Thursday 18th June 2026

लिबियामा डुंगा डुब्दा ६० आप्रवासीको मृत्यु भएको आशङ्का


एजेन्सि- लिबियाको एउटा तटमा डुंगा डुब्दा कम्तीमा ६० आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले बताएको छ ।

आईओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको छ, ‘लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुंगा उच्च छालहरूका कारण डुबेर मृत्यु भएको विश्वास गरिएको छ ।’

जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आइओएमले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ,’ आईओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आइओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा भनिएको छ ।

इटाली हुँदै युरोप पुग्ने अपेक्षामा खतरनाक सामुद्रिक यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिसिया प्रमुख प्रस्थान विन्दु हुन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आईओएमका अनुसार यस वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् ।

इटालीका अतिदक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अवैध आप्रवासन रोक्ने वाचा गरेपछि गत वर्ष निर्वाचन जितेका थिए । मेलोनीको कट्टर–दक्षिणपन्थी सरकारले उत्तरी अफ्रिकाबाट खतरनाक सामुद्रिक यात्राको प्रयास गर्ने मानिसहरूलाई बचाउने परोपकारी जहाजहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउन धेरै उपाय लिएको छ ।

अवैध आप्रवासनसँग सामना गर्ने उनको दृष्टिकोणलाई शनिवार रोमको भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि प्रशंसा गरेका छन् । दुवै नेताले आ–आफ्ना मुलुकका तटहरूमा आप्रवासी डुङ्गाहरूको अवतरणलाई रोक्ने र मानव तस्करहरू विरुद्ध लड्ने प्रयासलाई तीव्रता दिइने वाचा गरेका छन् ।

संयुक्त राष्ट्रसंघले केन्द्रीय भूमध्यसागरीय आप्रवासन मार्गलाई संसारको सबैभन्दा घातक मानेको छ । उक्त मार्गबाट प्रत्येक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ । आईओएमका प्रवक्ता फ्लाभियो डि जियाकोमोले शनिवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस वर्ष केन्द्रीय भूमध्यसागरीय मार्गमा दुई हजार दुई सय ५० भन्दा बढीको मृत्यु भएको छ, यो नाटकीय तथ्यांकले समुद्रमा जीवन बचाउनका लागि पर्याप्त काम भइरहेको छैन भन्ने देखाउँछ ।’

लिबियाबाट इटाली हुँदै सात सय ५० सवार माछा मार्ने डुङ्गा एड्रियाना जुन १४ मा दक्षिणपश्चिम ग्रिसको अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुबेको थियो । उक्त दुर्घटनामा बाँचकेकहरूका अनुसार डुङ्गामा मुख्यरूपमा सिरियाली, पाकिस्तानी र इजिप्टेली सवार थिए । तीमध्ये एक सय चार जना मात्र बाँच्न सफल भए भने ८२ शव फेला परे ।

नाटो समर्थित विद्रोहमा लिबियामा तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताच्यूत गरी हत्या गरिएपछिको एक दशकभन्दा धेरै समयदेखि जारी हिंसाले मुलुकलाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिणत गर्न समेत सहयोग गरेको छ ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...