Monday 27th January 2025

तस्बिरमा पञ्चाङ्ग, भाग – ९५


तस्बिरमा पञ्चाङ्ग
===========
भाग: ९५
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०९/२५
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पञ्चान्नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा संरक्षक गुरु वेदविज्ञ तिलकप्रसाद लुइटेलको बारेमा गहन र उहाँलाई अमर बनाउन सकिने आफ्नो भाव झल्किने मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ । यी पञ्चाङ्ग स्मृति ग्रन्थमा समावेशका लागि पनि पठाइने छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
नेपाली शब्द र साहित्यको भण्डार भर्नु भएको छ
आवश्यकता परी, स्वर्गमा ठाउँ सर्नु भएको छ
चिरञ्जीवी त को छ यो संसारमा, ध्रुव सत्य छ मृत्युु
भानुभक्त बिर्साउने गर्नु विधि नै गर्नु भएको छ
आफ्नो नाम अजर अमर गरेर मर्नु भएको छ ।

भावनामा डुबेँ आज रुन देऊ मलाई
कल्पनामा भए पनि छुन देऊ मलाई
बगाउँछु आँसु रुन्छु धित मर्ने गरी म
तिर्छु साटो, बस तिम्रो हुन देऊ मलाई
फर्किएर आई एक गुन देऊ मलाई ।

पीडाहरू सल्बलाउँछन् यता मुटु दुख्छ सधैँ
भावनामा पैरो लाग्छ ओठ र मुख सुक्छ सधैँ
भासिए झैँ लाग्छ मलाई पृथ्वीमा पाइला पनि
चोट माथि चोट पर्दा हृदयमा लुस्छ सधैँ
जति होऊन् भिड यहाँ मन त एक्लो हुन्छ सधैँ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २

प्राणीजगतमा प्रीति सबैसँग गढाए राम्रो
संसारमा यसै गरी सुनाम कढाए राम्रो
मानिस जन्मलाई सफल नै पार्नु पर्दछ
प्रभु मिलन पथमा कदम बढाए राम्रो
जीवन रह्दा प्रभुमा फूल चढाए राम्रो ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ३

साहित्यका त जरी हौ तिमी
सदाबहार झरी हौ तिमी
दन्त्य लहर मुस्कान तिम्रो
लेख्य शैलीको खरी हौ तिमी
निर्मल जल सरी हौ तिमी ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

नेपाली साहित्यमा ठूलाे योगदान दिनु भयो
संसार भरी पञ्चाङ्गको पहिचान दिनु भयो
जन्मे पछि मृत्यु स्विकार्नु पर्ने हरेक प्राणीले
सम्पूर्ण साहित्यकारलाई सम्मान दिनु भयो
धर्तीमा साहित्यकारको छुट्टै सान दिनुभयो ।

दुनियाँले सम्झी रहने बाटो बनाएर जानु भयो
साहित्यकारको इतिहासमा जनाएर जानुभयो
नाम कमाउनुछ संसारमा सबै भन्दा ठुलो कुरा
पञ्चाङ्ग साहित्यका ठुला गुरु भनाएर जानु भयो
नेपाल र नेपालीका बीच माया खन्याएर जानु भयो ।

तारा घिमिरे स्वेच्छा सङ्खुवासभा जिल्ला
खांदबारी नगरपालिका ३ मानेभञ्ज्याङ

पञ्चाङ्ग ५

आयो टपक्कै टिप्यो के गर्नू
लगेर उतै खिप्यो के गर्नू
साह्रै निष्ठुरी रहेछ काल
लिएर दूर छिप्यो के गर्नू
नमिट्ने गरी लिप्यो के गर्नू ?

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ६

अति मिठास बोली थियो
बोलीमा फेरि लोली थियो
मार्ग दर्शक भएकोले
ज्ञानको लागि झोली थियो
अर्जुन दृष्टि गोली थियो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ७

स्थापित काल सङ्घर्ष गर्दै सिकायौ पञ्चाङ्ग
हौसला दिई काँधमा बोक्दै विकायौ पञ्चाङ्ग
पञ्चाङ्ग नाम न्वारन गर्दै सल्लाह दिएर
सबैको मान्य नियम राख्दै झिकायौ पञ्चाङ्ग
सहज लेख्न स्रष्टामा आज टिकायौ पञ्चाङ्ग ।

साहित्य जग बनाइ उचा कामले चम्कियौ
ढल्नमा रोक्ने साहित्य खम्बा थामले चम्कियौ
वेद र शास्त्र अनुवादले चिनियौ समाज
रविको झुल्का वेदान्ति भई यामले चम्कियौ
अमर भयौ मनमा रह्यौ नामले चम्कियौ ।

सुरेश चन्द्र घिमिरे
कपनब

पञ्चाङ्ग ८

सपना जस्तो लाग्दछ आज ती दिन सम्झदा
खुशीले हामी बसेका सङ्गै ती छिन सम्झदा
कालले पनि राम्रा नै छानी लग्यो त्यो स्वर्गमा
ऑखामा ऑसु भरिन थाल्छ खै किन सम्झदा
मान्दैन मन अझै नि स्वर्गीय लिन सम्झदा ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ९

विगतका ताजा पल सम्झेपछि
सिर्जनामा ठुलो बल सम्झेपछि
आज सपनाझैँ लागिरहेको छ
निर्मल सुधा र जल सम्झेपछि
वेदको सुनौलो फल सम्झेपछि ।

– आर्त अकुलीन

पञ्चाङ्ग १०

पत्याउनै गाह्राे हुन्छ किन
यी कानले यस्तै सुन्छ किन
चार वेदका नेपाली गुरु
छट्पटिले जाल बुन्छ किन
सम्झँदा यो मन रुन्छ किन?

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ११

बाटो बनाउँदै पानी बहन्छन् सधैँ
पानी सुकेर बगर रहन्छन् सधैँ
मानवलाई चेतना सिँन्चित गरेर
उर्वरता विद्वानले कहन्छन् सधैँ
आपद विपद काल सहन्छन् सधैँ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १२

हँसिलो र रसिलो त्यो औधी सुन्दर मिठास थियो
असामयिक मृत्यु दिने कुनचाहिँ पिसाच थियो
सपरिवार र इष्टमित्र कति रोए कति यहाँ
मधुर सत्य शुद्ध वाणी पक्का तिम्रो हिसाब थियो
वेदविज्ञ तिलक गुरू साहित्यमा निसाफ थियो ॥१॥

साथमा केही लगेनौ त तिम्रा धेरै किताव थिए
फोनमा केही भन्दैनौ त हाम्रा अझै हिसाब थिए
बिउँझिएर फेरि आऊ साहित्यमा दखल दिन
हाँस्ने बोल्ने रमाउने तिम्रा सुन्दर मिठास थिए
वेदविज्ञ तिलक गुरू हामी बिच निसाफ थिए ॥२॥

तिम्रा सुन्दर कृतिहरू अमर रही रहनेछन्
भावी सन्तानहरूले सबै पढ्दै सुन्दै कहनेछन्
अमर सत्यलोक जाऊ र बैकुण्ठमा बास गर
साहित्य क्षेत्रमा तिम्रै बाटो पैल्याएर बहनेछन्
इष्टमित्र र परिवारले पिर चिन्ता सहनेछन् ॥३॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १३

धेरै बाँच्ने रहर हुँदाहुँदै छुटायो दैवले
हामी सबैका आँसुको मूल नै फुटायो दैवले
राम्रा मानिस प्रति दैव निष्ठुरी बनेर यहाँ
चार वेद्का अबल ज्ञातालाई उठायो दैवले
हामीबाट अचानक सम्बन्ध टुटायो दैवले ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १४

उहाँको त्यो हँसिलो अनुहार सम्झिदा
बाचन गर्ने कविताको सार सम्झिदा
सम्झनाले मन विचलित गराउँछ
नेपाली वेदमा गुनको भार सम्झिदा
गुरु देहावसान, हुने मार सम्झिदा ।

शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १५

छानीछानी पापी कालले गुरुलाई नै टिपि दियो
कमाएको मान मर्यादालाई भुइँमा लिपि दियो
दैवको आँखा पछाडि हुन्छ भन्नेमा साबुत भयौ
सदाका लागि यो संसारबाट खोसेर छिपि दियो
दाउ पारेर सोच मिलाएर आयु नै खिपि दियो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १६

कर्तब्य सर्जकले अमर तिलकको नाम भोलि
चारैतिर फैलियोस् कृतिले उहाँ संगै काम भोलि
साहित्य बेद बेदान्त चिन्तन सत्य रुचि राखेर
स्रष्टा न्याय दिदै अमरत्व पाउन् जस्तै राम भोलि
मानौ ज्ञान गुरु जानू छ सबै परम धाम भोलि ।

गणेश पौडेल
कालिका ६ चितवन ।

पञ्चाङ्ग १७

सरल व्यबहारको नाम नै काफी थियो
हाम्रोलागी गरिएको काम नै काफी थियो
अभिवाक भएर नै बामे सर्न सिकायौ
संरक्षक नाम अनि ठाम नै काफी थियो
पञ्चाङ्गमा बसेको त्यो डाम नै काफी थियो ।

सोमनाथ लुइटेल ” रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १८

जति दिन बाच्नु भयो साहित्यको लागि नै गरेर जानु भो
आभारी छौं गुरु हाम्रो मस्तिष्कमा केही त भरेर जानु भो
जति नै पत्यार नलागे पनि आखिर उहि रहेछ सत्य,
संसारलाई पत्यार छैन अझै हजुर मरेर जानु भो
बग्यो आशु साराको हजुर भव सागर तरेर जानु भो ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग १९

चार वेद ज्ञान गङ्गा गोडेर गयौ
सिक्नु थियो धेरै कुरा छोडेर गयौ
गुरु गयौ बादल पारी कहाँ भेट्नु अब
निष्ठुरी भई मुटु यो तोडेर गयौ
छुट्टिएर बिच बाटो मोडेर गयौ ।

सुधा बाँस्कोटा ढकाल

पञ्चाङ्ग २०

बाबाआमा छुट्दा पनि रोइन यति धेरै
मन पोल्यो आँसुले मुख धोइन यति धेरै
हामी सबका प्यारा बनी मनमन छायौ
ज्ञान दीप बाल्ने कोही होइन यति धेरै
सादगी त्यो हाँस्ने चित्र छोइन यति धेरै ।

आकाश खस्यो हामीबिच, तारा खसेको छ
नियतीले अनायासै हाम्लाई डसेको छ
बेमौसमी हुरी आई तन उडाई लग्यो
सास फेर्नै गाह्रो भयो घाँटी कसेको छ
तीन करोड नेपालीको मनमा बसेको छ ।

ताते ताते गरी गरी हिँड्न सिकाएर
पञ्चाङ्गको नाम दिई हाम्लाई बिकाएर
छहारीझैँ बन्नुभयो घामपानीभरि
वेदविज्ञ हाम्रा गुरु नाम टिकाएर
उत्साहले भर्नुभयो साहस झिकाएर ।

चन्द्रावती अधिकारी
कोहलपुर बाँके ।

पञ्चाङ्ग २१

जुन दिनदेखि विश्वास नलागेर खबर धर्मरायो
त्यही दिनदेखि मेरो उठ्दै गरेको रहर धर्मरायो
हार्दिक श्रद्धाञ्जली छ आदरणीय संरक्षकज्यूलाई
सूर्यका किरणहरू मलिन हुँदा सफर धर्मरायो
हात थर्थरायो , गुरुको सम्झनामा , अधर धर्मरायो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग २२

कपट गरि लैजानलाई कति पटक धायो होला
अदृश्य रूपमा कताबाट कस्तो रूपमा आयो होला
बाँकी थियो गर्नुपर्ने मार्गनिर्देशन नयाँ पुस्तालाई
प्रतीभाको धनी देख्दा यमराजले खुशी पायो होला
कठै त्यो कोमल शरीर कसरी आगोले खायो होला ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग २३

फेर्नलाई ठेगाना फेर्नलाई हाल किन आउँछ होला
मचाउँनलाई बारम्बार ठूलो बबाल किन आउँछ होला
खास किन हो राम्रो मान्छेलाई छानीछानी लिनेगर्छ
यो निष्ठुरी दैब अनि पापी काल किन आउँछ होला
सह्रा भिजीयो आँसु पुछ्दा रुमाल कीन आउँछ होला

खाता कुईएको कपडा जस्तै फाटेर जानु भयो
भन्नुहोस् हजुरले मनमा के आँटेर जानु भयो
कस्तो निरनयगरी आजयो सँसार छोडेर
अचानक स्वर्गमा बसाई साटेर जानु भयो
व्यर्थै भोलि भेट्न आउँछुभनि ढाँटेर जानु भयो ।

मनोज राना सल्यानि
बन्गाड कुपीण्डे ३ सल्यान ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र…

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

प्रतिकृयाहरू
...