Sunday 26th July 2026

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदै


आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहेको छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहेको छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने र पूजा आराधना गर्ने गर्दछन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्दछन् ।

बुधबार देशभरका शैक्षिक संस्था र प्रतिष्ठानहरुमा सरस्वतीको पूजा आराधना गर्ने कार्यक्रमहरु रहेका छन् । यो दिन विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले पठन पाठन भन्दा पनि सरस्वती पूजा गरी प्रसाद ग्रहण र अन्य अतिरिक्त क्रियाकलापहरु गराउने गर्दछन् ।

यो दिनबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास रहेको र सोही आधारमा वसन्त पञ्चमी भन्ने गरिएको लोकोक्ति छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...