Monday 12th January 2026

इलाम-२ मा को ?


इलाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्रभित्रै सुरु भएको राजनीति नेम्वाङको १३ दिने काम पछि खुलेरै देखिन थालेको छ ।

उपनिर्वाचन मिति तय नभए पनि निर्वाचनलाई ध्यानमा राख्दै नेताहरूको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै नेपाली कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरूको आँकलन र चर्चा सुरु भइसकेको छ ।

२०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेम्वाङको निधनपछि उनको कार्यभार पूरा गर्न उनका कान्छा छोरा सुहाङको चर्चा निकै छ ।

राजनीतिमा त्यति सक्रिय नभए पनि बाबुकै बिडो थामेर अधिवक्ता बनेका सुहाङ सुवासचन्द्र नेम्वाङको उत्तराधिकारी बन्न सक्ने तर्क पनि बलियो बन्दै गएको छ । बाबुको निधनपछि उनले बाबुको सपना पूरा गर्न आफू जिम्मेवार बन्ने भन्दै इलाममा आएर भाषण पनि गरिसकेका छन् ।

बाबुको बिडो थाम्न सुहाङलाई उनको उत्तराधिकारी बनाइनुपर्ने विचार व्यक्त भइरहँदा राजा फालेर ल्याएको लोकतन्त्र नेताको घरभित्रै चल्ने हो भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा नआएका होइनन् ।

बाबुजस्तै शालिन सुहाङलाई बाबुको बाँकी रहेको कार्यभार पूरा गर्ने जिम्मेवारी दिएर जानेमा एमालेका केही नेता सकारात्मक छन् भने केही नेताले जिल्लामा पहिलेदेखि गरेको दुःख पनि हेर्नुपर्दैन भन्ने कुरा पनि उठाइरहेका छन् ।

इलाममा सुवाङको चर्चा एमालेभित्र नेता नभएर होइन । बुबाको निधनपछि उनले देखाएको इच्छा र नेम्वाङको निधनले विक्षिप्त बनेको बेला सहानुभूतिमा उनको नाम ल्याएको पनि देखिन्छ । भोलि उनी मैदानमा आउँदैनन् भन्न पनि सकिँदैन । हुन त बाहिर खुलेर टिकटको लबिङमा नलागे पनि आकांक्षी भने आधा दर्जनभन्दा धेरै देखिन्छन् ।

विगतमा नेम्वाङ राष्ट्रपति बन्ने र उपनिर्वाचन हुने चर्चा हुँदै गर्दा पनि उम्मेदवार बन्न यहाँका केही नेताहरू आन्तरिक लबिङमा नलागेका होइनन् । अहिले पनि एमाले उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेताहरू बुद्धि खनाल र रवीन्द्र सुवेदीको चर्चा पनि चलिरहेको छ भने नेम्वाङको समकालीन भएका कारण डा. देवी क्षेत्री दुलाल पनि आकांक्षी छन् ।

सुवास नेम्वाङ सर्वसम्मत उम्मेदवार भएका कारण अहिलेसम्म एमालेमा सहज भएको सो क्षेत्रमा पार्टी विभाजन हुँदा पनि उनकै कारण एमालेमा कम असर परेको पाइन्छ । अबको निर्वाचनमा एमालेमा पहिलेजस्तो सहज हुने देखिँदैन ।

लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आँकलन गर्न गाह्रो छ । एमाले र कांग्रेसमा उम्मेद्वारको दाबी गर्ने नेताको प्रतिस्पर्धा नहुँदा टिकट नपाएको रिस साँध्नेसम्मको खेल हुने यसअघिका निर्वाचनको नतिजाले देखाएको छ ।

यता नेपाली कांग्रेसबाट भने २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित डम्बर खड्का नै पुनः उम्मेदवार बन्ने चर्चा छ । उनी पनि निर्विकल्प भने होइनन् । गत निर्वाचनमा टिकट लिन प्रतिस्पर्धामा रहेका भेषराज आचार्य अहिले पनि अघि बढिरहेका छन् । नेम्वाङको निधनपछि कांगेस नेता केशव थापा पनि भित्रभित्रै लागिरहेका छन् भने बेपुन प्रसाईं पनि टिकट पाए मैदानमा उत्रन पछि नपर्ने बुझिएको छ ।

कांग्रेसमा गुटको कारण टिकट कसले पाउँछ र अर्को गुटको खेल के हुन्छ भन्ने टुंगो हुँदैन । पार्टीलाई जिताउनेभन्दा पनि व्यक्ति हराउनेमा कांगेस लाग्ने गरेको गत निर्वाचनबाट प्रस्ट देखिन्छ । त्यस कारण अब इलाम-२ मा उपनिर्वाचन हुँदा कसले बाजी मार्ला भन्ने आँकलनसमेत गर्न सकिँदैन ।

नेम्वाङको निधनपछि इलाम-२ खाली भएसँगै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि आन्तरिक कसरतमा लागेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र खनालबिच फाटो सुरु हुन थालेसँगै खनाल एमालेमा आएर उम्मेदवार बन्ने चर्चा छ ।

कोशी प्रदेश सरकार एमालेको बनाउन सहयोग गर्ने र इलाम-२ मा आफू उम्मेदवार बन्ने खेलको पनि चर्चा भइरहेको छ । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग हारेका खनाल अहिले एमालेसँगै मिलेर २ नम्बरमा आउने चर्चामा छन् ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीबाटको उम्मेदवार आउँछ भन्नेमा ठुला दल पनि चनाखो बनिरहेका छन् । उपनिर्वाचनमा रास्वपाबाट महेन्द्र थापाको चर्चा सुरु भएको छ । पार्टीले आवश्यक ठानेर टिकट दिएमा आफू उम्मेदवार बन्ने संकेत पनि गरिसकेको बुझिएको छ ।
साभार: राजधानी दैनिकबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...