Monday 27th January 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय बाह्र भाग (११२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०९/२३
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफूखुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

भावनामा डुबेँ आज रुन देऊ मलाई
कल्पनामा भए पनि छुन देऊ मलाई
बगाउँछु आँसु रुन्छु धित मर्ने गरी म
तिर्छु साटो, बस तिम्रो हुन देऊ मलाई
फर्किएर आई एक गुन देऊ मलाई ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

चारैतिरबाट अताउनुको अर्थ के हुन्छ
सामूहिक त्रास लगाउनुको अर्थ के हुन्छ
अन्तिमसम्म लोभीहरूले मौका हेर्दा पनि
आमाले साथमै समाउनुको अर्थ के हुन्छ
बलियो आधार बनाउनुको अर्थ के हुन्छ ?
प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ३

रहेन शेष त्यो हित जीवनको
हरायो खुसीको गित जीवनको
बिलायो कता त्यो कान्ति मुहारको
वेदना नै भयो मित जीवनको
अन्त नै रहेछ थित जीवनको ।

टीकाराम जोशी, इमाडोल ।

पञ्चाङ्ग ४

बुझ्न गाह्रो छ यो चाल कस्तो
विचित्र देशको हाल कस्तो
नेतृत्व कमजोर भएर
लथालिङ्ग हेर ताल कस्तो
हेरौँ न हुन्छ यो साल कस्तो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग ५

धुर्की लाउने बानी तिम्रो
चाल ढाल छ रानी तिम्रो
भनम त के भनम है
बुझ्नै कठिन आनी तिम्रो
रिसको पोको सानी तिम्रो ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ६

पञ्चाङ्गमा पनि मधुर रस भेटेको मैले
एक पछि अर्को लेखेर इच्छा मेटेको मैले
जति लेख्यो उति नै धेरै लालसा बड्दै जान्छ
अनुप्रास मिलाउन दिमाग रेटेको मैले
मिलेपछि एकाएक पञ्चाङ्ग झेटेको मैले ।

अच्युत घिमिरे, सर्पाङ, भुटान पञ्चाङ्ग
पचाङ्ग ७

सक्तैनौ भने बार नलगाउ जिन्दगीलाई
बल गरेर हार नलगाउ जिन्दगीलाई
छुट्न सक्दछ तिम्रो मेरो प्रेम भित्रको गाँठो
अचानो माथि मार नलगाउ जिन्दगीलाई
काट्न सक्दछ धार नगलाउ जिन्दगीलाई ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ८

जोखिम कसले मोल्छ यहाँ
जो पनि बिषादी घोल्छ यहाँ
सत्य वचन बोल्नै आउँदैन्
सुन्यो कि मन पो पोल्छ यहाँ
भन्नुस्त साँचो को बोल्छ यहाँ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ९

देशभित्र दनदनी आगो जलेको छ
मन मष्तिकभित्र खञ्जर चलेको छ
युवा विहिन भयो छैनन् मलामी पनि
झन पछि झन स्वाभिमान ढलेको छ
यो दिश्य देगेर आफ्नु मन गलेको छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १०

सत्ता छ शक्ति छ आफ्नै हातमा जेजे गरे पनि हुन्छ
लोकतन्त्र छ जिन्दावाद जनता त मरे पनि हुन्छ
जनता र भेडामा केही फरक छैन हाम्रो देशमा
भेडा होस् या मान्छे मारेर दस लाख भरे पनि हुन्छ
राज्य हाम्रो पशु भइसक्यो अब त चरे पनि हुन्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ११
हातेमालो गरेपछि चुनौती पनि सजिलो लाग्ने रहेछ
कहिलेकाहीँ केही ठोस विषय गिलो न गिलो लाग्ने रहेछ
उकालोमा कसैको हात राम्रोसँग साथ दिने भएपछि
आएका जति छन् दुःख पीडा वेदना ओसिलो लाग्ने रहेछ
बानी बदलेर लत बस्छ अनि पो स्वादिलो लाग्ने रहेछ ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग १२

यता उता सबै तिर हेर्दा
सबैका उस्तै छन् पीर हेर्दा
जे जस्तो भएपनी स्विकार्नु
नरुनु उस्को तस्विर हेर्दा
हँसिलो देख्नु बाहिर हेर्दा ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग १३

समय साल अनौठो
निर्दयी काल अनौठो
अथाह पीडा वेदना
चुहिने पाल अनौठो
गरिबी हाल अनौठो ।

– आर्त अकुलीन

पञ्चाङ्ग १४

आपसी समझदारी नभएर टुटेको मन नराम्रो
एकोहोरो स्वार्थमा कसैलाई लुटेको मन नराम्रो
आशा र विश्वासमा जीवनको गति अघि सर्दछ
आत्मिय-मिलननै नपाइकन छुटेको मन नराम्रो
अहंकारमा मत्तभई सबैसँग फुटेको मन नराम्रो ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी ।

पञ्चाङ्ग १५

नराम्रो लाई राम्रो बनाई सजाउने बानी तिम्रो
ललाईफकाई अरुलाई कजाउने बानी तिम्रो
विवेक शिल मान्छेको त अक्कल भने मान्नै पर्छ
आफू भन्दा ठूलाको अगाडि लजाउने बानी तिम्रो
पर गएसी एक अर्कामा बजाउने बानी तिम्रो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १६

रुन्छ यो मन सम्झिएर कुनै पल
ढल्छ दिन आँसु पिएर कुनै पल
म अधकल्चो बनेर बाँच्नुपरेको
तिमिलाई मन दिएर कुनै पल
गएकी हौ मुटु लिएर कुनै पल ।

रतन बिष्ट _आलिताल, डडेल्धुरा

पञ्चाङ्ग १७

नेताले पाइलै पिच्छे जनतालाई छलेको छ हजुर
सडक सडक हिजोआज आगो जलेको छ हजुर
सर्टिफिकेट संग पासपोर्ट साट्नुपर्ने बाध्यता छ
युवाको सपना पलभरमानै गलेको छ हजुर
शान्तिपुण आन्दोलनमा जनता ढलेको छ हजुर ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र…

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

प्रतिकृयाहरू
...