Sunday 5th May 2024

चित्रमा पञ्चाङ्ग, भाग: १०४


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/१२/०७
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
—————
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
—————
सामाजिक सञ्जाल
समायोजक
————–
सविता के.सी.

पञ्चाङ्ग १

परिस्थिति उस्तै छ पिठ्युँमा डोको छुटेन
प्रकृतिले दिएको बाध्यात्मा पोको छुटेन
भन्छन् भन्नेले बराबर पुरुष र नारी
उफ् निरन्तर रगत पानी फोको छुटेन
पाल्नु पर्छ सन्तान मनको धोको छुटेन ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

सबै नारी बराबरी मान्न सकिदैन
केले गर्दा फरक छ जान्न सकिदैन
कोही सुखी कोही दुखी यिनीहरूभित्रै
उस्तै गरी जीवन यो धान्न सकिदैन
तल पर्नेलाई माथि तान्न सकिदैन ।।
घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ३

डोको पनि छ बच्चा पनि दुबै बोक्नै पर्यो
त्यसैमा खोकीले सताएको छ खोक्नै पर्यो
जब दु:खको भारी हुन्छ मर्न सकिँदैन
आफैलाई अप्ठ्यारो पर्दा त टोक्नै पर्यो
र नमाने गलत गर्नेलाई ठोक्नै पर्यो ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ४

खुशी सबै सन्तानमा लुटाउने गर्छिन्
पेट पाल्न नै चट्टान फुटाउने गर्छिन्
आमालाई त्यसै भन्ने रहेनछ सृष्टि
आफू बलेर रगत घुटाउने गर्छिन्
दाउरा बेची छाक जुटाउने गर्छिन् ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

नौ नौ महिना पनि एक्लै बोक्नुपर्ने मैले
जन्म दिन ज्यानकै मूल्य तोक्नुपर्ने मैले
नारी पुरुष बराबरी भनेको सुन्दै छु
मुटु खुसी राख्न यो मुटु टोक्नुपर्ने मैले
चल्दाचल्दैको आफ्नै सास रोक्नुपर्ने मैले ।

श्रीकृष्ण शर्मा
पोखरा–५, मालेपाटन

पञ्चाङ्ग ६

कहिले डोकोमा भुलाउँछिन् आमा
कहिले कोक्रोमा झुलाउँछिन् आमा
बच्चाको मुख हेरी दुःख बिर्सिंदै
लै लै भनी नानी फुलाउँछिन् आमा
हुँदा नानी काख खुलाउँछिन् आमा ।

सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७

सृष्टिकर्ता हुन् एक नारी आमा
सन्तानकि नै हुन् छहारी आमा
सारा दु:ख भुली मुस्कुराउदै,
बोक्छिन बच्चा माथि उतारी आमा
हुर्काउछिन् अभाव टारी आमा ।

दुर्गा भट्टराई

पञ्चाङ्ग ८

चौबिसै घण्टा दु:ख गरेर पनि पालिनु पर्छ
पोषणयुक्त खानाको अभावले गालिनु पर्छ
गरीबी जिन्दगी अभावै अभावले जाने भयो
कहिले मेला कहिले घर गर्दै चालिनु पर्छ
यीनैको प्रतिक्षामा आशाको दियो बालिनु पर्छ ।

सुरेश चन्द्र घिमिरे
कपन

पञ्चाङ्ग ९

कुनै किसिमको खती होस् चाहदिनन् आमा
गर्त पनि अलिकति होस् चहदिनन् आमा
भएको दु:ख केही होइन जस्तो पो गर्छिन्
पीडा उत्कट गति होस् चाहदिनन् आमा
निराश नभ धरती होस् चाहदिनन् आमा ।

#पृथक प्रकृति, झापा

पञ्चाङ्ग १०

आफु भोकै हुँदा पनि अमृत पिलायौ आमा
आँखाको आँशु आखैभित्र कति बिलायौ आमा
मेरो लागी जहिल्यै आफ्नो ज्यान दाउमा राख्यौ
रहर बेचि मलाई नै खुशी दिलायौ आमा
दुखेको मुटु पनि मेरै निम्ति सिलायौ आमा ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ११

संसारको बलियो आस दिन सक्ने आमा नै हुन्
सधैं काटेर आफ्नै गास दिन सक्ने आमा नै हुन्
सारा थकानहरू भुलेर पनि सन्तानलाई
सफा मायाको पोको खास दिन सक्ने आमा नै हुन्
आफू मरेर आफ्नो सास दिन सक्ने आमा नै हुन् ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १२

संसारकै एक ति महान नारी आमा
बोक्न परे बोक्छिन् भारी माथी भारी आमा
मेलापात जाँदा पनी संगै लानु पर्छ
घामले पोल्दा शितलु त्यो छहारी आमा
हुर्काउंछिन् अभाव र दुःख टारी आमा ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग १३

पटुकि कसेर यो मेरो पेट भर्ने आमा
डोकोमा बोकेर भए नि काम गर्ने आमा
सृष्टिको अनुपम उपहार रैछौ तिमी
आफ्नो पीडा भुलाएर मुस्कान छर्ने आमा
सन्तानको खुसीको लागि पीडामा पर्ने आमा ।

संगीता खरेल
काठमाडौँ

पञ्चाङ्ग १४

कहिले रहरमा बाँच्नुपर्छ
गाउँ र सहरमा बाँच्नुपर्छ
वेदनाको भारी बोकेर आज
पीडाको कहरमा बाँच्नुपर्छ
आँसुको नहरमा बाँच्नुपर्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १५

काखमा नानी उस्तै पिठ्यूँमा भारी हुन्छ
पिडैपिडाको कथा नै बोक्ने नारी हुन्छ
यो देशका युवाहरू विदेश जानै पर्यो
गरिबी सबैभन्दा ठुलो बिमारी हुन्छ
बाँच्दासम्म दुःख खेप्छौँ र सवारी हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १६

दयालुको मन वरपर हुन्छ
निष्ठुरीको किन तरतर हुन्छ
अपारछ मायाको सँसार पनि,
सन्तानको चिन्ता घरघर हुन्छ
आमाको मन त धरधर हुन्छ ।

सूर्य गिरी-पोखरा

पञ्चाङ्ग १७

आमाले दुख अनेकौं पिर झेलेको देखिन्छ
निष्ठुरी भाग्य महिला माथी खेलेको देखिन्छ
बाल र बच्चा सियार गर्दै धानेकी घरमा
सम्मान छैन इज्जत छैन पेलेको देखिन्छ
नेपाली नारी भोक र तिर्खा जेलेको देखिन्छ ।

तारा घिमिरे स्वेच्छा

पञ्चाङ्ग १८

आमाको दुध खान नपाएर आएका छन्
बालबालिकाको आमाले कति धाएका छन्
दिनभरि काममा सन्तान बोकि मेलामा
दिनभरि काममा कमारो झैँ दाएका छन्
जति दु:ख गरेर पनि के नै खाएका छन् ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १९

आमाको माया अपरम्पार छ
उनी भएर बाच्ने आधार छ
आमाको शक्ति नापेर सकिन्न
जीवनमा कति ठूलो भार छ
आमा हुनु अस्तित्व र सार छ ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग २०

यसरी ममता जगाउनु आमा सधैँ
मैरा भुलत्रुटि बताउनु आमा सधैँ
ममतामयी सन्तानप्रति आमाहरू
सुताउन गीत रचाउनु आमा सधैँ
रिसएकोमा फकाउनु आमा सधैँ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २१

बाध्य भएर कहरले बाँचेकी छन् आमाले
शिसुको लागि धेरै माया साँचेकी छन् आमाले
आमा नभएको यो संसार कस्तो हुन्थ्यो होला
सन्तानकै निमित्त ढाड भाँचेकी छन् आमाले
सुख र दुःख सबै थोक जाँचेकी छन् आमाले ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग २२

यौनोत्तेजनका दर्द भारी भारी भरी भर
दु:खसागरका छाल पारी भारी भरी भर
आफ्नै कर्मान्धले आफू भवसागरमा फसी
आँसु छप्छप पोखिन्छन् टारी भारी भरी भर
सहानुभूति क्वै हुन्न घारी भारी भरी भर !!

कलानिधि दाहाल

पञ्चाङ्ग २३

माया ममतामा भुलाएर हास्छिन् अरुलाई खुवाई आमा
नारी ती प्रकृतिकी रक्षक, आफू सक्की राख्छिन् जोगाई आमा
नारी आमा नारी देवी श्रीमती जे भन पुग्दैन कर्म गर्दा
दुखमा आँसु पचाई देखाउँछिन् इज्जत लोकलाई आमा
दुखले मुटु थिच्दा खुशी हुन्छिन् अरुको मन बुझाई आमा ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग २४

मनमा दु:ख पीडा सहनु आमा
दु:खमै जिन्दगी है कहनु आमा
घाँस दाउरा हुदाँ पनि मनमा
घाम पानी त सधैँ रहनु आमा
आँशुको भेलमा त बहनु आमा ।

श्रीकृष्ण धामी – बझाङ


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...