Saturday 27th April 2024

चित्रमा पञ्चाङ्ग, भाग: १०३


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/११/३०
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

मौसमअनुसारको नेपालमा मह पाइन्छ
जानेर स्याहार्न सके महको दह पाइन्छ
पूर्वदेखि पश्चिमसम्म महको हुन्छ चर्चा
चाका काट्नेले हात चाट्नेको त कह पाइन्छ
जोसित छैन उसको मनमा बह पाइन्छ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हो रिस राग हटाएर मिली बसौँ
दिलमा माया सटाएर मिली बसौ
एक्तामै बन्ने गर्छ मजबुत जग
मनको मैलो फटाएर मिली बसौँ
रिसका रेसा घटाएर मिली बसौँ ।

सीमा कार्की

पञ्चाङ्ग ३

माहुरीले जस्तै मान्छेले परिश्रम गर्न मानेको भए
आफु मध्ये बाट एउटालाई मात्रै रानु छानेको भए
माहुरीको घार जस्तै शुरक्षित हुने थियो हाम्रो देश
हर नागरिकले आफूलाई कर्मी मौरी ठानेको भए
आफूमाथि आइलाग्ने सँग जाइलाग्न नै जानेको भए ।

-पशपती राई खोटाङ ।

पन्चाङ्ग ४

एकताको पाठ मौरी बाट सिक्नुपर्छ हामीले
ती बिदेशीको माझमा पनि टिक्नुपर्छ हामीले
मुठभेढ र मतभेदले यहाँ सम्म गरायो
जनता माझ शीर उठाई बिक्नुपर्छ हामीले
साहस र आँट नेपाली भै झिक्नुपर्छ हामीले !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ५

परिश्रम गर्दा फल मिल्छ
चट्टान फुटाइ जल मिल्छ
मौरीबाट शिक्षा लिनै पर्छ
मिले काम गरे बल मिल्छ
मुल फुटालेर भल मिल्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ६

परिश्रम गरे मिठो फल पाइनेछ
मरूभूमि भए पनि जल पाइनेछ
यताउता कसैको पनि भर नपरी
मिलीजुली काम गरे बल पाइनेछ
समस्यामा परे कतै हल पाइनेछ ।

घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ७
सबै मानिस मेहनती बन्न सक्नुपर्छ
पहारलाई माटो सम्झी खन्न सक्नुपर्छ
गरे काम असम्भव केही नि छैन यहाँ
परिश्रमी मौरी जो छन गन्न सक्नपर्छ
सत्यलाई हामी सत्य हो भन्न सक्नुपर्छ ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ८

आँखाबाट खस्ने आँसुको गह पवित्र हुन्छ
निश्चल पीडा वेदनाको बह पवित्र हुन्छ
हरेक कार्यमा चाहिने मह नै अमृत हो
पूजा गर्दा स्नान गरेमा दह पवित्र हुन्छ
जन्मदेखी मृत्युसम्म नै मह पवित्र हुन्छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग ९

प्रकृतिसँग हामी मान्छेले हार्नु पर्यो
धरतीको काखमा जीवन तार्नु पर्यो
विज्ञानले पनि उछिन्न सकेन कतै
खनजोत गरी बिजन उमार्नु पर्यो
फल जोगाउनलाई बार बार्नु पर्यो ।

• देवी पन्थी

पञ्चाङ्ग १०

जिउने जुक्ति चाहिँ आफ्नो आफ्नै तोपेको हुनुपर्छ
मेहनतको बेहोर दिलमा छोपेको हुनुपर्छ
नत्र त्यही ‘राम्रो बानी’ को कहानी पड्ने मात्र होला
माहुरीले जस्तै उद्यमलाई खोपेको हुनुपर्छ
परीश्रमको बिउ मष्तिस्कमा रोपेको हुनुपर्छ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग ११

मौरी मह मिठोजस्तै भए ढल्पल मानिस
अहा ! अहा!! हुने हुन्थे यता पल्पल मानिस
बारुलाझैँ सबै टोक्ने हुन्छन् मान्छे यता किन
नबोली मुखले भित्र गरेस् खल्बल मानिस
आवाज मसिना मौरी होऊँ झल्मल मानिस !!

कलानिधि दाहाल

पञ्चाङ्ग १२

मौरी जस्तै मान्छे त्यो हुनुछ यो दुनियाँमा
परचक्रीको मन दुनुछ यो दुनियाँमा
मेहनतिले हो मह निकाल्ने महोदय
मौरी मह भरे झैँ चुनुछ यो दुनियाँमा
आकाशका ती तारा छुनुछ यो दुनियाँमा ।

टिकाराम पुन पुकार

पञ्चाङ्ग १३

मह खान पाइन्छ मीठो मौरी पाल्न सके
प्रगति हुन्छ मौरीले झैँ अल्छी फाल्न सके
सानो छ त्यो मिहिनेत गर्ने पाठ सिकायो
बस्छन् सुरक्षीत घारमा राम्रो टाल्न सके
भाँडा कुँडा बनाइन्छ मैन पगाल्न सके ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग १४

कर्मी मौरी झैँ हामीले पनि कर्म गर्न सक्नु पर्छ
कसैको आसा नगरी रस लिन चर्न सक्नु पर्छ
आआफ्नो कर्तव्य के हो पाठ सिकाउँछ माहुरीले
निस्वार्थ भई चाकामा शुद्ध मह भर्न सक्नु पर्छ
मह सङ्कलन जस्तै विकासमा मर्न सक्नु पर्छ ।

सुरेश चन्द्र घिमिरे
कपन

पञ्चाङ्ग १५

मौरीको एकतामा बल हुन्छ
जस्तै अफ्ठ्यारोमा नी फल हुन्छ
रानो बिना बस्दैनन् उनीहरू
आपस्मा न कसैको छल हुन्छ
न त फिटिक्कै कुनै कल हुन्छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १६

एकता माहुरीबाट सिक्नु पर्छ
स्वाभिमान पैसाबाट बिक्नु पर्छ
आफैँले आफैँमा छुरा रोप्ने बानी
सिद्धान्त आदर्शबाट टिक्नु पर्छ
यत्न मह घारबाट झिक्नु पर्छ ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १७

झरनाको जल जस्तो
अनुपम पल जस्तो
योभन्दा ठुलो के होला
एकतामा बल जस्तो
पसिनाको फल जस्तो ।

– आर्त अकुलीन

पञ्चाङ्ग १८

कति मिहिनेतले मौरीले घर बनायो होला
भएभरको बुद्धि,शक्ति मिलेर खनायो होला
एक भन्दा अनेकतामा कति ठूलो शक्ति हुन्छ
भन्दै एकअर्कालाई बुझाउँदै जनायो होला
मह प्राप्त पछि खुसी बाड्दै पर्व मनायो होला ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १९

अथक काम सहित हृदयमा बसेको राम्रो
अनेत्र होइन आफ्नै कर्तव्यमा फसेको राम्रो
माहुरी हुन् धर्तीका कर्मशील,परीश्रमी,योद्धा,
महको मिठास जस्तै मस्तिष्कमा पसेको राम्रो
मह एकत्रित गर्न कणकण कसेको राम्रो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग २०

मौरी जस्तो परिश्रमी भएर काम गर्नु पर्छ
घारमा मह भरेझैँ घरमा धन भर्नु पर्छ
मेहनत नगरे आउँदैन धनदौत यहाँ
मह खोज्न जाँदा मौरीले फूलभित्र मर्नु पर्छ
फूल नहुँदा मौरी पाल्न चीनीपानी छर्नु पर्छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग २१

माहुरी झैँ मानव नी जुट्न सकेदेखि
बटुलेर एकै ठाऊँ खुट्न सकेदेखि
बेभिचार बेथितीले सिमा नाघ्ने थेन
आफन्त र नातावाद छुट्न सकेदेखि
सबै मिली भ्रष्टाचारी कुट्न सकेदेखि ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग २२

सानो बच्चो हुर्केपछि ठिटो हुन्छ
पाँजो जम्मा गर्न सके बिटो हुन्छ
मौरीबाट सिक्नुपर्छ मानिसले
मिलेर काम गरेमा छिटो हुन्छ
परिश्रमको फल त मीठो हुन्छ ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग २३

माहुरीले गुण लाएछ बाहिर बाहिरै चाका रहेछ
गुन्गुन् गुन्गुन् गरेर गाउने उसकै मीठो भाका रहेछ
सत्य रहेछ परिश्रमको फल मह जस्तै मीठो हुने
मौरी बसेको घर पनि त चट्ट मिलेको खाका रहेछ
हेरचाह गर्दै गर्नु मलसाप्रो मौरीको डाका रहेछ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग २४

मौरीको जस्तो एकताको छानो बनेर हेर
थोपा थोपा जोड्दै गरि मानो बनेर हेर
मेहनत गरेपछि फल पाइन्छ पक्कै
मान्नेछन् तिमीलाई नि रानो बनेर हेर
खुकुरिको चोट भोग्ने अचानो बनेर हेर ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग २५
मौरीले घार भित्र सधै मह मात्र त भर्नु छ
मौरी जस्तै परिश्रमी भएर काम गर्नु छ
सबैभन्दा मिहिनेती किरा भए पछि होला
मह खोज्ने बेला मौरीले फूलभित्र मर्नु छ
फूलको रसको लागी त साथ समुद्र तर्नु छ ।

श्रीकृष्ण धामी – देउलेख – बझाङ


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...