Monday 29th April 2024

चित्रमा पञ्चाङ्ग, भाग – १०१


चित्रमा पञ्चाङ्ग
===========
भाग: १०१
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/११/१६
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एक सय एक शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

लुट्न पर्दैन थियो कि यस्तै रुख रोप्न पाए
बिउ होस् या केर्ना एक पल्ट हात चोप्न पाए
अख्तियार चाहिँदैन थियो पैसा फलेदेखि
छिमेकीकै भएपनि अङ्कुसेले घोप्न पाए
आफ्नै बनाउन हुन्थ्यो कसैगरी छोप्न पाए ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २
रुखमा पैसाको फल आए छ
अरुको दिनमा बल आए छ
समय एकनासको छैन खै
सधैंका लागिका हल आए छ
रूखमा पैसाको छल आए छ ।
: श्रीकृष्ण धामी – बझाङ

पञ्चाङ्ग ३

न मनमा पीडा न कुनै चोट गजब हुन्थ्यो
न चोरीको आरोप नत खोट गजब हुन्थ्यो
सारा गरिबी हटेर जान्थ्यो संसारबाट नै
हुने भए यस्तै पैसाको बोट गजब हुन्थ्यो
फल्ने भए यसरी नोटैनोट गजब हुन्थ्यो ।

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ४

यहाँ रुखमा नि पैसाको फल हेर
अनि पैसा हुँदा आएको बल हेर
यस्तै पैसा बोटमा फले संसारमा
सबैमा नै खुसी छाएको पल हेर
हुदैन निस्वार्थमा कुनै छल हेर ।

दुर्गा भट्टराई

पञ्चाङ्ग ५

मान्छेसँग प्याच्च बोल्ने मुख हुने होला
बिदेशमा पैसा फल्ने रुख हुने होला
सुन फल्ने पैसा फल्ने रुख भए जस्तो
सम्झिएर कल्पेका छन् सुख हुने होला
यथार्थमा बुझ्नु कति दुख हुने होला ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ६

के कसैको खोट हुन्न
हृदयमा चोट हुन्न
पैसा पैसा भन्छ मान्छे
भने जस्तो नोट हुन्न
रुपैयाको बोट हुन्न ।

– आर्त अकुलीन

पञ्चाङ्ग ७

देश बनाउने पवित्र राजनीति नेतृत्वमा देखिन्छ खोट किन २४
सधैँ देशमा थपिएको छ ऋण भार सबैको आँखामा नोट किन
नैतिकता र अनुशासन पुस्तकका पन्नाको मात्र शृङ्गार बन्यो
सुशासन प्रत्याभूति दिने अग्रगमन निम्छरो दिने चोट किन
आदर्श सिद्धान्त विपरित गोलबन्दी जनताको लिने भोट किन ।

प्रद्युम्न चालिसे

पञ्चाङ्ग ८

बिदेश जाने भनेपछि केटाको हाउभाउ बेग्लै हुन्छ
फुर्तिफार्ती सानो हुँदैन उता दलेको दाउ बेग्लै हुन्छ
बोटमै फलेको पैसा टिप्न जाने जस्तो सम्झन्छन् सबैले
यता बुढीको पनि बदलिहाल्छ लाउखाउ बेग्लै हुन्छ
तर परदेशीको देख्दैनन् है मुटुमा घाउ बेग्लै हुन्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ९

सम्पत्ति जोर्न नी सुख कहाँ छ र
बसी बसी खाँदा दुःख कहाँ छ र
छपाउँछ नो सिक्का मेशिनले
धन पैसा फल्ने रुख कहाँ छ र
ल्याउ भन्दा दिने मुख कहाँ छ र ।

सूर्य गिरी पोखरा ।

पञ्चाङ्ग १०

नोटमाथि नोट फल्ने बोट कहाँ होला
यति धेरै नोट राख्ने कोट कहाँ होला
मैले पनि लगाएको थिएँ यस्तै बोट
फलेन पैसा कहिल्यै खोट कहाँ होला
आशाहरू मरि गए चोट कहाँ होला ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ११

एस्तै पैसाको बोट भए ढाँरे खेत किन खनिन्थ्यो
सपना नभई बिपनामा हातमा पैसा गनिन्थ्यो
सपना पूरा गर्न मुना मदन पर्दैन्थ्यो छुट्टिन
यहीं हावालाई छेक्न वारबार गरेर थुनिन्थ्यो
रुख भय त धितो राखी गभर्नर किन चुनिन्थ्यो ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग १२
१.
पैसाको फलमा भर पर्नेहरू
अरुकै बलमा भर पर्नेहरू
सबै कुरामा एकैनास सम्झन्छन्
अनित्य हलमा भर पर्नेहरू
सदैव छलमा भर पर्नेहरू ।
२.
सबै चल्नका लागि धनले मात्र हुँदैन
मेल नभए आफ्नो पनले मात्र हुँदैन
सबैमा पैसाको मात्र आडम्बर छ भने
लक्ष्यमा पुग्नलाई तनले मात्र हुँदैन
सद्भावमा एकल मनले मात्र हुँदैन ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

धनले छोयो प्रकृतीलाई रूख पनि धन बन्यो
सुन चाँदीको समाज भित्र यस्तो रनबन बन्यो
मानवता बिहिन छ मानव समाज हिंजोआज
सबैमा धन कमाउँने रमाउँने लगन बन्यो
रूख बनेछ डालर र त सबैको मिलन बन्यो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १४

पैसाको रुख भए सङ्घर्ष कसले गर्थ्यो होला
दुःखीहरु पनि आफ्नो दुःख सजिलै भर्थ्यो हाेला
फल लागे जसरी नोट फल्ने सपनामा मात्र हो
सारा मानव कर्म छाडेर यता नै सर्थ्यो होला
जनावर पनि अचम्मित भएर चर्थ्यो होला ।

शोभा आचार्य गौतम
काठमाडौँ

ञ्चापङ्ग १५

प्रभुको चरित्रबाट छुटिएको परिहास
दुखिको जीविकाबाट लुटिएको परिहास
अहिले प्रविधिको कलाले पुर्ण गरिदियो
त्यो निर्धाको खुसीबाट टुटिएको परिहास
त्यै दैवको हातबाट चुटिएको परिहास ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १६

लौ पैसै पैसाको बोट हेर
तल ढक्का माथि नोट हेर
रूख भरी पैसा फले पनि
भित्र अदृश्य छ चोट हेर
गनी नसकिने खोट हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १७

मैले सपनामा पैसा फलेको देखेको छु
त्यही रुपैयाँ आगोमा बलेको देखेको छु
कसरी पूरा हुन्छ हाम्रो सपनाका कुरा
हावा बहेपछि पात चलेको देखेको छु
रुपैयाँ सपनामा नि जलेको देखेको छु ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १८

रुखमा पैसाको चाङ फल्ने भए
तेल बिनाको दियालो बल्ने भए
भ्रष्टाचार हुन्नथ्यो नेपालमा
पैसा बिना व्यबहार चल्ने भए
चाहनाले सरकार ढल्ने भए ।

तारा घिमिरे स्वेच्छा सङ्खुवासभा

पञ्चाङ्ग १९

असमानको मैदान खारेर हेर्थे
सबैको खुसीको लागि हारेर हेर्थे
सम्बन्धलाई व्यापार झैँ मान्नेहरू
मिल्ने भए पैसा रुख सारेर हेर्थे
पेेेैसा भन्नेलाई छक्क पारेर हेर्थे ।

संगीता खरेल
काठमाडौँ

पञ्चाङ्ग २०

पैसा फल्ने रूख हुन्छ भनेजस्तै गर्छन्
मट्किलाकाे माटाे हो र खनेजस्तै गर्छन्
सापट माग्छन् भाेलिपल्ट फर्काउने भनी
कराेडाैँ छ दिनदिनै गनेजस्तै गर्छन्
घरघरै पैसे मेसिन बनेजस्तै गर्छन् ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग २१

विदेशमै डलर छ
रुखको क्या कलर छ
पैसाको रुख रहेछ
पेँलो पाकी फलर छ
छेउछाउ जलर छ ।।

धनमाया चौधरी कैलाली


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...