Saturday 6th June 2026

बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिने



झापाको बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा गरिने शनिबार साँझ आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।

भगवान् श्री कृष्णको जन्म उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा गरिने र रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । अध्यक्ष गोयलका अनुसार भदौ २१ गते बिहान १० बजे विशेष पूजाअर्चाना गरिने र ११ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने छ ।

त्यस्तै सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा शुरु भई दुवै रथयात्रा बालाजी मन्दिर अगाडि शनिश्चरे रोडमा भेट हुने र त्यस पश्चात् बिर्तामोड बजार परिक्रमा गर्ने अध्यक्ष गोयलले जानकारी दिए । दुवै रथयात्रा बिर्तामोड स्थित मुक्तिचोक–इलाका प्रहरी कार्यालय छेउबाट फर्किएर मुक्तिचोक – भद्रपुर बस स्टेण्ड–मुक्तिचोक र अधुवाखोला पुल हुँदै फेरी मुक्तिचोक भएर मन्दिरमा आएर समापन हुने सतगुरु श्री देवचन्द्र सदन युवा परिषद् प्रा.स अध्यक्ष विदुर खनालले जानकारी दिए ।

सद्गुरु सदनले अघिल्लो वर्ष पनि रथयात्रा निकालेको थियो । यस पटक भने बालाजी मन्दिरसँग सहकार्य गरेर संयुक्त निकाल्ने निर्णय भएको उनले बताए । शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणको लागि यस पटक संयुक्त रथयात्रा गर्न लागिएको बालाजी मन्दिरका अध्यक्ष गोयलको भनाई छ ।

त्यस्तै श्री कृष्ण जन्माष्टमीको दिन यही भदौ २० गते चारआलीका भजन गायक रतन भारद्वाजद्वारा बिर्तामोडस्थित बालाजी मन्दिरमा साँझ भजन कीर्तन गरिने र भारतको हरियानाबाट आएकाहरूले हनुमान जीको झाँकी प्रदर्शन र श्री कृष्णको जन्मोत्सव भव्य रुपमा गरिने कार्यक्रम तय भएको पनि जनाइएको छ ।

रथयात्रालाई सभ्य र भव्य बनाउनका लागि रथयात्रा समन्वय तथा व्यवस्थापन समिति समेत गठन भएको जनाइएको छ । समितिमा बालाजी मन्दिरका तर्फबाट अध्यक्ष नवीन गोयल, सदस्य रमेश सेडिया, सदस्य सुजित अग्रवाल, छठ समाजबाट राजकुमार साहा र सद्गुरु सदनबाट युवा परिषद् प्रा.स अध्यक्ष विदुर खनाल, जिल्ला अध्यक्ष टहलदास ओली, कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गाना रहेको बताइएको छ ।

साभार : बिर्तामोड झापा डट कम


सम्बन्धित शीर्षकहरु

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

प्रतिकृयाहरू
...