Tuesday 4th August 2026

विदेशबाट फर्केकाले ल्याउने एक भन्दा बढी मोबाइलमा १८ प्रतिशत कर अनिवार्य


तीतोपाटी डटकम –अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्।व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ।

‘विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रति व्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। सोभन्दा बढी ल्याएमा भन्सार तिराउने वा जफत गर्ने अधिकार भन्सार विभागसँग हुन्छ,’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले भने, ‘यसभन्दा अघिसम्म हामीले व्यक्तिले पेस गरेको स्पष्टीकरण र पृष्ठभूमिको आधारमा दुइटासम्म फोन ल्याउन दिएका थियौं। अब भने दोस्रो फोनको पनि भन्सार तिर्नैपर्ने हुन्छ।’

उनका अनुसार एक जना व्यक्तिले दुईभन्दा बढी फोन ल्याएको खण्डमा जफत गरिनेछ।’ती जफत भएका मोबाइलहरू सरकारले टेन्डर आह्वान गरेर बिक्री गर्छ,’ उनले भने।विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरूमा कडाई गर्ने तयारी गरिरहेको छ। व्यक्तिले विदेशबाट मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने भएको हो।

प्रवक्ता पाण्डेले उदाहरणसँगै भने, ‘नेपाल भित्र्याउन खोजिएका मोबाइलको विदेशी मुद्रालाई हालको नेपाली रूपैयाँमा परिणत गरी त्यसमा कुल १८ प्रतिशत कर लगाउने हो।’भन्सार राजस्व तिरिसकेपछि उक्त मोबाइलका लागि विभागले प्रज्ञापनपत्र दिन्छ। अहिले नेपाल दूरसञ्चार प्राधिकरण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू गरेको छ।

गैरकानुनी बाटोबाट आएका मोबाइलको प्रयोगलाई रोक्न भन्दै प्राधिकरणले यो प्राणाली लागू गरेको हो। याे प्रणाली लागू भएपछि आधिकारिक रुपमा आयात भएका फोन बाहेक अरू फोन दर्ता गर्नुपर्ने हुन्छ।

विमानस्थलबाट भित्रने मोबाइल फोनहरूले भन्सार तिरेपछि पाउने प्रज्ञापनपत्रको आधारमा पनि उक्त फोन एमडिएमएस प्रणालीमा दर्ता हुने हो।
अवैध ढंगमा मोबाइल भित्र्याउने प्रवृत्ति रोक्न दूरसञ्चार प्राधिकरणले लागू गरेको एमडिएमएसलाई प्रभावकारी बनाउन भन्सार विभागले पनि विदेशबाट ल्याइने फोनको भन्सार शुल्क तिराउने विषयमा कडाइ गर्न खोजेको विभागका प्रवक्ता बताउँछन्।
साभार-सेतोपाटी


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...