Thursday 14th May 2026

कुवेत आएको १७ घण्टामै एक नेपाली महिला स्वदेश फिर्ता


तीतोपाटी- टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल फिर्ता भएकी छन्। व्यक्तिगत चिनजानमार्फत कुवेत आएकी उनी यहाँ कुवेत एयरपोर्टमा चार घन्टा बिताएर चैत १८ गते नेपाल फर्किएकी हुन्। अनेक दुःख झेलेर विदेश पुगेकी रिजाल केही घन्टा पनि नबित्दै स्वदेश फर्किन बाध्य भइन् । उनी झन्डै कुवेतको जेलमा परेकी थिइन्, जसबाट उनी जोगिइन्। प्रहरीको पन्जाबाट उम्किएर स्वदेश फर्किन पाउँदा उनलाई दोस्रो जीवन पाएजस्तो भएको छ।

जुना कमाइका लागि १६ वर्षयता निरन्तर विदेश जानेआउने गरिरहेकी छन्। सन् २००७ मा घरको काममा भारत हुँदै भिजिट भिसामा लेबनान गएकी उनी तीन वर्ष बसेर स्वदेश फर्किन्। सन् २०११ मा सोही काममा उनी कुवेत गइन् र दुई वर्ष बिताइन्। उनी फेरि सन् २०१४ देखि २०२१ सम्म दुबईमा काम गरेर फर्किन्। घरायसी आर्थिक अवस्था निकै कमजोर भएकाले, ६१ वर्षीय पति रोगी रहेकाले र छोराछोरीको खुसी राख्ने अभिलाषा पालेकाले उनले दुबईबाट फर्किएको केही समयपछि पुनः विदेशै जाने जमर्को गरिन्।

उनले दुबई जाने उद्देश्यका साथ मुकेश नाम गरेको व्यक्तिलाई गाउँबाट ऋण काढेर ३ लाख ५० हजार बुझाएकी थिइन्। तर परिस्थिति यस्तो आइदियो न उनी दुबई जान पाइन् न मुकेशले पैसा फिर्ता नै दियो। ‘दुबई जाने आशाले ऋण खोजेर मुकेशलाई पैसा दिएकी थिएँ तर त्यो मान्छे गायब भयो,’ उनले भनिन्, ‘गाउँको भाइ पर्ने प्रकाश गुरुङले फेरि कुवेत पठाउँछु, चिन्ता नलिनू भन्यो, उसले ऋणको पैसा कुवेत गएर नै तिर्नू भनेपछि मैले सुरसार कसें। ऋणैऋणको भुमरीमा परेर रन्थनिएकी हँुदा गुरुङले फ्री टिकट र फ्री भिसा उपलब्ध गराउने भएपछि म कुवेत जान तयार भएकी हुँ।’ आफूलाई कुवेती भाषा पनि स्पष्ट रूपमा आउने भएकाले कुवेत बसाइ सहज हुने अपेक्षासमेत राखेको उनले बताइन्।

चैत १५ गतेका दिन ‘पर्सि (चैत १७ गते) बिहान साढे ७ बजेको कुवेत फ्लाइट छ, बिहान ३ बजे नै एयरपोर्ट आउनू’ भनी गुरुङको साथीको फोन आएको रिजालले बताइन्। फोनमै शुक्रबार बिहान ३ बजे एयरपोर्टमै भेटेर भिसा लगाइएको पासपोर्ट, टिकट दिने सल्लाह भएको उनले बताइन्। उनी आफ्नो बन्दोबस्त मिलाएर परिवारसँग बिदावारी भई चैत १६ गते काठमाडौं आएर बसिन्। भोलिपल्ट बिहानै ३ बजे एयरपोर्ट पुगी गुरुङको साथीमार्फत रिजालले सबै कागजात पाइन्। एजेन्ट गुरुङको साथीले दुबई र कुवेतका दुईवटा टिकट लिएर आएको उनले बताइन्। ‘बोर्डिङमा कुवेतको टिकट देखाउनू र माथि इमिग्रेसनमा चाहिँ दुबईको टिकट देखाउनू’ भनी सम्झाएर पठाएको रिजालको भनाइ छ। एजेन्ट गुरुङको साथीले भनेझैं सबै प्रक्रिया पु¥याएर उनी कुवेत उडान पनि भरिन्। स्वदेशबाट बिहान साढे ७ बजे उडेकी उनी कुवेती समयअनुसार बिहानको ११ बजे कुवेत एयपोर्ट पुगिन्।

एयरपोर्ट पुगेलगत्तै प्रहरीले आफूलाई समातेर क्याफेतिर लगेको उनले सुनाइन्। त्यहाँ रहेका एक प्रहरीले फोनमार्फत अर्को प्रहरीलाई बोलाए। उनले भनिन्, ‘कुवेती भाषामा मैले सोधे– मलाई किन समातेको ?’ जवाफमा ती प्रहरीले भने, ‘तपार्इंलाई कुवेत आउन २० वर्ष प्रतिबन्ध गरेको छ। सन् २०१३ मैै चोरीको केसमा तपाईंलाई कुवेत आउन प्रतिबन्ध लगाइएको छ। दोहो¥याएर आउनुभएछ, अब १० वर्षको कुवेती जेल सजाय हुनेछ ।’ त्यो सुनेपछि आफू छाँगाबाट खसेजस्तै भएको, रोइकराइ गरेको उनले बताइन्। मैले नेपाल फर्काइदिन आग्रह गर्दै कुवेती भाषामै प्रहरीहरूसँग हारगुहार मागेको उनले सुनाइन्।

कुवेत पुगेको चार घन्टापछि प्रहरीले छुट्टै बोलाएर सय डिनारको टिकट काटेर नेपाल फर्काउने निर्णय भएको सुनाएको उनले बताइन्। स्वदेशबाट शुक्रबार साढे ७ बजे कुवेत गएको तर शनिबार बिहान १ बजे नै नेपाल आइपुगेको उनको भनाइ छ। ‘कुवेती भाषामै रोइकराइ गरेको हँुदा म जेल जानबाट बचें,’ उनले भनिन्, ‘अहिले मेरा श्रीमान्लगायत परिवारका सदस्यलाई त्यो प्रकाश गुरुङको एजेन्ट टिमले २ लाख माग्दै आएको छ।’ कुवेत पठाउन लागेको पैसा फिर्ता गर्नू भनी गुरुङबाट धम्की आइरहेको उनले बताइन्। उनले माइती नेपाल र मानव बेचबिखन अनुसन्धान ब्युरोमा सोमबार उजुरी दिएकी छन्।

यो समाचार आजको नागरिक दैनिकमा, सविता खड्काले लेखेकी छन।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...