स्रष्टा परिचय
नाम/ दुर्गाकिरण तिवारी “क्षितिज”
जन्म स्थान / पोखरा महानगरपालिका वडा न. ३२ राजाको चौतारा हाल काठमाडौ
जन्ममिति / २०२९/११/६ असोज
माया / राधिका तिवारी पिता / शिवलाल तिवारी
छोरा / कौशल कुमार भट्टराई
रुचि / साहित्य /भलिबल /पौडी
प्रकाशान कृति / नचुमेको क्षितिज ( कविता सङ्ग्रह २०७४)
नजरभरि माछापुच्छ्रे (मुक्तक सङ्ग्रह २०७६)
प्रकाशनोन्मुख कृति / नीलगगनको अंगालोमा ( कविता सङ्ग्रह )
पुरस्कार / उत्कृष्ट कविता ( संसाक , साहित्यकार खेलकुद समाज २०७५
गीतल प्रतिभा पुरस्कार तथा सम्मान २०७५गीतल साहित्य प्रतिष्ठान तथा नाटक मंच तनहुँ ।
गरिमामय वाचनकला तथा सृजना सम्मान २०७४/ ७५ हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन ।
रचना
कविता – नाथे भोक
खै किन दिएको हो कसले दिएको
कसरी लाग्छ कताबाट लाग्छ
त्यो पनि थाहा हुँदैन र त
चालै नपाई बदनाम गराउँछ
प्रारब्धदेखि वर्तमानसम्म रिँगाएको छ
सोचलाई शून्यमा धकलेर
नैतिकता बिर्साएको छ
अनि आफैँलाई बिर्साएको छ
नाथे भोकले ।
बैँसको लुलो लहरा समाउँदै
भोगको लालसा जगाएर
वासनाको उच्छ्वास जाहेर गर्छ
अन्त्यहीन उन्माद त कति हो कति !
न दुई पाइला अगाडि देख्छ
न त उच्छ्रिएको विगत नै
क्षणभरलाई सन्तुष्टिको राग ओकल्छ
र त आफैँलाई बिर्साइदिन्छ
नाथे भोक ।
मनमा भावको उद्बेग उमालिदिन्छ
तृष्णालाई अतृप्त यात्री बनाएर
आवेग र आक्रोशको भुमरीमा धकेल्छ
संवेग र मर्यादाका बारहरू भत्काउन
बाध्य बनाउँछ र
आफू हुनुकै सीमा भत्काउँछ
नाथे भोक ।
म चक्कर खान्छु
नाथे अनगिन्ती भोकहरू देखेर
साँच्चिकै संक्रमणमा धकेलेको छ
वासनाको भोक,
सम्पतिको भोक,
मान प्रतिष्ठाको भोक
स्वार्थको भोक
भोक पनि कति थरीका !
साँच्चिकै निरीह जीवन गुजारेको छ मान्छे
म कसरी तुलना गरूँ यी भोकहरूबीच
जसले उमेर भन्दैन, आफन्त भन्दैन
विद्वान् भन्दैन, बन्धु गन्दैन,
न त मित्रताको ख्याल राख्छ
न पदीय मर्यादा राख्छ
केही कुत्सित मनोकाङ्क्षा पूरा गर्न
स्वयम् आफैँलाई बिर्सन्छ
र सीमा नाघ्छ पत्तै नदिई नाथे भोक ।
हे ईश्वर !
भो मलाई यस्तो भोक नदेऊ
जसले मेरो, म हुनुको औचित्य नै मेटिदिन्छ
अर्काको मानमा आँच पुर्याउँछ
हृदय चोइट्याउँछ
आमाको दुधको मूल्य मेटाउँछ
दोस्राको प्रतिष्ठा गिराउँछ
आफू र आफ्नाको सात पुस्ता पिराउँछ
त्यसैले भो मलाई यस्तो भोक नदेऊ
बित्थाको नाथे भोक।।