन कहिल्यै पनि
आखिर भोको पेटलाई वर्ष पुग्ने मानु थियो गयो
भाटागली पानी चुहिने कमजोर छानु थियो गयो ।

तेजप्रसाद खनाल लमही दाङ ।

पञ्चाङ्ग ६
अब रङ्गको होइन ज्ञानको होली खेलौं साथी
विकृति विसंगतिलाई उधो तिर ठेलौं साथी
जहिले ताहिले आँखा बन्द भैरहने यो सत्ता
नियम कानुनलाई माथि ल्याउन पेलौं साथी
सत्यको लागि हामी जे जे झेल्नु पर्छ झेलौं साथी ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ७

कोही तालीमा मख्ख
कोही सालीमा मख्ख
सौम्य सद्भाव हेर्दा
रङ्ग थालीमा मख्ख
फूल मालीमा मख्ख ।

– आर्त अकुलीन

पञ्चाङ्ग ८

फागुन पूर्णिमाले सबैमा उमङ्ग ल्याउनेछ
सबैको मन मुटुमानै लाली रङ्ग ल्याउनेछ
सत्यमेव जयते नश्वर संसारमा अमर रहने
शत्रुले शत्रुता भुलेर आज दङ्ग ल्याउनेछ
होलीको शुभकामनापनि सङ्ग ल्याउनेछ ।

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी

पञ्चाङ्ग ९

नजानेर हो कि यो होलीमा ढङ्ग पुगेन
खुसी लुके दुःख हाँसे र उमङ्ग पुगेन
अनौठो लाग्छ मानव संसार भोग्दा भोग्दै
अरू भए, देखेँ खुसी, आफ्नो दङ्ग पुगेन
ईन्देणीको रङ्गहरूमा नि रङ्ग पुगेन ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग १०

विश्वास नवका बोकी उक्लूँ अग्ला हिमालय
पुर्ख्यौली अन्धता रोकी उक्लूँ अग्ला हिमालय!
धर्मभिरु बनी टीको मूर्ति नराखूँ यो शिर
ताली विरुध्दमा ठोकी उक्लूँ अग्ला हिमालय
इन्द्रेणी दिलमा घोकी उक्लूँ अग्ला हिमालय!!

कलानिधि दाहाल

पञ्चाङ्ग ११

के होली के दिवाली हो काम चाहिन्छ
जता गएपनि खाने माम चाहिन्छ
जीवन कहा बित्छ र त्यत्तिकै सथी
मृत्यु पछि पनि पोल्ने दाम चाहिन्छ
मानो छानो कपास र नाम चाहिन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १२

जिउँदै मा त्यो स्वर्ग देख्न पाए हुन्थ्यो
आफ्नो भाग्य आफैँले लेख्न पाए हुन्थ्यो
कति बाँच्थेँ जीवन भर खुसी हुन्थेँ
आफ्नो मृत्यु आफैँले छेख्न पाए हुन्थ्यो
दुश्मनीको त्यो धार सेख्न पाए हुन्थ्यो ।

सुष्मा मगर रोल्पा

पञ्चाङ्ग १३

अरु उकास्न आफू तल पर्न सक्नुपर्छ
एकअर्का आत्म सम्मान गर्न सक्नुपर्छ
आपसी सद्भाव बाँड्न आउने गर्छ होली
ठुला साना दु:खका नदी तर्न सक्नुपर्छ
र सातै रङ्गमा उमङ्ग भर्न सक्नुपर्छ ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग १४

रङ्गको पर्व भनेर चाहिने भन्दा धेरै रङ्ग दल्यौ क्यारे
खानु भन्दा नि ज्यादा पिउँदा बेहोशी भइ ढल्यौ क्यारे
खुशी दिनु दर्शन दिनु हाम्रो पर्वको विशेषता हो
तर तिमीले त आँखा नै गोजीमा राखेर चल्यौ क्यारे
अन्धाधुन्ध हिड्दाखेरि जीवन दर्शन नै छल्यौ क्यारे ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १५

पहाडमा हिजो थियो तराईमा आज
फरक छ भनाई त गराईमा आज
रीसरागहरू त्यागी होली मानौँ भन्छन्
हिजो ढुक्क थियो बने डराईमा आज
आफन्तको पालो पुग्यो पराईमा आज ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १६

होली पर्वले सबैमा उमङ्ग ल्याओस
सद्भावको नयाँ नयाँ यो रङ्ग ल्याओस
सत्यको बिजय शाश्वत भएकोले
वैमनस्यता भुल्दै दङ्ग ल्याओस
रङ्गको आत्मीयता सङ्ग ल्याओस ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १७

आपत विपतमा शरण गरे राम्रो
दु:खलाई आफैले हरण गरे राम्रो
मायाले बसाउनु मायाको संसारमा
सकिन्छ भनेपछि वरण गरे राम्रो
मायाले उसैलाई भरण गरे राम्रो ।

साथी भाइ मिलेर रङ्गले होलि मनाउनु पर्छ
दुस्मनी मिटाउन सबैले दिल खोलि मनाउनु पर्छ
सत्य कहिले दहन हुन्न विकृतिको जरो फालौँ
होलिकालाई जस्तै कुचक्र पोलि मनाउनु पर्छ
सव्य भएर रङ्गमा रङ्ग घोली मनाउनु पर्छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” काठमाडौँ ।

पञ्चाङ्ग १८
रङ्ग मुहारभरी घोली दिए
सबैले जिन्दगीमा बोली दिए
चाडपर्व आए पछि देशमा
सबैले गुनिया त चोली दिए
देशमा कामनाको होली दिए ।

श्रीकृष्ण धामी – बझाङ

पञ्चाङ १९

होलीले मन सजाउँछ हामीलाई
भोलिले नम्र बनाउँछ हामीलाई
उमेर पनि एउटा पाठशाला हो
विस्तारै डर्न लगाउँछ हामीलाई
मृत्युले आफैं जलाउँछ हामीलाई ।

• देवी पन्थी

पञ्चाङ्ग २०

कहिले उज्यालो कहिले कालो देखिन्छ
घुरेर हेर्दा माकुराको जालो देखिन्छ
मन त अचम्मको लाग्छ किन हो कुन्नि
सिङ्गै थान कपडा पनि टालो देखिन्छ
भ्रम रहेछ डोको पनि डालो देखिन्छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग २१

संसारको बलियो आस दिन सक्ने आमा नै हुन्
सधैं काटेर आफ्नै गास दिन सक्ने आमा नै हुन्
सारा थकानहरू भुलेर पनि सन्तानलाई
सफा मायाको पोको खास दिन सक्ने आमा नै हुन्
आफू मरेर आफ्नो सास दिन सक्ने आमा नै हुन् ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग २२

होली खेल्दानि एक दुई मरेछन् कठै
फक्रदो फुल कोपिलामै झरेछन् कठै
सस्कृतिको नाममा विकृति बढेको छ
खै किन हो व्यर्थ झगडा गरेछन् कठै
मर्ने भन्दा बाँच्ने पीडामा परेछन् कठै !

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ ।

पञ्चाङ्ग २३
बगैचा फूल फुल्न मालीको सिहार चाहिन्छ
उन्नति प्रगतिमा बाआमाको प्यार चाहिन्छ
गलत बाटो हिड्दा त माया कुहीरोको काग
जगदेखि बिग्र्यो सपार्न प्ररिहार चाहिन्छ
कुसंस्कार मास्न त गतिलो प्रहार चाहिन्छ ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग २४

कतै वीरभद्र कतै निस्के कालीका काली होलीमा
रङैरङ भित्र देख्छु स्युँदा खालिका खालि होलीमा
फूलैफूलको बगैँचामा एक्लै रल्लिएँ त्यसै त्यसै
रहरहरू फुल्न थालेछन् डालीका डाली होलीमा
रसिला फल पाउँछु कि थालीका थाली होलीमा ।

श्रीकृष्ण शर्मा
पोखरा–५, मालेपाटन


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...