Wednesday 24th April 2024

सोह्र जना सर्जकका भानुभक्त विशेष खोरियाहरू


खाेरिया

हजुरकै कारणले
मेराे शिक्षा भयाे शुरु
मन भित्र बत्ति बाल्ने
शिक्षाकाे गुरु

खाेरिया
भानुभक्त
अादि हाै कवि तिमी लाै
कहिल्यै अन्त्य हुँदैनाै
साहित्य उच्च शिरमा
झुक्दै झुक्दैनाै ।

खनेका मार्ग भानुले
हामीले पाराैं फराक
ढलान पिच गराउँ
गाडी गुडाउँ ।

दरिद्र घाँसी देखेर
त्यसैकाे शिक्षा लिएर
साहित्य मूल फुटायाै
नदी बगायाै

दुई सय नाै वर्ष भाे
धर्तीमा भानु बाँचेका
अनन्त छवि प्रेरणा
दिंदै हाँसेका ।

जनार्दन अधिकारी धड्कन

खोरिया!!

भानुभक्त महाभक्त
प्रथम चेतनयुक्त
शिष्टता सबल खम्बा
आदि सशक्त

विद्रोह व्यङ्ग्य विशाल
साहस मन कमाल
प्रथम नेपाली ध्वनि
छौ मालामाल

निरङ्कुश सत्तामाथि
हान्न सरे बन्दै साथी
अग्रिम भाषाका रथि
हुन् यी सारथी

सौम्य शिष्ठ र सुन्दर
अवनि दिल मनोहर
रात अँधेरा निस्तव्ध
भानु उर्वर

भाव जलेको खिचडी
भाषा अति नै बिखडी
सब फाली शिष्ट कला
भानु सबला

गुरु निस्वार्थको गाढा
ऐले छन् स्वार्थ यी साँढा
पैसा पैसा पैसाका यी
चेतन काँढा

कलानिधि दाहाल

खाेरिया
१.*******
गुरु मातापिता हुन्
बन्धु सखा सरि हुन्
सरणमा सधैं परु
म कर्म गरु
२.
धरतिमा सबै चिज
खाेज लाग सबै निज
अाखिर सधैं पाइने
मनै लाइने
३.
धावन्ति खेतीमा हुने
घाेकन्ति बिध्यामा हुने
पुजति गुरु चरण
पराै शरण
४.
गुरुमा सदा बन्धना
गुरुकै अब साधना
गुरुमा सधैं सम्मान
लागाेस् मन

भानु पाेखरेल
झापा

खोरिया;
चम्केर आए बेसरी
साहित्यका ती केशरी
सम्मान गरौँ छविको
आदिकविको।१

भाषाका भानु सारथि
ज्ञानका गङ्गा भारती
सम्झेर हुनिहार ती
गरौँ आरती।२

भाषाको गरे उत्थान
साहित्यमा भो कमान
राष्ट्रका निधि सुशान
भानु हुन् महान्।३

साहित्यका ती अवन्ती
भानुको जन्मजयन्ती
श्रद्धाका फूल चढाऊँ
आस्था बढाऊँ।४

-रामशरण न्यौपाने,भक्तपुर

खोरिया
गुरूको वाणी सुनेर
जिन्दगी आयो घुमेर
गुरूलाई नमस्कार
दिव्य छ सार

बोली मिठो सारथी
गुरू गर्छन् आरती
सम्झना छ होनाहार
गुरू नमस्कार

विग्रेको वानी सुधार
सबैको गर्नै उद्धार
गुरू ब्रम्हा बिण्णु नाम
राम्रो छ काम

स्वधर्मबाट बढ्नु छ
ध्यान दिएर पढ्नु छ
गुरूको गरें बन्दना
कोटी सम्झना

गीता बजगाईं

खोरिया

भानुभक्त आदिकवि
नेपाली भाषाका रवि
रामायण छोडे कृति
भाषा संस्कृति

गुरु पुर्णिमा पर्वमा
जानू छ मेला पर्ममा
गुरुहरू हुन् महान
गर्छु संमान

✍️भगवती दवाडी ,झापा

चार खोरिया
गुरु/भानु सम्बन्धमा
१•
नमन गर्छु शुरुमा
पढाईदिने गुरुमा
पूर्नेको दिन फुकाई
शिर झुकाई।
२•
व्यासको जन्म दिन हो
धर्मको ज्ञान लिन हो
अधर्म बढ्दै गएर
उनी आएर।
३•
चुॅदीको रम्घा गाॅउमा
सबैले चिन्ने ठाऊॅमा
भानुको जन्म भएको
हेर्न गएको।
४•
रामका भक्त भानुले
कविता दिई जानुले
नेपाली मन रमायो
पुन्य कमायो।

घनश्याम पौडेल,पोखरा

खाेरिया

ब्रह्मा र विष्णु महेश
सम्झिन्छु गुरु गणेश
नमन गरेँ माथले
दुवै हातले
(१)
ज्ञानले ज्याेति बालेर
गुरुले सारा फालेर
अज्ञान सबै हर्दछन्
ज्ञान भर्दछन्
(२)
भानुले घाँसी भेटेर
मनकाे प्यास मेटेर
आपसी कुरा गर्दछन्
मख्ख पर्दछन्
(३)
घाँसीकै अर्ती मानेर
संस्कृति भाषा जानेर
नेपाली भाषा जगाए
माथि उठाए
(४)

ताेयानाथ सुवेदी
२०७९/०३/२९

खोरिया
पहिलो आमा, बा सुरु
आँखा देखाउने गुरु
दुवै हातले नमन
पृथ्वी भुवन

भाषा चिनाउने भानु
सृजनाको ठूलो छानु
घाँसीका कुरा सुनेर
मनले गुनेँ

विष्णु न्याैपाने

खोरिया
========
यी आँखा खोल्ने गुरुमा
नमस्ते गरेँ सुरुमा
उज्यालो दिने रविमा
आदिकविमा।१

नेपालीमा रामायण
पढ्न पाए खुसी सब
भाषा छ आफ्नै रसिलो
पढ्न सजिलो ।२

सञ्जालमा नयाँ आएँ
यो नयाँ विधा भेट्टाएँ
मिलेर जाने चाहना
हुन्छ सिर्जना ।३

यो नयाँ खेती छरियो
खोरिया सुरु गरियो
चार लाइन कोरेर
हात जोरेर ।४

-घनश्याम रेग्मी

खोरिया

भाषाले बाटो लिएन
निर्दिष्ट दिशा थिएन
भानुले लिए पहल
हट्यो कलह

नवीन युग थालेछन्
उज्यालो बत्ती बालेछन्
अँध्यारो हट्दै गएछ
छ्याङ्ङै भएछ

साहित्य कला फक्रियो
भाषाले पथ पक्रियो
भानुले हिलो पखाले
जग बसाले

जोबाट सिकेँ सिक्दै छु
असल गुरु चिन्दै छु
बिर्सेर कहाँ बिर्सुँला
सधैँ सम्झुँला

यज्ञलाल सुवेदी
बुटवल , रूपन्देही


गुरुका पद पूजित
सत्पथ हुन्छन् सूचित
परमानन्द पाउँला
स्तुति गाउँला

कृष्ण जगद्गुरु भित्र
होउन् ज्योतिर्मय चित्र
सच्चिदानन्द आभास
छर्छ सुवास

महागुरु हुन् बा–आमा
नहोस् कमी क्यै श्रद्धामा
शिक्षक सच्चा मान्य छन्
ऐना ती हुन्छन्

जीवन कृपा गुरुको
हुन्छ कृपा त्यै प्रभुको
नित्य हटाउन् अज्ञान
छाओस् विज्ञान

छत्रपति दाहाल

खोरिया🌹
भानु विशेष :

तिमी जो काव्य भएर
आउँछु रस बनेर
साहित्य माला उनेर
गीत बनेर !

समुन्द्र साहित्य मोति
नेपाली भाषाका ज्योति
लगाऔं गोता जगमा
भेटौं मनमा !

विराट बुद्धि हो ज्ञानी
सुन्दर छन्द हो जानी
नेपाली भाषा चरवाँए
जग रमाँए !

शारदा गौतम आचार्य
ललितपुर !

खोरिया

प्रथम गुरु बा आमा
द्वितीय हाम्रो शिक्षक
संस्कार अनि ज्ञानका
खानी अनेक !

चरण छोई गुरुको
आशिष लिनु पर्दछ
गुरुकै मार्ग हिँडेमा
विघ्न टर्दछ !

नेपाली भाषा साहित्य
जगेर्ना रक्षा गरेर
बढाए कवि भानुले
अघि सरेर !

प्रेरणा मिल्यो घाँसीको
गरेर केही मर्नु छ
नेपाली भाषा साहित्य
लिई बढनु छ !

वसन्त अनुभव
दाङ

केही खोरिया

खोरिया :१
आदिकवि भानुभक्त
साहित्याकाशका तारा
श्रीकृष्ण बजेका नाति
सबैका प्यारा
खोरिया :२.
नेपालीमा गरिदिए
अनुबाद रामायण
सबैले बुझ्ने भाषामा
गीति लयमा
खोरिया :३.
व्यास जयन्तीको दिन
गुरु पूजा गर्ने दिन
स्कूल र पाठशालामा
गुरु पुजिन्छन्
खोरिया :४.
गुरु पूर्णिमाको दिन
साथिसंगी मिलिजुली
गुरुलाई पूजागर्दै
खुशीमा रम्दै

उर्मिला पन्त पाण्डेय

चार खोरिया 🌹

गुरुको मान गरेर
मनमा श्रद्धा भरेर
चढाएँ थुँङ्गो फूलको
माफ भुलको !

विशाल मन गुरुको
नमन सधैँ सुरुको
आशिष पाऊँ हातको
आशा साथको ।

कविमा आदि उनै हुन्
नम्बरी एक सुनै हुन्
नेपाली भाषा फिँजाए
पाठक रिझाए ।

लेखेर मिठा कविता
बनेका उनी रमिता
सम्झिई देन भानुको
हाम्रा रानुको ।

निरु गौतम मोरङ


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...