Wednesday 24th April 2024

‘वालिङ घटना मेरो उड्डयन कालको दुःखद अनुभव’


प्रस्तुति : सुनिता कार्की

उड्डयन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
उड्ययन क्षेत्रमा प्रवेश गर्दा म १९ वर्षको थिएँ। मेरो बुवाको इच्छाअनुसार म यो क्षेत्रमा लागेको हुँ। उहाँको इच्छा ग्रामीण भेगमा उडान गरेर जनताको सेवा गर्ने भन्ने थियो। त्यसका लागि हेलिकप्टर पाइलटको ट्रेनिङ लिन जरुरी थियो। त्यही इच्छा पूरा गर्न सन् १९९४ मा म पाइलट पढ्न अष्ट्रेलिया गएँ। अष्ट्रेलियाको ब्रिसबेनको चोफरलाइन्स फ्लाइट एकेडमीबाट पाइलट ट्र्ेनिङ सकाएँ। ७ वर्ष अष्ट्रेलिया बसेपछि बुवाको इच्छाको कारणले सन् २००० मा नेपाल फर्किए।

उड्डयन क्षेत्रको पहिलो कामको अनुभव कस्तो रह्यो ? कसरी काम पाउनुभयो?
फर्किने बित्तिकै काम पाउन सकिनँ। काम पाउन अलिक गाह्रो नै थियो। मैलै मेरो बायोडाटा सबै एयरलाइन्स कम्पनीहरूमा छोडिरहेको थियो। हेलिकप्टरभन्दा पनि फिक्सविङतिर पो जाने कि जस्तो पनि भएको थियो। किनभने त्यो समयमा फिक्सविङमा पाइलटहरूको कमी थियो। फिक्सविङमा जानका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरक्षा विभागमा आवेदन दिन गएको थिएँ। त्यहीँनेर नै कुनै हेलिकप्टरको पाइलट छ भने कन्ट्याक्ट गरिदिनु भनेर श्री एयरलाइन्सले भनेको रहेछ। संयोगले त्यो जानकारी मैले पाएँ। त्यसपछि म श्री एयरलाइन्स गएँ र उहाँहरूले मलाई राख्ने हुनुभयो। मैले सानो हेलिकप्टरमा तालिम लिएको थिएँ भने उहाँहरूसँग एमआई १७ हेलिकप्टर मात्र थियो। २४ यात्रु र ४ कू मेम्बरसहित २८ सिटे हेलिकप्टर थियो। श्रीले मलाई त्यही हेलिकप्टर उडाउनका लागि तालिम पनि दियो। श्रीले नै हामी तालिम दिन्छौं। तपाईंले सक्नु हुन्छ भनेपछि म त्यहाँ आबद्ध भएँ। सुरुमा एक महिनाको प्राविधिक सम्बन्धी तालिम भयो भने त्यसपछि प्राधिकरणमा परीक्षा दिएँ र पास भएँ। अन्य तालिमपछि सन् २००७ मा मैले उडानका लागि लाइसेन्स पाएँ। मैले पहिलो फ्लाइट नै सुर्खेतमा गरेको थिएँ। त्यो बेला डब्लूएफपी, एनएफसी र रेस्क्यु फ्लाइट हुन्थ्यो।

आफैंले पनि एयरलाइन्स खोल्नु भएको थियो नि ?
श्री एयरबाट दुर्गमभन्दा दुर्गममा उडान भरेर लामो समय बिताएपछि यस क्षेत्रमा केही गर्न सक्ने दृढता आयो। आफैंले नै एयरलाइन्स खोलेर केही गर्न सकिन्छ भनेर सन् २०१० मा मुक्तिनाथ एयरलाइन्स नाम दर्ता गराएको थिएँ। म लगायत २÷४ जना साथी मिलेर त्यो एयरलाइन्स खोलेका थियौं। लाइसेन्स लिएर उडान सुरु गर्दा हाम्रो चाहना पोखरा बेस गरेर नेपालीलाई नै सेवा दिने भन्ने थियो। ४ सिटे जहाज हामीसँग थियो। हामीले रेस्क्यु, साइडसिन,फोटोग्राफीलगायतका उडान गर्ने र १० हजार फिटसम्मको फ्लाइट गर्ने भनेर सानो जहाज ल्याएका थियौं।

प्रभु हेलिकप्टरसँग कसरी आवद्ध हुनुभयो ?
मुक्तिनाथ एयरलाइन्स वित्तीय जोखिममा परेपछि औपचारिक रूपमा नै एयरलाइन्स बेच्ने भनेर मैले सार्वजनिक गरेको थिएँ। त्यो देखेर प्रभु गु्रप इच्छुक भयो। त्यसपछि करिब ८० प्रतिशत सेयर सन् २०१४÷१५ मा प्रभुले किन्यो। त्यसो भएपछि आर ६६ हेलिकप्टरबाट प्रभुबाट उडान सुरु गरे। अहिलेसम्म पनि प्रभुमै आबद्ध छु। अप्रेसन डाइरेक्टर, चिफ पाइलट र लाइन पाइलटको रूपमा कार्यरत छु। आर ६६ हेलिकप्टर अमेरिकामा बनेको हो। फेरि फरदर तालिमका लागि कम्पनीले मलाई अमेरिका पठायो। यो प्रकारको एयरक्राफ्ट नेपालमै पहिलोपटक हो। अमेरिकामा १० हजार फिट अल्टिच्युडमा चलाएको जहाजलाई नेपालमा करिब १३ हजार फिटसम्म पनि उडाएका छौं।

नेपाल भौगिलिक हिसाबले उडानका लागि जोखिमयुक्त छ भनिन्छ, कस्तो पाउनुभयो ?
मुख्यगरी हेलिकप्टर उडान भनेको सेड्युलभन्दा पनि तत्काल आपतकालीन उडान भर्नुपर्ने हुँदा चुनौतीपूर्ण छ। कतिपय पानी परेको बेला, बाढी आएको बेला, भूकम्प गएको बेला, हिमपहिरो गएको बेलालगायतमा उद्धार उडान गर्नुपर्ने हुन्छ। कोर्डिनेटको भरमा मात्रै उड्नुपर्ने हुन्छ। यस्तै, नेपालको कुनै पनि ठाउँमा हेलिप्याडको व्यवस्था छैन। जहाँसम्म देख्यो, त्यही अवतरण गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा अर्काको खेतमा अवतरण गरेर घन्टौं कुरेर उद्धार गरेको धेरै अनुभव छ। कतिपय हिमाली भेगमा ल्यान्ड गर्ने ठाउँ नभएर होबर गरेर एक जना सहयोगी लिएर गरेर बिरामी लिएर आएको पनि धेरै केस छन्। छिन–छिनमा मौसम परिवर्तन भइरहने, पहाडी भेगमा उडानको चूनौती त छँदैछ। हेलिकप्टर पाइलटले एकदम ख्याल गर्नुपर्ने भनेको ह्युमिलिटी, हाइअल्टिच्युड, विन्डलाई हो।

नेपालको उड्डयन क्षेत्रमा यहाँको अनुभव लामो भइसक्यो। सम्झिन लायक के–के उडान छन् ?
मैले अहिलेसम्म करिब ४ हजार २ सय घन्टा आकाशमै बिताएको छु। हाम्रो उडान भनेको सूर्य उदयदेखि अस्तसम्म हो। तर, रातिको ९ बजेसम्म पनि उद्धार गरेको छु। धेरै उद्धार उडानहरू गरें। ज्यान नै जोखिममा लिएर नागरिकको ज्यान बचाउन पाउँदा सन्तुष्टि मिल्छ। कोभिड कालमै सम्भवत पहिलो कोभिड बिरामी बोक्ने म नै होला। तर, त्यो कोभिड बिरामी भनेर थाहा पाएरभन्दा पनि थाहा नपाएर हो। हाम्रो हेलिकप्टर नो कोभिड क्यारियर हो। म पोखरा बेस गरेर उडान गर्ने भएकोले मणिपालमा रहेका एक जना चाइनिजलाई काठमाडौं ग्रान्डी पुराउनुपर्ने भयो। मैले पु¥याएँ पनि। त्यसको एक हप्तापछि मलाई उक्त अस्पतालबाट फोन आयो र भनियो कोभिड पुष्टि भएर उक्त चाइनिजको निधन भयो। तपाईं पनि आइसोलेसनमा बस्नुस् भनेर। तर, मलाई केही भएन। यो उडान थाहा नपाएर भएको थियो। तर, त्यसपछि पनि मानवताको नाताले आफ्नो ज्यान जोखिममा हालेर धेरै कोभिड बिरामीलाई ओसारपसार गरें। करिब ६ महिनाअघि पनि मर्दि हिमालमा फसेको विदेशी टोलीलाई सकुशल उद्धार गरेका थियौं। यस्ता धेरै घटना छन्।

सुखद अनुभवसँगै तपाईंको उडानको क्रममा वालिङ घटना पनि घटेको छ। यसलाई कसरी लिनुहुन्छ ?
मेरो उड्डयन कालको सबैभन्दा दुःखद् घटना मान्छु म। मेरो गल्ती नहुँदानहुँदै पनि म माथि कुटपिट भयो। सम्बन्धित पाटीले जहाज जहाँ जाओ भन्छ त्यही नै जाने हो। वालिङको फुटबल मैदान नै थियो। त्यो पनि मैले छेउमा ल्यान्ड गरेको थिएँ। त्यहाँ पुग्दा पनि मैले हेलिकप्टरमा सवार यात्रुहरूलाई त्यहाँ फुटबल भइरहेको छ। अवतरण गर्न मिल्दैन। जहाजको सुरक्षाको विषय छ भनेको थिएँ। करिब १५ देखि २० मिनेट पर खोलापारि ल्यान्ड गरौं भनेको थिएँ। तर उनीहरूले पोखरामा जे कुरा भएको हो त्यहीअनुसार नै ल्यान्ड गनुहोस्। हामी युनाइटेड फुटबल क्लब जो उक्त प्रतियोगिताको आयोजक हो। हामी त्यसका सदस्य हौं र केही सहयोग तथा प्रतियोगिता हेर्न आएको तपाईंलाई केही हुँदैन भनेका थिए। उनीहरूलाई फुटबल मैदानको कुनामा झारेर म ककपिटतिर आउने क्रममा सिधै बिनासोधपुछ आक्रमण भएको हो।

सबैभन्दा दुःखको कुरा त्यहाँ स्थानीयले पनि सहयोग गरेनन्। उल्टै रक्ताम्य मलाई उडीहाल्नुस् नत्र यहाँ जे पनि हुनसक्छ भनेर भने। त्यस्तो अवस्थामा मैले कसरी पोखरा हेलिकप्टर ल्याएँ भन्न सक्दिनँ। जोखिम मोलेर उडान भरेको भनेर नै प्राधिकरण तथा कम्पनीले मलाई ग्राउन्डेड गरेको हो। उड्डयन क्षेत्रमा संसारमा कहीं पनि यस्तो घटना घटेको छैन। यही माघ ५ गतेको यो घटनाको सम्बन्धमा दोषी उपर कारबाहीका लागि माघ ९ गते साँझ हेलिकप्टरमा सवार यात्रु ४ जना र स्थानीय ६ गरी ११ जनाविरुद्ध वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जामा जाहेरी दर्ता गराएको छु। जाहेरी लगत्तै ५ जना र बुधबार बाँकी ६ जनालाई नियन्त्रणमा लिइएको बुझेको छु। उनीहरूविरुद्ध नागरिक उड्डयन सम्बन्धी ऐन २०७३ र अभद्र व्यवहार सम्बन्धमा जाहेरी हालेको हो भने उड्डयन ऐन २०१५ का अनुसार पनि कारबाही गर्न पुनः जाहेरी दिएको छ। कानुनी प्रक्रियामा गएको छ। न्याय पाउँछु होला।

तपाईं सम्बन्धित कम्पनी, नियामक निकाय, मन्त्रालयबाट कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?
पहिला न त प्रभु हेलिकप्टर यो मामलामा चुप बसेको हो। तर, अहिले मैले सुनेअनुसार प्रभु हेलिकप्टरले दोषी उपर कडा कारबाहीका लागि प्राधिकरण समक्ष निवेदन पठाएको छ। अब त्यहाँबाट पनि सहयोग भए यो प्रक्रियामा मदत पुग्ने थियो। वायुसेवा सञ्चालक संघ नेपालको सहयोगले नै मैले जाहेरीको आँट गरेको हो। सबैले यो घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ। यस्ता घटना दोहोरिनु हुँदैन। यो जंगलीपनाप्रति उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।

अब फेरि उडानमै फर्कनुहुन्छ त ?
यो घटनाले केही मनोबल त पक्कै खस्केको छ। सेवा गरौं भन्ने मेरो सोचलाई यो घटनाले सोच्न बाध्य बनाएको छ। तर, अहिले मेरो स्वास्थ्य उडानका लागि परिपक्क छैन। ओठ सुन्निएर बोल्न अप्ठ्यारो भएको छ। देब्रो आँखामा गम्भीर चोट लागेको छ। अप्रेसन गर्नुपर्छ भनिएको छ। मलाई निको हुनै ६ महिनाभन्दा बढी समय लाग्छ भनिएको छ। अब हेरौं के हुन्छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...