Saturday 6th June 2026

पीआर लिएर सन् २०२३ मा कुन कुन देशमा कति नेपाली पुगे?


बीबीसी न्यूज नेपाली बाट-अघिल्लो वर्ष स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका झन्डै ७१ हजार मानिसहरू १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ।
नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ।
अध्यागमन विभागका अनुसार सो हैसियतमा यात्रा गर्ने पुरुषहरूको सङ्ख्या महिलाभन्दा करिब २५ सयले बढी छ।
स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एशियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।
स्थायी रूपमा नै मुलुक छाडिरहेका नेपालीहरूको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्याङ्क सार्वजनिक गरेको अधिकारीहरू बताउँछन्।
पीआर लिएका कति नेपाली बाहिरिए?
स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ।
त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ। त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन्।
उक्त सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएको देखिन्छ।
२६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएको तथ्याङ्कले देखाउँछ। क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ।
नेपालमा खाली पाइएका झन्डै पाँच लाख घरका मानिस कहाँ गए?
जनगणना नेपाल २०७८: जनसङ्ख्या वृद्धिदर किन घट्यो, यो चिन्ताको विषय हो कि हैन
उक्त आँकडा अनुसार झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।
नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशका पीआर रहेका पनि उक्त विवरणमा उल्लेख छ।

अस्थायी यात्रा अनुमतिपत्र लिएर उल्लेख्य सङ्ख्यामा नेपालीहरू जापान पुगेका छन्
केही सय र दर्जनको सङ्ख्यामा नेपालीहरू ठूलो सङ्ख्यामा नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका कतारदेखि साउदी अरेबियासम्मका देशमा स्थायी बसोबासको अनुमतिपत्रसहित ती देशमा गएका छन्।
चीनमा १०६ जना, ताइवानमा ३६ जना र मकाओमा २० जना नेपालीहरू पीआरसहित त्यहाँ सन् २०२३ मा पुगेका थिए।
अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले स्थायी बसोबासको अनुमतिपत्रसहित बाहिरिने नेपालीको वार्षिक सङ्ख्या सन् २०२३मा पहिलो पटक सार्वजनिक गरिएको बताए।
उनले भने, “विगतमा यस्तो अभ्यास रहेनछ। लाखौँको सङ्ख्यामा नेपालीहरूले स्थायी रूपमा नै देश छाडिरहेका भन्ने चर्चाहरू चल्ने गरेकाले वास्तविकता के हो भन्ने देखाउन हामीले यसरी तथ्याङ्क निकालेर सार्वजनिक गरेका हौँ।”
दाहालले स्थायी बसोबासको अनुमति लिएर बाहिरिनेहरूले नेपालको नागरिकता त्यागीसकेको पनि बताए।
अध्यागमन विभागका अनुसार सन् २०२३ मा २ लाख ४ हजारभन्दा बढी नेपाली पर्यटनको उद्देश्यसहित विदेश गएका थिए। पीआरसहित विभिन्न प्रयोजनले नेपालबाट बाहिरिने नेपालीहरूको सङ्ख्या १६ लाख ०३ हजारभन्दा बढी थियो।


सम्बन्धित शीर्षकहरु

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने…

प्रतिकृयाहरू
...