Wednesday 8th January 2025

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा नियमित उडान, काठमाडौं ट्रान्जिट


नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान सुरु गर्दैछ। गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर-भैरहवा-काठमाडौं उडान गर्दै आएको छ।

अब आजदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्काे उडानबाट गन्तव्यमा पठाउन लागिएको हो। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौंसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौं-दिल्ली र काठमाडौं-हङकङकै भाडादरमा उडान सुरु गर्न लागेको हो।

उनले भने, “भैरहवाबाट बिहान ९ बजे काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य मुलुकमा पठाइने छ। यस अन्तर्गत पहिलो उडानका  क्रममा निगमले आज बिहान ८ः३० बजे भैरहवाबाट यात्रु लिएर काठमाडौं आउने छ।”

उनले निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ र दिल्ली जाने यात्रु बोकेर काठमाडौँ आउने बताए।

अहिले निगमले काठमाडौं-मलेसिया-भैरहवा रुट बनाएर उडान गरिरहेको छ। निगमको न्यारोबडी जहाज सोमबार काठमाडौंबाट मलेसिया पुगेको छ। उक्त जहाज आज मलेसियाबाट भैरहवा आउने छ।

उनका अनुसार भैरहवा-हङकङ र भैरहवा-दिल्ली उडानको लागि टिकट खुला भइसकेको छ। सोमबारबाट यो रुटको उडानका लागि टिकट बुकिङ सुरु भएको हो।

यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन। निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृति प्रस्ताव पठाएको थियो।

अन्तर्राष्ट्रिय उडानका लागि दुवै देशका नियामक निकायसँग अनुमति लिनुपर्ने भएकाले भारतको नियामक निकायले अनुमति नदिँदा उडान सुरु हुन सकेको छैन।


सम्बन्धित शीर्षकहरु

तपाईंको पार्टनरसँगको यौन सम्बन्ध अब उस्तै छैन। जब तपाइँ त्यो दुखद वास्तविकता एक साथीलाई बताउनुहुन्छ, तपाइँ चर्चा गर्ने पहिलो अपराधी…

सिरियाली सरकारी सञ्चारमाध्यमले होम्स सहरमा पाँच दिने सुरक्षा अभियान सोमबार समाप्त भएको र सयौं पक्राउ परेको युद्ध अनुगमनकर्ताले जानकारी दिएको…

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जिल्ला अदालत कास्कीमा दायर भएको सूर्यदर्शन सहकारी ठगीको अभियोग माथि नै प्रश्न उठाएका…

प्रतिकृयाहरू
...